पनौती नगरपालिकालाई एक महिलाको सुझाव:
नेपालको संविधान २०७२ ले पनि छाडा पशु चौपाया व्यवस्थापन र पशु प्रचाप्रसारको सम्पूर्ण जिम्मा स्थानीय सरकारलाई दिएको छ । त्यसो हुनाले सकिन्छ भने नगरपालिका आफैंले सकिन्न भने अरु नगरपालिकाहरु सहितको समन्वयमा छाडा पशु चौपाया लाई व्यवस्थापन गर्ने पो होकी मेयर साब ?
शान्ति बन्जरा काभ्रेपलाञ्चोक । पनौती बसपार्कमा केही दिन देखि अशक्त अवस्थामा रहेको गाईको बाछोलाई स्थानीहरुले उद्धार गरि खुल्ला ठाउँमा लगे । बिरामी भै खानपिन गर्न समेत नसक्ने अवस्थामा रहेको अन्दाजी पाँच/छ महिनाको त्यो बाच्छो केही दिन अघि सम्म सडकमा हिड्दै थियो । केहि दिन अघि पनौती मल्पीमा पनि एउटा विरामी बाछोलाई मर्निङवाक गएका केही युवाहरुले पानी खुवाउदै गरेको दृश्य सामाजिक सञ्जालमा फैलिएको थियो । बाटो तथा खुल्ला ठाउँमा अलपत्र छाडीएका बाच्छाहरुहको विजोग ठाउँ ठाउँमा देखिराखिन्छ ।
प्रायः गाउँघरमा गाई पाल्ने किसानहरुले बाच्छी भए राम्रो संग पाल्ने बहर भए एक/डेढ महिनामै बाटो, जंगल तथा अन्य खुल्ला ठाउँमा लगेर अलपत्र छोड्ने गरेको पाइन्छ । बहर पाल्नको लागि लैजाने भन्दै लिन आउनेहरु पनि किनेर लैजादैनन् । कृषकसंग उल्टो गाडी भाडा, खाजा खर्च भने एक/दुई हजार भन्दा बढीनै पैशा लिएर लैजान्छन । अनि उनिहरुले अलि पर मानिसहरुले नदेख्ने गरि लगिएको बाच्छालाई सार्वजनीक स्थानमा अलपत्र छोडेर जान्छन । बहर किन्न आउने भन्ने यस्ता मानिसहरुले महिनामा १०/१५ हजार यसैगरि कमाउने गरेको पाइन्छ ।
तस्बिरमा छाडा छोडिएको बिरामी पशु चौपाया पनौती बजार तर्फ । देशका अधिकाश किसानहरुको जस्तै यहाँका किसानहरु पनि व्यवसायीक भन्दा पनि परम्परागत र निर्वाहमुखी कृषि पेशा गरिरहेका छन् । केही किसानहरु व्यवसायीक तरकारी खेति प्रति आकर्षित भए पनि अधिकाश किसानहरु परम्परागत कृषि पेशामै छन । यहाँका कृषकको नियमित आम्दानीको एक स्रोत पशुपालन हो । पनौतीका अधिकांश किसानहरुले गाई पालेका छन् । अहिले गाई पालनको प्रमुख समस्या थारो, बुढ्यौली र बहरको व्यवस्थापन रहेको छ । भैसिको पाडा-पाडी होस वा दुधालु र थारो विक्रिको लागि कुनै समस्या छैन । पैशा धेरथोरको कुरा मात्र हो । गाई पालनमा भने बुढ्यौली, थारो र बहर व्यवस्थापन अत्यन्त चुनौती पुर्ण रहेको पाईन्छ ।
गाउँघरमा गाई नपालि पनि हुदैन । धार्मिक रुपमा पनि गाईको दुध, दहि, ध्यु, गोबर, मुत सबै महत्वपुर्ण छ । दुध विक्रिवाट दुई/चार पैशाको आम्दानीको स्रोत पनि छ । गाउघरमा खेतिपाति गर्ने किसानका लागि नभै नहुने मल उत्पादनको लागि पनि गाई पाल्नुपर्ने छ ।
अतः गाई पालनको प्रमुख समस्यामा रुपमा रहेको बाच्छा-बाच्छी तथा बुढ्यौली दुध नदिने गाई व्यवस्थापनको लागि नगरपालिकाले ध्यान दिनु जरुरी छ । यसको लागि खासै धेरै बजेटको पनि आवश्यक पर्दैन । मात्र व्यवस्थापनमा विशेष ध्यान दिए पुग्छ । वन जंगल र पानिको स्रोत प्रशस्त भएको सार्वजनिक जग्गामा एउटा गोठको रुपमा ठुलो टहरा बनाउने । करिब एकसय वटा भन्दा बढी गाई बाच्छा बाच्छी व्यवस्थापन गर्न सकिने गरि । गाई तथा गोठको हेरचाहको लागि दुई जना कामदार राख्ने । गोठ निर्माणको लागि एक पटकमा ३०/३५ लाख खर्च हुन्छ । कामदारको लागि वार्षिक चारलाख जति खर्च हुन्छ । बेलाबेलामा पशु प्राविधिक मार्फत उपचार गराउन वार्षिक थप एकलाख जति भए पुग्छ ।
छिमेकी देश भारतको दिल्लीमा एकजना ईञ्जिनियरले बनाएको परियोजना जस्तै चार/पाँच बेत व्याए पछि गाईलाई फर्ममा ल्याउने । गाईको काम खाने र गोबर निकाल्ने आराम गर्ने । पुरै रिटार्यर लाईफ विताउने । गाईबाट उत्पादन भएको मलबाट लाखौ रुपैया आम्दानी गर्ने । यस्तो परियोजनाको त यहा कल्पना गर्न सकिदैन । तर, नगरपालिकाको अग्रसरता र व्यवस्थापनमा थोरै वजेट विनियोजन गरि गाई र बाच्छालाई यसरी एउटा एकसय वटा अटाउने गोठ बनाएर दुईजना मात्र कामदार राख्न राख्न सकेमा पनौती नगर भित्रको वुढ्यौली गाई र बाच्छाबाच्छीको राम्रो व्यवस्थापन हुन्छ । यहा व्यवस्थापन भएका गाई र बाच्छा-बाच्छीको मल कृषकहरुले राम्रो मुल्यमा खरिद गर्छन । मल विक्रिबाट घस स्याउला लगाएत गाईलाई आवश्यक खाध्यान्न खरिद गर्न पनि सकिन्छ । राम्रो व्यवस्थापनका साथ नगरले यो कार्य गरेमा यो कार्यको अरु स्थानिय तहहरुले पनि यसको अनुशरण गर्ने सम्भावना बढी छ । यो नै दीर्घकालीन र वैकल्पिक अन्तिम उपाय पनि हो । त्यसो हुनाले यस तर्फ पनि सोच्ने पो होकी मेयर साब !