वर्ल्डलिंक : सेकेन्डह्यान्ड कम्युटरबाट १२५० करोडसम्म !

१६ असोज, काठमाडौं । दिलिप अग्रवाल सन् १९९४ मा अमेरिकामा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिए । त्यतिबेला उनलाई पीर हुन्थ्यो, स्नातक भएपछि के गर्ने ? जागिर खोज्ने, मास्टर गर्ने कि नेपाल फर्किने ? विकल्पहरु थिए, तर निर्णय लिन कठिन भइरहेको थियो ।

बुवा प्रा. डा विश्वनाथ अग्रवाल (संविधानसभा सभासद)ले नेपालमा निजी क्षेत्रबाट बायोकेमिस्ट्री (वनस्पति–रासायन)को रिसर्च ल्याब चलाइरहेका थिए । दिलिपको पढाइ यही विषयमा थियो, तर उनलाई नेपाल फर्किहाल्ने इच्छा थिएन । त्यतिबेला ‘वालस्ट्रिट’ (कमोडिटी)मा गएर काम गर्ने क्रेज थियो । त्यसैले उनी इकोनोमिक्सको कोर्स पनि गर्दै थिए ।

त्यहिबेला दिलिपका दाजुले अमेरिकामै कम्प्युटर इन्जिनियरिङमा डिग्री सके । त्यो फुर्सदको समयमा उनले घरमा कुराकानी गर्न भनेर लिनेक्स (इमेल अपरेटिङ प्रणाली) जोडे । त्यतिबेला लिनेक्स नयाँ प्रविधि थियो । उनले सामान्य इमेल सेवा आदान–प्रदान गर्न सकिने सर्भर हाले ।

त्यतिबेलै दिलिपले दाजुलाई सुझाए, ‘तपाईं त्यो सर्भर लिएर घर फर्किनुस्, त्यहाँ सर्भर हालिदिनुस् र सेवा सुरु गर्नुस्, घरमा पनि कुरा गर्न पाइन्छ ।’

तर, दाजुलाई उनको सुझाव जँचेन । त्यतिबेला अमेरिकामा फ्याक्स छोडेर इमेल सेवा लिने चलन बढ्न थालेका थियो । त्यतिबेला अमेरिकाको घर–घरमा इमेल–इन्टरनेट सुविधा थिएन । नेपालबाट अमेरिका फोन गर्दा प्रतिमिनेट साढे २ सय रुपैयाँसम्म पर्थ्यो ।

दाजुले नमानेपछि दिलिपले नै सोचे– त्यो काम म आफैंले किन नगर्ने ? त्यसपछि उनले काठमाठौंमा फुपूका छोरा श्यामलाई फोन गरेर नेपालमा यस्तो सेवा सुरु गरे चल्ला कि नचल्ला भनेर सोधे । श्यामले सम्भावना बलियो रहेको बताए ।

त्यसपछि दिलिपले यस विषयमा अध्ययन र तयारी गर्न थाले । उनको विषय सूचना प्रविधि (आईटी) नभए पनि यसमा रुचि थियो ।

त्यसलगत्तै उनले पैसाको जोगाड गरेर एउटा सेकेन्ड ह्यान्ड कम्प्युटर (३८६ पीसी) किने, इमेल गर्न सक्ने सर्भर जोडे । र, मे, १९९५ मा त्यही कम्प्युटर बोकेर नेपाल आए ।

दुःखले थालेको सेवा

दिलिप नेपाल आएपछि दिनरात त्यसकै व्यवस्थापनमा लागिरहे । त्यतिबेला फोन लाइन पाउन सहज थिएन । ३० हजार रुपैयाँ तिरेर ‘ओआईटी’ फोन लिन पाइन्थ्यो । त्यो लाइन दुर्लभजस्तै थियो । उनले बुवाको कार्यालयको फ्याक्स लाइन जोडेर काम चलाए । त्यसरी सेप्टेम्बरबाट सुरु भयो– वर्ल्डलिंक ।

त्यबितेला कम्पनीले इमेल सेवा मात्रै दिन्थ्यो । नेपालबाट जाने इमेल दिलिपको दाजुको कम्प्युटरमा रहेको सर्भरमा पुग्थ्यो । त्यो कम्प्युटरले ‘मोडेम’मार्फत नेपालमा रहेको कम्प्युटरमा अन्तर्राष्ट्रिय कल गर्थ्यो । त्यहाँको इमेल यहाँको सर्भरमा लिन्थ्यो र त्यहाँका सर्भरमा आएको इमेल यहाँको सर्भरमा पठाउँथ्यो ।

