कोरोनाविरुद्ध खोप बनाउन अर्बौं डलरको दौड

काठमाडौं । इतिहास हेर्ने हो भने अहिलेसम्म सबैभन्दा छिटो बनेको खोप निर्माणका लागि चार वर्ष लागेको थियो । अन्य खोप निर्माण गर्न १० देखि १५ वर्ष लागेकाे थियो ।

तर अहिले वैज्ञानिकहरु एक वर्षभित्रै कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप तयार गर्ने दौडमा छन् । दर्जनौं शोधकर्ताको टोलीले कोरोना भाइरसविरुद्धको खोप बनाउन काम गरिरहेका छन्, जसमा उनीहरुले स्थापित र नयाँ प्रविधिको प्रयोग गरिरहेका छन् । लगानी पनि उल्लेख्य मात्रामा भइसकेको छ ।

खोपका लागि यसअघि त्यति धेरै लगानी गरिँदैनथ्यो । तर कोरोनाको महामारी नियन्त्रणका लागि निर्माण हुन लागेको यो खोपका लागि अर्बौं डलर लगानी गरिएको छ । सबैभन्दा धेरै लगानी अमेरिका, युरोप र चीनबाट भएको छ ।

आम मानिसमा कोरोना भाइरसविरुद्धको खोप बन्न कति समय लाग्छ र अहिले खोप निर्माणमा अगाडि देखिएका विश्वका प्रमुख तीन शक्तिले कसरी सकेसम्म छिटो खोप उपलब्ध गराउन सक्लान् भन्नेमा धेरैको ध्यान केन्द्रित छ । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेका वा यो खोपको आवश्यकता सबैभन्दा बढी भएका मानिसहरुसँग खोप पुग्न धेरै काम र सम्झौताहरु हुनु जरुरी छ ।

कोरोना भाइरसविरुद्धको खोपको बाटो

वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप सन् २०२१ को सुरुवातसम्म बनिसक्ने बताएका छन् । त्यसको लागि खोप निर्माणको प्रक्रिया पनि तीव्र गतिमा अघि बढाइएको छ । खोप निर्माणका लागि धेरै चरणको परीक्षण पार गर्नुपर्छ । सबै परीक्षण पार गरेपछि मात्र खोप आम मानिसमा प्रयोगको लागि उपयुक्त हुन्छ ।

खोप निर्माणका लागि सुरुवातमा अध्ययन र विकासको काम हुन्छ । त्यसपछि प्रि–क्लिनिकल र क्लिनिकल परीक्षण गरिनुपर्छ । क्लिनिकल परीक्षण तीन चरणको हुन्छ । यसका प्रत्येक चरण पार गर्न दुई वर्ष वा सोभन्दा लामो समय लाग्छ । तर कोरोना भाइरसविरुद्धको खोप निर्माण भने छिटो गर्न दुई वा बढी चरण एउटैमा गाभ्ने वा त्यसलाई छाड्नेजस्ता काम भइरहेका छन् ।

खोप निर्माणका चरणहरु

 

प्रि–क्लिनिकल परीक्षण

मानिसमा कुनै पनि नयाँ खोपको परीक्षण गर्नुभन्दा पहिला यसको परीक्षण जनावरहरुमा गरिन्छ ।

जनावरहरुमा यो खोपले काम गर्छ कि गर्दैन र रोगविरुद्धको प्रतिरोधी क्षमताका साथै यसको असरबारेमा पनि अध्ययन गरिन्छ । यद्यपि कोरोना भाइरसविरुद्धको केही खोपहरुले एकैसाथ मानिस र जनावरमा पनि खोपको परीक्षण गरेका थिए ।

क्लिनिकल परीक्षण

फेज १

क्लिनिकल परीक्षण भनेको मानिसमा गरिने परीक्षण हो । यो परीक्षणको पहिलो चरणमा सानो समूहका मानिसलाई यो खोप दिइन्छ । सामान्यतया यो खोप सुरक्षित छ वा छैन भन्ने निर्क्यौल गर्न १० देखि १५ जना मानिसमा यो परीक्षण गरिन्छ ।

फेज २

पहिलो चरणमा यो खोप सही छ भन्ने भएपछि केही समय मानिसमा यो खोपको परीक्षण गरिन्छ । यो चरणको परीक्षणमा खोप कत्तिको सुरक्षित छ र कुनै साइट इफेक्ट छ कि छैन भन्ने अध्ययन गरिन्छ । तर, धेरै कोरोना भाइरविरुद्धका खोपमा पहिलो र दोस्रो फेज एकैसाथ गरिएको छ । यसको अर्थ उनीहरुले एकैपटक सयौं मानिसहरुमा यो खोपको परीक्षण गरेका थिए ।

