एलिजाबेथका अधुरा सपना

पर्वतारोहणमा त्यतिका काम गरिन्, एलिजाबेथ हवलीले । उनको मुख्य सपना भने अधुरै रह्यो ।

नेपालमा पर्वतारोहणसम्बन्धी चार सयभन्दा बढी तथ्यांक संकलन गरी जीवनको अन्तिम समयमा नेपाल सरकारलाई सुम्पिने उनको सपना साकार भएन ।

पर्वतारोहणकी डाटाबेस नामले चिनिने उनको काठमाडौंको कपुरधारास्थित सिवेक अस्पतालमा ९५ वर्षको उमेरमा शुक्रबार निधन भयो ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक एवं नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष सुनारबहादुर गुरुङसँग उनले तथ्यांक संकलनकै क्रममा जीवनको अन्तिम कार्य सरकारलाई बुझाउने भनेकी थिइन् ।

हिमालै हिमालको देश भनेर चिनिएको नेपालमा उनी अमेरिकाबाट प्रकाशित ‘टाइम्स एन्ड लाइफ’ म्यागेजिनका लागि पर्वतारोहणसम्बन्धी रिपोर्टिङ गर्न ६० वर्षअघि आएकी थिइन् । उनी ‘रोयटर्स’ र ‘टाइम’ मिडियामा पनि आबद्ध थिइन् । उनले हिमालमै पुगेर रिपोटिङ गर्ने क्रममा वास्तविक तथ्यांक नपाएपछि ६ दशकदेखि नै ‘हिमालयन डाटाबेस संस्था’ स्थापना गरी तथ्यांक संकलन सुरु गरेकी थिइन् ।, यो खबर अजको अन्नपुर्ण पोष्टमा छ ।
पर्वतारोहण क्षेत्रको तथ्यांक राख्दै जाने क्रममा उनले ‘पर्वतारोहण बैंक’को उपनापसमेत पाएकी थिइन् । हवलीको निधनप्रति शोक व्यक्त गर्दै पर्वतारोहीहरूले हिमालको एउटा ‘खम्बा’ गुमाउनुपरेको बताएका छन् ।

विश्वभरका हिमाल आरोहणको तथ्यांकमा उनले विश्वका चर्चित र कीर्तिमानी आरोहीको विवरण, आरोहण गरिएका हिमालको महत्वपूर्ण विवरणदेखि आरोहणका लागि तय गरिएका योजना, आरोहण गाइड, आरोही र आरोहण दलका सदस्यको पूर्ण जानकारी, आरोहणको अवधि, अवस्था र आरोहण सम्पन्न भए÷नभएको पुष्टि, मौसमको अवस्थालगायत सम्पूर्ण जानकारी राख्दै आएकी थिइन् । उनले नेपालको तर्फबाट मात्र नभई सबै क्षेत्रबाट हिमाल आरोहण गरेको तथ्यांकसमेत राखेकी छन् ।

सबैभन्दा छिटो आठ घण्टा १० मिनेटमा पेम्बाछिरी शेर्पाले सगरमाथा आरोहण गरेको भने पनि उनले आरोहण नगरेको पुष्टि गरेपछि अदालतले पेम्बाछिरीको कीर्तिमान खारेज गरिदिएको थियो ।

सरकारले हिमाल आरोहणको अनुमति दिने र सफल आरोहणको तथ्यांक राख्दै आए पनि हवलीले यसखाले सम्पूर्ण जानकारी राखेर सरकारलाई सहयोग गर्दै आएकी पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले बताए । ‘पर्वतारोहण क्षेत्रको सम्पत्ति गुमेको छ, हामी दुःखी भएका छौं,’ उनले भने, ‘ सन् १९६९ देखि चिनजान भएपछि उनी हिमालमै रहेर नेपालको पर्वतारोहणसम्बन्धी तथ्यांक राख्दै आएकी थिइन् ।’ उनले सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालुलगायत विश्वका आठ हजारभन्दा अग्ला १६ हिमाल र चारभन्दा बढी साना हिमाल आरोहणसम्बन्धी तथ्यांक संकलन गर्दै आएकी थिइन् ।

आरोहणअघि आरोही, गाइड, शेर्पा र आरोहण दलका सदस्यको जानकारी लिने र आरोहण सम्पन्नपश्चात् पनि जानकारी लिएर वास्तविक अनुभवसहितको विवरण राखी पर्वतारोहीलाई सहयोग पुर्‍ याउँदै आएको शेर्पाले बताए । सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथा आरोहण गर्दा शेर्पाहरूले सरकार र शेर्पाकै रूपमा सहयोग गरेको शेर्पाले पुष्टि गरे ।

नेपालका ठूला हिमाल आरोहणको मात्र जानकारी हुने गरेको र साना हिमालको तथ्यांक संकलनमा कसैले चासो नदेखाएपछि उनले यो अभियान सुरु गरेकी थिइन् । उनले आरोहणको मिति, आरोही, त्यस अवस्थाको मौसम, आरोहण अवस्थाजस्ता विषयको जानकारीसमेत आरोहणमा संलग्न व्यक्तिसँगै भेटेर लिने गरेकी थिइन् । तर, अन्तिममा राज्यले खरिद नै गर्न नसक्ने यी महत्वपूर्ण जानकारी उनले नेपाल सरकारलाई हस्तान्तरण गर्न भने पाइनन् ।

सन् १९२३ मा जन्मिएकी हवली ३७ वर्षको उमेरदेखि नेपालमै रहेर काम गर्दै आएकी थिइन् । पर्यटन विभागमा विवादास्पद रहेको रेकर्डसमेत प्रमाणसहित यथार्थ बुझाई उनले केही मुद्दा छिनोफानोमा समेत सहयोग पुर्‍ याएकी नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङले बताए ।

विश्वभरका हिमाल आरोहणसम्बन्धी तथ्यपूर्ण जानकारी उनीबाहेक अरूसँग नभएको समेत उनले दाबी गरेकी थिइन् । शनिबार अमेरिकाबाट उनको आफन्त विली आएपछि उनको अन्त्येष्टि गरिने गुरुङले बताए ।

उनी नेपाल आएदेखि नै काठमाडौंको डिल्लीबजारस्थित एक घरमा बस्दै आएकी थिइन् । पहिलो सगरमाथा आरोही एडमन्ड हिलारी उनको मिल्ने साथी भएकाले नेपाल आउँदा उनी बसेकै घरमा हवली बस्ने गरेको पर्यटन व्यवसायी बताउँछन् । नेपालका लागि न्युजिल्यान्डकी अवैतानिक वाणिज्य दूतसमेत रहेकी उनको सन् १९८८ देखि २००७ सम्म नेपालबारे लेखिएका सामग्री संकलन गरी तयार पारिएको ‘द नेपाल सिन’ नामक पुस्तक प्रकाशित छ ।

एक पटक पढ्नुहोस