त्यतिबेला इमेल अहिलेजस्तो ‘रियल टाइम’मा पुग्थेन । अहिलेजस्तो फटाफट च्याट गर्ने सुविधा थिएन ।  ग्राहकले इमेल एउटा सर्भरमा ड्रप गरेपछि त्यो इमेलले अर्को सर्भरमा पुर्याएर पुग्नुपर्ने ग्राहकसम्म पर्याउन केही समय लाग्थ्यो । तर, चिठ्ठीमा निर्भर हुने समयमा त्यो सेवा फोनको तुलनामा निकै सस्तो र प्रभावकारी हुन्थ्यो ।

दिलिपले फुपू र मामाका छोराहरुलाई कम्पनीबाट तलब नलिने गरी पार्टनर बनेर सेयर इक्विटी लिन लगाए । त्यसरी सबै प्रवन्ध गरेर सोही वर्ष स्नातक सक्न अमेरिका फर्किए ।

उनी फर्किएपछि सेवामा अनेक प्राविधिक समस्या आइरह्यो । दिलिप एक वर्षसम्म यो सेवालाई सपोर्ट गर्नमै केन्द्रित रहे । अप्ठेरो परे पनि पनि सेवा रोकिएन ।

जुन, १९९६ मा स्नातक सकेर फर्किंदा इमेल प्रयोगबारे बुझाउन सहज थिएन । त्यतिबेला विज्ञापन गर्न न प्रविधि थियो, न पैसा नै । त्यसैले एउटा डिजाइन तयार गरेर गोश्वरा पोस्ट बक्समा उनीहरुले प्रिन्टेड ‘इमेल सेवा सुरु हुँदैछ’ इच्छुकले सम्पर्क राख्नुहोला भनेर फारम राखिदिन्थे । इच्छुकले त्यो फारममा आफ्नो विवरण भरेर हुलाक बक्समा खसाल्थे । त्यसमार्फत धेरै ग्राहक वर्ल्डलिंकसँग जोडिन पुगे ।

त्यतिबेला नेपाल बस्ने विदेशी नियोग, ट्राभल एजेन्सी, अन्तर्राष्ट्रिय ब्यापार गर्नेहरु, एनजीओ/आईएनजीओहरु प्रमुख ग्राहक थिए । त्यो समयमा मर्कन्टाइलले पनि इमेल सेवा सुरु गरेको थियो ।

त्यतिबेला वर्ल्डलिंक घरमा सानो कोठाबाट सञ्चालन हुन्थ्यो । ग्राहक कार्यालय आउँदा ‘यहाँ त तिमीहरुको खासै केही रहेनछ’ भन्थे । हेर्दा ठीटा, सानो सर्भर, साँघुरो कार्यालय । यो देखेपछि दिलिपलाई सोधिन्थ्यो, ‘मैले तिमीलाई बिजनेस दिएँ भने के ग्यारेन्टी छ कि अर्को महिनामा पनि तिमी यहीँ हुन्छौ ?’ यस्तो अवस्थामा दिलीपहरुले अनेकन प्रयासबाट बुझाउनुपर्थ्यो ।

धेरै ग्राहक बनाएर सेवा खस्काएको भन्ने आरोप कम्पनीमाथि लाग्यो । ग्राहक पनि ठूलो संख्यामा बढेकाले कम्पनीलाई यही प्रविधिमा रहिरहन सहज भएन

त्यतिबेला वर्ल्डलिंकको सेवामा धेरै ग्राहक जोडिनुको मुख्य कारण थियो, उनीहरुको सेवा दिने शैली । प्रतिस्पर्धी कम्पनी मर्कन्टाइलले मर्मत तथा इमेल सेवा जोड्न आफ्नो अफिसमा कम्प्युटर ल्याएर छोड्न र अर्को कुनै दिन आएरै लैजान भन्थ्यो । तर, महत्वपूर्ण र गोप्य डाटा भएका ग्राहक त्यो चाहँदैन थिए ।

त्यसैलाई वर्ल्डलिंकले आफ्नो अवसर बनायो । कम्पनीले ग्राहककै कार्यालय र घरमा गएर उसकै अघि बसेर सेवा दिन थाल्यो । जसले गर्दा धेरै विदेशी ग्राहकले यो सेवा रुचाए । सबैको फोन आउनासाथै घर वा कार्यालयमै पुगेर सेवा दिने शैलीले धेरै प्रभावित भए ।

‘वर्ल्डलिंक सुरु गर्दा हामीलाई कम्पनी दर्ता गर्नुपर्छ भन्ने समेत थाहा थिएन’, उनी भन्छन् । दिलिपहरु ग्राहकलाई प्रिन्ट गरेर बिल दिन्थे । ग्राहकहरु अफिसियल बिल माग्थे । दिलिप भन्छन्, ‘अनि कम्पनी नै दर्ता गर्नुपर्ने रहेछ भन्ने कुरा समझमा आयो ।’