फेज ३

यो क्लिनिकल परीक्षणको अन्तिम चरण हो । यो चरणको परीक्षणमा फरक उमेर समूह र फरक स्थानका हजारौं मानिसहरुलाई सहभागी गरिन्छ । परीक्षणको क्रममा खोपले संक्रमण घटाउन कत्तिको सहयोग गर्छ भन्ने कुरालाई ध्यानमा राखिन्छ । साथै यसको प्रभावकारिताको विषयमा पनि अध्ययन गरिन्छ ।

कार्यान्वयन

तीनै चरणको क्लिनिकल परीक्षण सकिएपछि नियामकहरुले परीक्षणको नतिजाको अध्ययन गर्छन् र उनीहरुलाई प्रयोग तथा उत्पादनको अधिकार दिन्छन् । कतिपय खोपमा प्रयोगको अनुमति पाएपछि पनि चौथो चरणको परीक्षण गरिन्छ ।

अहिले विश्वभर २९ खोप मानव क्लिनिकल परीक्षणको क्रममा छन् । यी मध्ये ६ खोप तेस्रो चरणमा छन् ।

मानव परीक्षण गरिरहेका खोपमध्ये अधिकांश अमेरिकी, युरोपेली वा चिनियाँ वित्तीय सहयोगमा निर्माण भइरहेका छन् । यस्तो अवस्थामा तीनमध्ये एक क्षेत्रको नियामकले सुरक्षित र प्रभावकारी पहिलो खोपका लागि अनुमति दिने विश्वास छ ।

अहिले तेस्रो चरणको क्लिनिकल परीक्षणमा रहेको खोपको संख्या ६ पुगेको छ, जसमध्ये तीनओटा चिनियाँ खोप छन् । तीनमध्ये दुई खोप सरकारी कम्पनी सिनोफर्म र एक खोप निजी कम्पनी सिनोभ्याक बायोटेकले निर्माण गरिरहेका छन् ।

एक खोप बेलायतले अक्सफोर्ड युनिभर्सिटीको सहयोगमा निर्माण गरिरहेको छ भने दुई खोप अमेरिकी कम्पनीले निर्माण गरिरहेका छन् । यसमध्ये एक मोडर्ना कम्पनीले निर्माण गरिरहेको खोप हो भने अर्को फाइजर कम्पनीले निर्माण गरिरहेको छ । अमेरिकी कम्पनी मोडर्नाले कोरोनाको जेनेटिक सिक्वेन्स सार्वजनिक भएको दुई महिनापछि मार्च १६ मा खोप निर्माणको काम सुरु गरेको थियो ।

६ महिनामा यो चरणमा पुग्नु खोप निर्माणको ऐतिहासिक गति हो । यसका लागि सामान्यतया ६ वर्षको समय लाग्ने गरेको अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक एड्रिन हिल बताउँछन् ।

सकेसम्म छिटो कोरोना खोप बजारमा ल्याउने उद्देश्यका साथै केही मुलुकले तेस्रो चरणको परीक्षणमा प्रभावकारिता पुष्टि हुनुभन्दा पहिला नै खोपलाई अघि बढाएका छन् । गत जुनमा चीनले परीक्षणको क्रममा रहेको खोप सेनालाई प्रयोग गर्ने अनुमति दिएको थियो ।

अहिले रुसले पनि त्यही बाटो अपनाएको छ । खोप परीक्षण र विकासमा देखिएको आशंकाको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अगष्ट ११ मा ‘स्पुतनिक भी’ नामको विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोप दर्ता गरेको घोषणा गरेका थिए । रुसले अहिलेसम्म यो खोप परीक्षणको वैज्ञानिक विवरण सार्वजनिक गरेको छैन । खोप पनि तेस्रो चरणको परीक्षण सुरु हुनुभन्दा एकदिन पहिला नै दर्ता गरिएको हो । तेस्रो चरण खोप निर्माणमा निकै महत्वपूर्ण मानिन्छ ।

फ्रान्सका राष्ट्रपति भ्याक्सिन निर्माण युनिटसँग

युरोप र अमेरिकामा पनि अहिले खोपको प्रभावकारिता र सुरक्षित रहेको पुष्टि नहुँदै खोप निर्माण गरिरहेका कम्पनीहरुले अत्यधिक मात्रामा यसको उत्पादन सुरु गरेका छन् । अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरिरहेको खोपको साझेदार बनेको एस्क्ट्राजेनेकाले अमेरिका, बेलायतलगायत केही मुलुकका साथै केही संगठनसँग दुई अर्ब डोजको खोपको सम्झौता गरिसकेको छ । जसको पहिलो डेलिभरी सेप्टेम्बरको सुरुवातसम्ममा हुरु हुनेछ । त्यस्तै अमेरिकी खोप निर्माताले पनि ठूलो परिमाणमा खोप निर्माण सुरु गरिसकेका छन् । यो खोपको परीक्षण सकिएसँगै सकेसम्म छिटो आफ्ना सबै नागरिकलाई खोप उपलब्ध गराउने योजनामा अमेरिका र बेलायत देखिएका छन् ।

