मास्कमा मनोमानी : सही ढंगले नलगाउँदा उत्तिकै जोखिम

काठमाडौं । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई हिँड्ने ६० जनालाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार जनही १०० रुपैयाँ जरिवाना गरायो । प्रशासनको तर्फबाट अनुगमनमा गएको टोलीले कतिपय मास्क लगाउन नजान्नेलाई मास्क लगाउने तरिका समेत सिकाएको थियो । सोही टोलीले ७५० वटा पसलहरूमा भौतिक दुरी कायम नभएको भन्दै पहिलो पटकलाई चेतावनी दिएर फर्किएको छ ।

यतिबेला बजारमा मास्कको प्रयोग गर्ने तरिका सिक्नुभन्दा पनि एन९५ जस्ता मास्क लगाएपछि कोरोना आफैं भाग्छ भन्ने मान्यता बोकेर हिँडेका धेरै जना बजारमा देख्न सकिन्छ । महँगो मास्क लगाएपछि भौतिक दुरीको समेत आवश्यकता पर्दैन भन्ने मानसिकता काठमाडौंवासीमा देख्न सकिन्छ ।

तर के एन ९५ मास्क या ३ लेयरको फेब्रिकजस्ता मास्कको प्रयोगले मात्रै कोरोना रोकिन्छ त ? सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला एन ९५ वा जस्तोसुकै क्वालिटीको मास्क लगाए पनि सामाजिक दुरी कायम नगर्ने र ढंग पु¥याएर मास्क नलगाउने हो भने कोरोनाको जोखिम उस्तै रहने बताउँछन् ।

उनी एन ९५ मास्क र सर्जिकल मास्कहरू चिकित्सकको लागि बनाइएकोभन्दै सकेसम्म यस्ता मास्कको प्रयोग सर्वसाधारणले कम मात्रामा गरेर सहयोग गर्न सुझाव दिन्छन् । डा. बास्तोला यी मास्कमा भाइरस छेक्ने शक्ति तुलनात्मक रूपमा धेरै हुने भए पनि सर्वसाधारणको लागि ढंग पु¥याएर लगाउन जान्ने र सामाजिक दुरी कायम गर्ने हो भने अरू मास्कबाट पनि सुरक्षित हुन सकिने उनको बुझाइ छ ।

‘एन ९५ र सर्जिकल मास्क चिकित्सकले इन्टरर्गेट गर्ने समय र अरू प्रोसिड्युर गर्ने बेलामा लगाउने गर्छन्, सर्वसाधारणले सर्जिकल मास्क पनि प्रयोग गर्न सक्छन् ।’ अनलाइनखबरसँग उनले भने ‘अवस्था भयावह बन्दै गइरहेको छ, सकेसम्म एन ९५ मास्क जोगाइदिन सकियो भने अब आउन सक्ने विषम परिस्थितिमा स्वास्थ्यकर्मीलाई सहज हुने थियो । नजोगाउने हो भने यसले झनै समस्या सिर्जना गर्न सक्छ ।’

नेपालमा सर्जिकल मास्क, कटनसिफन मास्क, एन ९५ र कपडाको मास्क प्रयोग गर्ने गरिन्छ । यसको सुरक्षा कति प्रतिशत भनेर वैज्ञानिक हिसाबले गर्नेभन्दा पनि सबै मास्कलाई राम्रोसँग लगाएर भौतिक दुरी कायम गर्ने हो भने यसबाट सुरक्षित रहन सकिने डा. बास्तोला बताउँछन् ।

बास्तोला मास्क लगाउँदा राम्रोसँग मुख, नाक र चिउँडो छोपिनेगरी लगाउन सुझाव दिन्छन् । ‘मास्कसँगै शारीरिक दुरीको कुरामा मुख्य ध्यान दिनुपर्छ । कम्तीमा पनि छ फिटको दुरी हुनुपर्छ । त्यससँगै हातधुने कुरालाई पनि प्राथमिकतामा राख्नुपर्छ । मास्क लगाउँदा सबैतिर कसिनेगरी लगाउनुपर्छ’ उनले भने ।

मास्क मुख्यतया कोभिडको लडाइँमा दुईवटा कामका लागि उपयुक्त हुन्छ । एउटा कोभिडको स्रोतबाट आफूलाई जोगाउने काममा यो प्रयोग हुन्छ भने अर्काे संक्रमणलाई अन्यत्र फैलिनबाट रोक्न प्रयोग गरिन्छ । बास्तोलाका अनुसार २ वर्षभन्दा कम उमेरका र बेहोस भएका मान्छेलाई मास्क लगाइदिनु हुँदैन । त्यसैले मास्कको मात्रै भर नपरी भौतिक दुरी र नियमित साबुनपानीले मिचिमिची हात धुने काममा समेत ध्यान दिनुपर्छ ।

सामाजिक दुरी बाहिर मात्रै नभएर घर वा कार्यालयभित्र समेत कायम गर्नुपर्ने बास्तोला बताउँछन् । घर वा कार्यालयमा हावाको आवतजावत खुल्ला राख्नुपर्ने र बाहिर बसेर काम गर्न सम्भव छ भने सकेसम्म बाहिर बसेरै काम गर्न पनि बास्तोला सुझाव दिन्छन् ।

अन्यत्र आएको कुरा जस्तै मास्कको प्रोटेक्सनको स्तर भिन्दाभिन्दै हुने गर्छ । तर नाक र मुखमा मिल्ने किसिमले यसलाई लगाउन सकियो भने सामान्य मान्छेका लागि अन्य मास्क पनि असुरक्षित भने नहुने उनी बताउँछन् । भल्वसहितको मास्कले अरूलाई भएको संक्रमणबाट जोगिन सहयोग गरे पनि संक्रमाक मान्छेको मुखबाट भाइरस अन्यत्र प्रवाह हुन नरोक्ने बास्तोला बताउँछन् ।

विश्वभरि कोरोना भाइरसको फैलावटसँगै बढी प्रचलनमा आएका शब्दहरू हुन्, सामाजिक वा भौतिक दुरी, मास्कको प्रयोग, क्वारेन्टिन, आइसोलेसन, साबुन पानीले नियमित हात धुनु र स्यानिटाइज गर्नु ।

तर मास्क लगाउन नजान्दा अझै पनि सहरी भेगमा जोखिम कम हुन नसकेको जानकारहरू बताउँछन् । फोहोर र फाटेको मास्क लगाउन नहुने भनिए पनि फोहोर हुँदासम्म पनि लगाउने र चिउँडोमुनि धेरै मास्क लगाउने प्रवृत्तिले आफ्नो सुरक्षाका लागि भन्दा पनि राज्यले कारबाही गर्ने डरले मात्रै धेरैले मास्क लगाउने गरेको बताउँछन् ।

एक पटक पढ्नुहोस