उद्योगको प्रकृतिमा ‘इन्टरनेट सेवा’ भनेर उल्लेख गर्दा कम्पनी रजिष्ट्रारले ‘के हो इन्टरनेट सेवा भन्या ?’ भन्दै पीसीओ लेखेर दर्ताको तोक लगाइदिए । त्यतिबेला पीसीओमात्रै दर्ता हुने अवस्था थियो । त्यसरी ‘गर्दै जाऊ, जान्दै जाऊ’ शैलीमा वर्ल्डलिंक अगाडि बढ्यो ।

त्यतिबेला इन्टरनेट सेवामा लाइसेन्स लिनुपर्ने प्रावधान बनिसकेकै थिएन । अहिले दिलिपलाई अन्य आईटीका जानकारहरुले भेट्दा भन्छन्, ‘मैले पनि यस्तो सेवा सुरु गर्नेबारे सोचेको थिएँ, तर त्यतिबेला अनेक उल्झन हुन्छ भनेर आँट नै गरिएन ।’

त्यतिबेला दिलिपहरु कसैसँग कुनै सल्लाह लिन पनि गएनन्, प्रविधि पनि सस्तो हेर्थे । राम्रो प्रविधिमा जान स्रोत पनि त थिएन !

दिलिपको प्रतिस्पर्धी कम्पनी महँगो प्रविधि प्रयोग गर्थ्यो । उनी सम्झन्छन्, ‘लिनेक्स भनेको निःशुल्क पाइने प्रविधि हो, ह्याक हुन्छ भनेर ग्राहक भड्काउने काम पनि नभएको हैन ।’

त्यो जमानामा फ्याक्स आउँथ्यो, त्यो पनि कति कुरा त नबुझिने गरी, धमिलो–धमिलो । तर, इमेल/इन्टरनेट आएपछि मान्छेले तुरुन्तै आफ्नो सन्देश पाउने अवस्था बन्यो । त्यो सेवा तत्कालीन समयमा कल्पनाभन्दा बाहिरको थियो ।

चिठ्ठी महिनौं लगाएर पुग्ने र महिनौंपछि जवाफ आउने त्यो युगमा इमेल सेवाले एउटा क्रान्ति नै ल्यायो । यस्तो सेवा जोड्दा मान्छे यति खुसी हुन्थे कि जोड्न जाँदा ग्राहकहरुले टिप्स पनि दिन्थे ।

इन्टरनेटको हण्डर

सेवा सुरु गर्दा इमेलको चाप कम थियो । तर, विस्तारै–विस्तारै यति धेरै इमेल आयो कि सर्भरलाई थेग्न मुस्किल हुन थाल्यो । सुरुमा अमेरिकाबाट दिनमा एकपटक ‘मोडेम कल’ आउँथ्यो भने पछि दिनमा ४–५ घण्टासम्म आउन थाल्यो ।

इमेल आदानप्रदान बढी हुन थालेपछि ग्राहकको कम्प्युटरमा इमेल पुग्न पनि समय लाग्यो । ग्राहक भने धेरै घण्टा कुर्न तयार थिएनन् ।

मर्कन्टाइलले नेपालमा सन् १९९७ को सुरुमा इन्टरनेट सेवा सुरु गर्यो । त्यतिबेला नेपालबाट इन्टरनेट सेवा दिन ‘लिजलाइन’ लिनुपर्थ्यो । त्यो लाइनले यहाँबाट भारतको कुनै इन्टरनेट सेवा दिने लाइन आएको विन्दुसम्म जोड्थ्यो । यो लाइन हरेक समय खुल्लै हुनुपर्ने ट्रंक लाइनजस्तै थियो ।

लिज लाइन जोड्न नेपाल टेलिकमलाई साढे ४ लाख रुपैयाँ तिर्नुपर्थ्यो । त्यसबाहेक विदेशी कम्पनीलाई प्रतिमहिना साढे ४ हजार डलर तिर्नुपर्ने हुन्थ्यो । वर्ल्डलिंकले त्यति ठूलो रकम जुटाएर सेवा दिने आँट गर्न सकेन । प्रतिस्पर्धी कम्पनी मर्कन्टाइल भने अघि बढिसकेको थियो ।

अन्ततः दिलिपले पनि निर्णय लिए– अब इन्टरनेट सेवामा जानुपर्छ । तर, रकमको लागि कसैले पत्याएनन् । त्यही बेला सेवा सम्झौता भएको एउटा विदेशी कम्पनीले ३ महिनाको ‘पेइङ पिरियड’ दियो ।

जसले गर्दा दिलिपलाई केही सहज भइदियो । त्यतिबेला आन्तरिक कारणले टेलिकमले पनि सुरुको ५–६ महिना लाइनको बिलिङ नै गर्न सकेन । ३ महिनामा इन्टरनेटका धेरै ग्राहकहरु पनि बने । त्यो अवधिमा आवश्यक लगानी जुटाउन सकियो ।

त्यो डायलअप इन्टरनेटको युग थियो । माओवादी विद्रोहका कारण बिजनेसको वातावरण खस्किएको थियो । दिलिपकै भाषामा– वर्ल्डलिंक ‘अबोध बालक’जस्तै थियो ।