हतार गरेर बनाइएको खोपबारे मानिसहरुमा आशंका पनि छ । सीएनएनको एक सर्वेक्षणमा ६६ प्रतिशत अमेरिकीले मात्र सबैभन्दा पहिला आउने खोप लिने बताएका थिए ।

त्यसो त शतप्रतिशत प्रभावकारी कुनै पनि खोपमा हुँदैन । अझ केही खोप त हाराहारी पनि आउँदैनन् । उदाहरण लागि औलोको पहिलो खोप अफ्रिकामा गत वर्ष लगाइएको थियो । यो खोप ५–१७ वर्ष उमेर समूहका मानिसलाई दिइएको थियो । यसले औलोबाट केवल ३९ प्रतिशत मात्र सुरक्षा दिन सक्थ्यो ।

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रिेसन (एफडीए)ले भने कोरोना भाइरसविरुद्धको खोपले कम्तीमा ५० प्रतिशत मानिसलाई निको पार्ने विश्वास व्यक्त गरेको छ । केही विशेषज्ञहरु कोरोना भाइरस मानिसहरुबाट कहिले पनि नहराउने तर अहिलेको जस्तो महामारी नभई इन्फ्लुएन्जाजस्तो रोगको रुपमा रहन सक्ने बताउँछन् । त्यसैले एकपटक खोप बनेपछि सबै कुरा पुग्यो भन्नेजस्तो सोच राख्न नहुने उनीहरुको भनाइ छ ।

खोप निर्माणका लागि ६ चरण पार गर्नुपर्ने हुन्छ । पहिलो चरणमा त्यसमा प्रयोग हुने आवश्यक सामग्रीको परीक्षण गरिन्छ । त्यसपछि खोपको लागि आवश्यक पदार्थ निर्माण गरिन्छ । त्यसपछि गुणस्तर नियमनको काम हुन्छ । त्यसपछि सिरिन्ज वा ग्लासको भाँडोमा भर्ने काम हुन्छ । त्यसपछि प्याकजिङको काम सकिएपछि बजारमा पठाइन्छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै स्थानमा खोपको न्योयोचित वितरणको लागि सबैसँग आग्रह गर्दै आएको छ ।

खोपमा लगानी भने उल्लेख्य मात्रामा भइरहेको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोप निर्माणको लागि अहिलेसम्म १२ अर्ब ३० करोड डलरभन्दा धेरै गानी गरिसकेको छ । खोप विकास र खरिदका लागि १० अर्ब ८० करोड डलर र एक अर्ब ५० करोड डलर म्यानुफ्याक्चरिङ्ग र वितरणको लागि छुट्याएको छ ।

युरोपले पनि ४१ करोड २० लाख डलरभन्दा बढी रकम खोपको अनुसन्धान र विकासको लागि लगानी गरिसकेको छ । उसले तीन अर्ब २० करोड डलरको आपतकालीन कोषको सहयोगमा खोप खरीद गरी युरोपेली संगठनका सबै सदस्य राष्ट्रमा पुर्‍याउने लक्ष्य राखेको छ ।

भ्याक्सिन निर्माणको प्रगतिबारे जानकारी लिँदै चिनियाँ राष्ट्रपति

चीनले भने खोपको विकासको लागि भएको खर्चको विवरण सार्वजनिक गरेको छैन । यद्यपि अहिले अहिले विश्वभर क्लिनिकल परीक्षणको क्रममा रहेका २९ मध्ये नौ खोप निर्माणको काम चिनियाँ कम्पनीले गरिरहेका छन् । चीनले खोप निर्माणपछि पहिलो प्राथमिकता आफ्ना सबै नागरिकलाई दिन सक्छ । त्यसका लागि उसले पनि ठूलो परिमाणमा खोपको उत्पादन सुरु गरिसकेको छ । यसरी हेर्दा चीनले पनि उल्लेख्य रकम खोपको लागि खर्च गरेको छ ।

अब के होला ?

अझै पनि कसले पहिला कोरोना भाइरसविरुद्धको खोप ल्याउला ? यिनीहरुको परीक्षण सफल होला कि नहोला ? पहिलो खोप आएपछि गरीब मुलुकले खोप पाउउलान् कि नपाउलान् ? लगायतका प्रश्न भने यथावत छन् ।

अहिले निर्माणको दौडमा अघि रहेका मुलुकको अवस्थालाई हेर्ने हो भने गरीब मुलुकका नागरिकले छिटै कोरोना भाइरसविरुद्धको खोप पाउने सम्भावना कम देखिएको छ । यद्यपि विश्वका नेताहरु र डब्ल्यूएचओले भने सबैलाई न्यायोचितरुपमा यो खोपको वितरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

एक पटक पढ्नुहोस