मकवानपुर । बागमती प्रदेशमा आजबाट ८ वटा मन्त्रालय कायम गरिने भएको छ । बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३–०८४ सुरु भएसँगै मन्त्रालयको संख्या ८ कायम गरिने जनाईएको छ । सरकारले प्रदेशमा रहेको १४ मन्त्रालयलाई घटाएर सरकारले ८ कायम गर्ने यसअघिको निर्णय कार्यान्वयन गरिएको हो ।
जसअनुसार आजबाट बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम रहने छन् ।
सोही अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय अनुसारको कार्यविभाजन गर्ने तयारी गरेका छन् । उनले प्रदेशका ६ मन्त्रीको व्यवस्थापन सहित कार्यविभाजन गर्ने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । उनका अनुसार बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय प्रभावकारीताका साथ कार्यान्वयन हुन्छ ।
‘साउन १ गतेबाट प्रदेशमा ८ वटा मात्र मन्त्रालय हुनेछन् ।
यो पहिलेकै क्याबिनेटले गरिसकेको निर्णय हो । हालका १४ जना मन्त्रीहरू ८ वटा मन्त्रालयमा मुख्यमन्त्रीले कार्यविभाजन सहित प्रदेश प्रमुखलाई गर्ने सिफारिस गर्नुहुनेछ । मन्त्री को रहने वा हट्ने निर्णय पनि उहाँलाई नै जिम्मेवारी रहेको छ ।’ उनले भने ।प्रदेश सरकारको गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्न निर्णय गरेको थियो । आगामी साउन १ गतेबाट लागु हुने गरी प्रदेशको ६ वटा मन्त्रालयहरूलाई मर्ज गर्ने सरकारको निर्णय गरेको थियो ।