सेवा सुरु भएको धेरैपछि सञ्चार मन्त्रालयले बोलाएरै लाइसेन्स दियो । त्यो समयमा पूर्वाधारमा खासै ठूलो लगानी गर्नुपर्ने थिएन । कम्पनीको आम्दानी पनि राम्रो भइरहेको थियो । २००१/००२ सम्म यस्तै चलिरह्यो ।

टिक्न अनेक प्रयास

 

विस्तारै ग्राहकले पुरानै शैलीको सेवामा चित्त बुझाउन छाडे । भन्न थाले– हामीलाई थप सुविधा चाहियो ।

डायलअप इन्टरनेटको स्पिडमा उनीहरुको आपत्ति थियो । त्यतिबेला युरोपमा ‘आईएसडीएन’ भन्ने सर्भिस थियो भने अमेरिकामा ‘डीएसएल’ । यता नेपाली ग्राहकले सोध्ने थाले– तिमीहरु के गर्दैछौ ?

त्यसपछि वर्ल्डलिंकले नेपाल टेलिकमसँग कुरा गर्यो । वर्ल्डलिंकको प्रस्ताव थियो, ‘ग्राहकलाई बिक्री वितरण गर्न मिल्ने एडीएसएल (फोनमार्फत जोडिने इन्टरनेट)को पूर्वाधार सेवा दिनुस् ।’

आफ्नै योजना छ भनेर पन्छिएको टेलिकमले त्यो सेवा २००७ बाट मात्र सुरु गर्यो ।

टेलिकमले एडीएसएल दिन नमानेपछि वर्ल्डलिंकले एउटा वायरलेस इक्विपमेन्ट भेट्यो, तर साह्रै महँगो । घरेलु ग्राहकलाई त्यसबाट सेवा दिन त्यो उपयुक्त थिएन । धेरै शुल्क तिर्नसक्नेकोमा वायरलेस इक्विपमेन्ट जोडेर सेवा विस्तार पनि भयो, तर त्यो सबैलाई हुने खालको प्रविधि थिएन ।

वर्ल्डलिंकले २००४ मा काठमाडौं, पोखरा र बिराटनगरका पोलहरुबाट केबल नेटवर्क हालेको थियो । ती पोलमा स्विच राखेर घर–घरमा सेवा जोड्न सकिने अवस्था थियो । तर, त्यो पनि सजिलो थिएन । त्यतिबेला टेलिभिजन केबल अपरेटरहरुले पोलमा तार हाल्न आपत्ति पनि जनाए । आफू टेलिभिजन सेवा दिने कम्पनी हैन भनेर बुझाउन निकै हम्मे पर्यो ।

तामाको तारमार्फत दिइने सेवा लोकप्रिय भयो । यसपछि डायलअप इन्टरनेट दिन परेन । त्यतिबेला वर्ल्डलिंकसँग कसैको प्रतिस्पर्धा नै थिएन । ग्राहकहरु खुसी थिए ।

केबल इन्टरनेट सेवा सुरु गरेपनि त्यो जोगाडको सस्तो प्रविधि थियो । त्यतिबेला भारतमा पनि यही प्रविधि प्रयोगमा थियो । तर, कमजोर गुणस्तरका कारण कम्पनीले पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने स्थिति आयो ।

त्यो प्रविधि दीर्घकालसम्म जानसक्ने अवस्था भने थिएन । तर, रोकिने पनि त कुरा भएन ! त्यसैले दिलीपहरु जे–जे गर्न सकिन्छ त्यसमा लागिरहे । झन्झट हुने भएकाले नै पोलमा तार हाल्न मर्कन्टाइल आउँदै आएन । उनीहरुले बजार नै छोडिदिए । वर्ल्डलिंकले भने अनेकन प्रयोग र प्रयास गरिरह्यो ।

‘हामीलाई लाग्थ्यो, ग्राहकले हामीसँग आश गरेका छन्, हाम्रो त धर्म र कर्म नै यही हो,’ दिलिप सम्झन्छन् ।

जब केबल इन्टरनेटमा ग्राहकहरु बढ्न थाले, पोलमा राखिएका स्विचको गुणस्तर कमजोर भएकाले व्यवधान आयो । सेवामा धेरै गुनासा आए । त्यसपछि अब यसलाई हटाउने सोचमा कम्पनी पुग्यो ।

फेरि कम्पनीले एउटा अमेरिकी कम्पनीसँग ‘ताररहित डिभाइस’ किन्न थाल्यो । काठमाडौं र पोखरामा यो प्रविधिले सुरुमा राम्रो काम गर्यो । ग्राहक सजिलै ‘वायरलेस’मा जान थाले ।

अन्य कम्पनीमार्फत पनि धेरै ग्राहक यो सेवामा जोडिएपछि आसपासका डिभाइसका सिग्नल जुध्न थाल्यो । त्यसले सेवा फेरि प्रभावित हुन पुगेपछि स्पिड घटेको भन्दै ग्राहक फेरि कराउन थाले ।

धेरै ग्राहक बनाएर सेवा खस्काएको भन्ने आरोप कम्पनीमाथि लाग्यो । ग्राहक पनि ठूलो संख्यामा बढेकाले कम्पनीलाई यही प्रविधिमा रहिरहन सहज भएन । २००७ सम्म यस्तो अवस्थाबाट कम्पनी अघि बढ्दै थियो ।

टेलिकमले दिएको धक्का

२००८ नलाग्दै नेपालको टेलिकम उद्योगमा अर्को क्रान्ति भयो । टेलिकमले एडीएसएल सेवा ल्यायो । भारतबाट फाइबरमार्फत इन्टरनेट ब्यान्डविथ भित्र्यायो । त्यतिबेलासम्म नेपालमा सबै इन्टरनेट ब्यान्ड विथ स्याटेलाइटबाट मात्रै आउँथ्यो । त्यस्तो इन्टरनेट ढिलो त हुन्थ्यो नै, महँगो पनि पर्थ्यो ।

स्याटेलाइटबाट लिने १ एमबीपीएस इन्टरनेट ब्यान्थविथको त्यतिबेला प्रतिमहिना १३ सय डलरसम्म तिरिँदै थियो । सुरुवातमा यस्तो शुल्क १० हजार डलरसम्म थियो । तर, फाइबरमार्फत एक एमबीपीएस किन्दा ३ सय डलरमा आउँथ्यो ।

टेलिकमले फाइबरबाट सस्तो इन्टरनेट ब्यान्डविथ भित्र्याएर एडीएसएल सेवा थालेपछि दिलिपलाई लाग्यो– अब त हामी सकिन्छौं !

टेलिकम आफ्नो प्रविधिले निजी कम्पनीलाई विस्थापन गर्ने बताइरहेकै थियो । वर्ल्डलिंकले आफूलाई पनि फाइबर ब्यान्डविथ दिन टेलिकमसँग प्रस्ताव गर्यो, तर टेलिकमले मान्ने कुरै भएन । टेलिकमले छरितो सेवा दिन थालेपछि वर्ल्डलिकंले शुल्क घटायो । त्यसबाट कम्पनीको आर्थिक अवस्था बिग्रन थाल्यो ।

वर्ल्डलिंकसँग टेलिकमको एडीएसएलसँग प्रतिस्पर्धा गर्ने प्रविधि नै थिएन । ग्राहक त छन्, भरपर्दो नेटवर्क छैन, तर टेलिकमसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यो अवस्थामा जे छ, त्यसबाटै बजारमा टिकिरहनुको विकल्प थिएन ।

संकटतर्फको यात्रा

दिलिपले ‘हामीलाई पनि फाइबर ब्यान्डविथ दिनुस्’ भन्दै एक वर्षसम्म भारतका विभिन्न सेवा प्रदायकलाई गुहारे । तर, त्यहाँ पनि सीमित थियो, अन्तरदेशीय फाइबर हाल्दा विभिन्न नियम, प्रक्रियाहरु थिए । सुरक्षाका सवालहरु थिए ।

टेलिकमले बीएसएनएलबाट फाइबर ब्यान्डविथ लिएको थियो, दुवै सरकारी स्तरकै कम्पनी भएकाले झन्झट कम थियो । निजी सेवा प्रदायकलाई त्यति सरल प्रक्रिया थिएन ।

२००८ को अन्तिमतिर बल्ल वर्ल्डलिंकले फाइबरबाट ब्यान्डविथ ल्यायो । त्यसपछि कम्पनीको गुणस्तर बढ्यो र खर्च घट्यो । कम्पनीले वायरलेस डिभाइसबाटै सेवा दिइरह्यो ।

त्यतिबेला कम्पनीले सरकारसँग विदेशमा वायरलेस इन्टरनेटमा तीव्र गतिको इन्टरनेट चलाउन प्रचलनमा आएको ‘वाईम्याक्स’ प्रविधिको लाइसेन्स माग्यो । नेपालमा त्यसको सुरुआत भएको थिएन । त्यसका लागि सरकारबाट फ्रिक्वेन्सी लिनुपर्थ्यो । नेपाल टेकिलमले सहजै फ्रिक्वेन्सी पायो, तर निजी कम्पनीले बोलकबोलबाट पाउने नियम बनाइयो । कम्पनीले फ्रिक्वेन्सीको ‘अक्सन’ टेन्डर गर्न धेरै हारगुहार गर्यो, तर सरकारी तबरबाट स्वीकारिएन ।

अहिलेसम्म पनि त्यो फ्रिक्वेन्सीका लागि बोलकबोल गरिएको छैन । अहिले पनि वर्ल्डलिंक त्यो फ्रिक्वेन्सीको अक्सन हुनुपर्ने पक्षमा छ ।

टेलिकमले एडीएसएलबाट तुलनात्मक रुपमा स्तरीय सेवा दिइरहँदा वर्ल्डलिंक आर्थिक हिसाबले पनि कमजोर बन्न पुग्यो । गुणस्तरीय प्रविधि पनि लिन नसक्ने र ठूलो लगानी पनि गर्न नसक्ने अवस्थाले कम्पनीलाई गाँज्दै लग्यो ।

२००८ देखि २०१२ सम्मको अवधिमा कम्पनी सबैभन्दा खराब अवस्था पुग्यो । ग्राहकको गालीको ओइरो थियो । टेलिकमको एडीएसएसलसँगको तुलनाले कम्पनीलाई हानी भइरहेको थियो, जुन स्वाभाविक थियो ।

‘हामीलाई त्यतिबेला के गर्ने, कहाँ जाने, के प्रविधि ल्याउने केही पत्तो भएन, समुन्द्रमा हराएको जहाज जस्तो भयौं,’ दिलिप भन्छन्, ‘कर्मचारीलाई तलब खुवाउन पनि समस्या भयो ।’

राजस्वको छापाले अर्को झड्का

यस्तो कठिन परिस्थितिसँग जुध्दै गर्दा २०११ डिसेम्बरमा राजस्व अनुसन्धान विभागले वर्ल्डलिंकमा छापा मार्यो ।

कम्पनीले काठमाडौंमा एकैपटक फाइबरमा १ अर्ब लगानी गर्यो । त्यतिबेलासम्म वर्ल्डलिंक ठूलो कम्पनी भइसकेको पनि थिएन । १०० करोड ऋण लिएर सेवामा जानु कम्ता चुनौतीपूर्ण थिएन । यो जोखिमलाई दिलिपले कर्म र धर्म माने

‘वर्ल्डलिंक कम्युनिकेसन प्रालि’ काठमाडौंमा दर्ता थियो । तर, सेवा दिने क्रममा देशमा विभिन्न शहरमा त्यहाँको स्थानीय व्यक्तिलाई पार्टनर बनाएर छुट्टै कम्पनीहरु स्थापना भएको थियो । त्यही कम्पनीमार्फत सेवा दिइन्थ्यो ।

राजस्व अनुसन्धान विभागले भन्यो, ‘यस्तो संरचना बनाएर दूरसञ्चार सेवाको रोयल्टी छलियो ।’ दूरसञ्चार सेवा प्रदायकले आफ्नो आयको ४ प्रतिशत रोयल्टी बुझाउनु पर्थ्यो, तर काठमाडौं बाहिरका कम्पनीहरुले दूरसञ्चार सेवाको अनुमतिपत्र लिएका थिएनन् । इन्टरनेट सेवामा प्रदायकको लाइसेन्स नलिएका ती कम्पनीले ४ प्रतिशत रोयल्टी पनि बुझाएका थिएनन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले पनि कम्पनीलाई यस्ता कम्पनीबारे स्पष्ट निर्देशन दिएको थिएन । ‘त्यतिबेला हाम्रो गल्ती थिएन भन्ने हैन, हामीले प्रष्ट भएर त्यो काम गर्नुपर्ने थियो,’ दिलिप भन्छन्, ‘तर, सिक्दै जाने क्रममा त्यस्तो भइदियो, हामीलाई त्यो सयममा सच्चिने मात्रै विकल्प थियो ।’

वर्ल्डलिंक आफूले गरेको गल्तीको सजाय भोग्न तयार भयो । विभागले बिगो करिब २५ लाख हुने हिसाव निकाल्यो ।

विभागका तत्कालीन महानिर्देशक भरत सुवेदी (अख्तियारको फन्दामा परेका) अर्कै मनसाय देखाए । त्यसपछि कम्पनीमाथि अरु खालका आरोपहरु पनि थपिए । ३० करोड बिगो निकाल्ने धम्की बिभिन्न च्यानलबाट आए ।

‘हामीलाई ध्वस्त बनाउने भन्दै बार्गेनिङ गर्न खोजियो, हामीलाई दैनिक तारेख धाउन बाध्य पारियो’, दिलिप भन्छन्, ‘६ महिना बिभाग धाएपछि मैले भनें, ‘मलाई थुन्ने भए थुन्नुस्, के–के जफत गर्नपर्छ गर्नुस् भनेँ ।’

त्यतिबेला कम्पनी नै बन्द गर्नेसम्मको अवस्था आयो । सञ्चारमाध्यममा पनि कम्पनीको पक्ष/विपक्षमा समाचारहरु आए । ब्यापार डामाडोल भएपछि दिलिपलाई फेरि अमेरिका नै फर्कौं कि जस्तो लागेको थियो ।

‘मास्टर्स र पीएचडी गर्न जाउँ भन्नेमा पुगिसकेको थिएँ’, उनी सम्झन्छन्, ‘तर, एकपटक लडेरै हेर्छु भन्ने सोचले जित्यो ।’

उनी मुद्दा लड्न कस्सिए । पुनरावदेन अदालतमा मुद्दा जितेपछि ६ महिना बन्द भएको कम्पनीको खाता खुल्यो । ‘त्यतिबेला विभागले आवश्यकभन्दा बढी चलखेल गरेको बुझेपछि धेरै पक्षबाट सहयोग पाउँन थालेँ’, दिलिप भन्छन्, ‘जेल पर्नसक्ने अवस्थाको नजिक पुगेर अन्ततः जोगिएँ ।’

एकाकएक जागेको आशा

राजस्वको विवादको सामना गर्दागर्दै पनि दिलिपले कम्पनी बचाउन विभिन्न विकल्पहरु सोचिरहेका थिए । त्यतिबेला चीनको एक कम्पनीले केबल नेटवर्कमा राख्न निकालेको नयाँ खालको स्विच कम्पनीका लागि ‘मरुभूमिमा पानीको मुहान’ भेटिएजस्तै भयो । त्यसलाई ल्याएर कम्पनीले पुरानो नेटवर्कमा काठमाडौंका ३५ सय वटा स्विचहरु बदल्यो ।

स्विच बदलेपछि सेवाको गुणस्तर बढ्यो । त्यतिबेला कम्पनीले १० एमबीपीएसको घरेलु सेवा ल्यायो । त्यतिबेलासम्म घरेलु सेवा १/२ एमबीपीएसमा मात्रै हुन्थ्यो ।

बजारले फेरि वर्ल्डलिंकलाई मन परायो । स्विचको प्राविधिक परिवर्तनकै भरमा फेरि कम्पनीले बजारमा ‘कम ब्याक’ गर्यो । कन्ट्रोल रुममै बसेर ग्राहकको समस्या पत्ता लगाउन सकिने विशेषतासहितको त्यो ‘म्यानेज्ड स्विच’ नै कम्पनीका लागि बरदान बनिदियो ।

त्यसपछि भने वर्ल्डलिंकले पछाडि फर्किएर हेर्नुपरेन । त्यो नै वर्ल्डलिंकको व्यवसायमा आएको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ थियो ।

२०१४ मा कम्पनीले एउटा ठूलो निर्णय लियो, फाइबर अप्टिकलमार्फत ग्राहकलाई सेवा दिने । त्यतिबेला पुरानो तामाको तारको केबल नेटवर्कले नै गज्जब काम गरिरहेको थियो ।

तर, कम्पनीकै कर्मचारीहरु त्यसलाई माया गरेर बस्न नहुने पक्षमा उभिए । दिलिपलाई फाइबरमा जाने निर्णय लिन सहज थिएन । किनकी त्यसमा ठूलो लगानी गर्नुपर्ने थियो भने राम्रो काम गरिरहेको केबल निकालेर फाल्नु पनि पर्ने थियो ।

तर, दिलीप सहमत भए कि चलिरहेको पुरानो केबल नेटवर्क पनि जोगाड प्रविधि नै थियो । प्रविधिमा जसले पहिले कदम चाल्छ त्यो कम्पनी नै सफल हुन्छ भनेर बुझेका दिलिपले नयाँमा जाने निर्णय लिन ढिलाइ गरेनन् । वर्ल्डलिंक तामाको तारमा फसेर बस्न नहुने निष्कर्षमा पुग्यो ।

ग्राहकलाई स्तरीय सेवा दिनकै लागि भनेर कम्पनीले काठमाडौंमा एकैपटक फाइबरमा १ अर्ब लगानी गर्यो । त्यतिबेलासम्म वर्ल्डलिंक ठूलो कम्पनी भइसकेको पनि थिएन । १०० करोड ऋण लिएर सेवामा जानु कम्ता चुनौतीपूर्ण थिएन । यो जोखिमलाई दिलिपले कर्म र धर्म माने ।

त्यसपछिका वर्षहरुमा कम्पनीले लगानी बढाउँदै लग्यो । ग्राहकले पनि फाइबर सेवालाई रुचाए । ३ वर्षअघि कम्पनीले इन्टरनेट सेवामा नेपाल टेलिकमलाई जित्यो । टेलिकमसँग अहिले डेढ लाख हाराहारीमा फिक्स्ड लाइन इन्टरनेट ग्राहक छन् भने वर्ल्डलिंकसँग ४ लाखभन्दा बढी ।

साढे १२ सय करोडको कम्पनी

कम्पनीले अहिले ९० प्रतिशत नगरपालिकामा फाइबरमार्फत नै सेवा दिइरहेको छ । वायरलेस प्रविधिबाट अन्य क्षेत्रमा सेवा दिइरहेको छ । कर्णाली प्रदेशमा पनि दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार परियोजना अन्तरगत वायरलेस इन्टरनेट सेवा दिइरहेको छ । त्यो परियोजना भिस्याट प्रयोग नगरी जोडिएको छ, जसमार्फत स्तरीय सेवा दिन सकेको दावी कम्पनीको छ ।

अहिले सबै इन्टरनेट सेवा प्रदायकमाझ एक तिहाइ, ब्यान्डविथ ट्राफिकका आधारमा ४३ प्रतिशत, प्रयोगकर्ताको संख्याका आधारमा ३३ प्रतिशत र फाइबरमार्फत सेवा दिनेका आधारमा ५५ प्रतिशत बजारको सेयर वर्ल्डलिंकसँग छ । अहिले समान्य अवस्थामा वर्ल्डलिंकका एउटा ग्राहकले महिनामा औसत १ सय जिबी प्रयोग गर्छन् । लकडाउनमा त्यो बढेर १५० जिबीसम्म पुग्यो ।

अब वर्ल्डलिंक फिक्स्ड मोबाइल इन्टरनेट सुरु गर्न चाहन्छ । कम्पनीलाई मोबाइल जसरी भ्वाइस सेवामा जानु छैन । तर, एनसेलले जसैगरी वर्ल्डलिंक पनि फिक्स्ड लाइनको डाटा सेवा दिन चाहन्छ ।

यसअघि सरकारले छुट्याएको फ्रिक्वेन्सीको लागि छिट्टै बोलकबोल हुनपर्ने बताउँछन् दिलिप । त्यसो भएमा ग्रामीण क्षेत्रका निम्न वर्ग र आयका व्यक्तिलाई सेवा दिन सकिने उनको विश्वास छ ।

कम्पनीमा अहिले विदेशी लगानी पनि आएको छ । बेलायतको विकास वित्त संस्था (सीडीसी)ले लामो समय लगाएर कम्पनीको ड्यु डेलिजेन्स अडिट (डीडीए) गरेर एक अर्ब ३५ करोड लगानी गरेको छ । सीडीसीले वर्ल्डलिंकको १२ सय ५० करोडको मूल्यांकन (कम्पनी भ्यालु)लाई मान्यता दिएको छ ।

‘यो लगानी आएपछि हाम्रो एकाउन्टिङ सिस्टम लगायत कम्पनीको विश्वसनीयता अन्तर्राष्ट्रिय रुपमा उत्ृकष्ट भएको प्रमाणित भएको छ,’ दिलीप भन्छन्, ‘विगतमा जसरी हामीमाथि करका सवालहरु आएका थिए, अब त्यस्ता शंका/आशंकाहरु रहेनन् ।’

सस्तो र गुणस्तरीय सेवाको चुनौती

अहिले वर्ल्डलिंक बजारको नम्बर एक इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी) हो । कम्पनीका अनुसार नेपालमा अहिले भिडियोमा ग्राहकको बढी रुचि छ । नेपालमा भित्रिनेमध्ये ८० प्रतिशत इन्टरनेट ब्यान्डविथको खपत भिडियोमै हुन थालेको छ । त्यसैले इन्टरनेटको गणस्तरको सवाल ग्राहकको प्रमुख मुद्दा हो ।

फाइबरमार्फत सेवा थालेपछि पहिलेकोजस्तो धेरै गुनासो आउन छाडेको छ, ग्राहक पनि बढ्दैछन् । तर, कम्पनी सेवाको गुणस्तर सकेसम्म बढाउने पक्षमा छ । पोलमा तारको गन्जागोल स्थिति, राउटरको क्वालिटी, भवनभित्र राउटर राखिने स्थान, वरपरको धेरैवटा एक्सेस पोइन्ट, ग्राहकले प्रयोग गर्ने डिभाइसको क्वालिटीका कारण ग्राहकले चाहेकोजस्तो स्पीड दिन पाउन नसकेको दिलिप बताउँछन् । यसमा खर्च, जनशक्ति र प्रविधि लगायतले असर गरिरहेको उनको भनाइ छ ।

अहिले पनि सेवालाई सहज पहुँचयोग्य, प्रभावकारी र सस्तो बनाउन लागिपरेको दावी कम्पनीको छ । ‘धेरैपटक कम्पनी बन्द गर्नुपर्नेसम्मका अवस्था आए, तर हामी सधैं ग्राहकलाई सन्तुष्ट पार्नुपर्छ भनेर लागिरह्यौं,’ उनी भन्छन् ।

कम्पनी अहिले ग्राहकलाई थप के दिने भन्ने सबभन्दा ठूलो चुनौतीमा छ । इन्टरनेटसहित टेलिभिजन सेवा दिइरहेको कम्पनीले थोरै मूल्यमा अझै धेरै केही दिन सकिन्छ भनेर योजनाहरु बनाइरहेको दिलीप बताउँछन् ।

एक पटक पढ्नुहोस