नेपाली महिलाको छाला तस्करी गरेर लिङ्ग र स्तनमा प्लाष्टिक सर्जरी

तीन वर्षअघि सुशीला थापा मुम्बइको कोठीबाट भाग्न प्रयासरत थिइन् । उनको ढाडमा एउटा घाउको ठूलै दाग पनि थियो, तर उनलाई त्यो नारकीय चौघेराबाट मुक्त हुने चाहनामा यो घाउले कुनै अर्थ राखेको थिएन । किनकी, उनी जीवित घर फर्किन पाउनुमै भाग्यमानी ठानिरहेकी थिइन्। त्यसको एक वर्षपछि उनले अर्की महिलाको ढाडमा पनि उनकै जस्तो घाउको खत देखिन्। त्यो देखेपछि उनले चासो राखिन् । पछि थाहा भयो, उनको छाला चोरी पो भएको रहेछ ।

कोठीमा बसुञ्जेल उनको छाला चोरिएको जानकारी थिएन । सुशिलालाई थाहै नदिई बेहोश पारेर छाला चोरिएको थियो। होशमा आउँदा उनले घाउ दुखेको मात्र थाहा पाइन्, कारण थाहा दिइएको थिएन ।

अर्की महिलाले २० इन्च वर्ग इन्च छाला १० हजार भारुमा बिक्री गरेकी रहिछन्। ‘म चर्को ऋणमा थिएँ, तिर्ने उपाय थिएन,’ छाला बेच्नुको कारण खोल्दै ती महिलाले उनलाई बताइन् । दलालमार्फत् छाला बेचेकी उनी सोही दलालबाटै यौन व्यवसायमा पनि सहभागी भइन्। दलालले उनलाई प्लाष्टिक सर्जरीको लागि छाला बिक्री गरिने जानकारी गराएको बताएका थिए।

सुशिला मुम्बइको नारकीय दुश्चक्रबाटबाट उम्किएर आफ्नो गृह जिल्ला सिन्धुपाल्चोक फर्किएकी थिइन्। तर गाउँमा रोजगारीको अवसर नपाएपछि फेरि काठमाण्डौको ठमेलस्थित मसाज पार्लरमा काम गर्न आइन्। पार्लरमा दक्षिण एसियाली मुलुकका ग्राहकको बढी चाप हुन्थ्यो। उनीहरु मसाजभन्दा पनि यौन सन्तुष्टिको लागि आउँथे। यी मसाज पार्लरमा एसियाली महिला जान चाहँदैनन्। आउनेहरु पनि हिमाल आरोहण र पदयात्रीहरु हुने गर्दथे।

ठमेलमा दलाल

ठमेलका गल्ली यस्ता छन्, जहाँ हरेक राति ९ बजेपछि ‘सबैथोक’ बिक्रीमा उपलव्ध हुन्छन्। नाइट क्लबहरु खुल्ला हुन्छन्। एकल र सामुहिक टोलीमा आउने ग्राहकहरु हरेक सेवा लिन सक्षम हुन्छन्। १५ वर्ष आसपासका युवाहरु पर्यटकलाई ‘नाइट लाइफ’ का सुविधाको बारेमा व्याख्या गरिरहेका भेटिइन्छन्।

रात्री घुमफिरको क्रममा एकजना दलालले यौन सेवासँगै आफूले महिलाको छालासमेत उपलव्ध गराउन सक्ने जानकारी दिए। ‘५० हजार रुपियाँ दिए हुन्छ, तर कस्तो रुपको मानिसको छाला चाहिने हो, तस्वीर देखाउनुस्, म्याच गरेर छाला उपलव्ध गराउँला, ती दलालले भने।’ उनले रक्त समूह र मेडिकल रिपोर्ट पनि माग गरेका थिए। दुई दिनपछि नमुना छाला उपलव्ध गराउने र त्यसको लागि बैना रकम लिएर आउनुपर्ने उनको सर्त थियो।

दलालको सञ्जाल र फर्जी कागज

प्लाष्टिक सर्जरीको बजारमा मानव छालाको उच्च माग छ। एक सय वर्ग इन्चको छालाले ५० हजारदेखि एक लाख रुपियाँ भारुसम्म पाउँछ, जुन नयाँ दिल्ली र मुम्बइको मूल्य हो। छाला आपूर्तिको लागि दलालहरु सक्रिय छन्, नेपालको गाउँदेखि भारतीय सहरसम्म। नेपाली गाउँबाट एकजना दलालले ‘छालाधनी’ ल्याउँछन्, सीमा पुगेपछि भारतीय दलालले ‘ह्याण्डल’ गर्छन्। तेस्रो तहको दलालले चिकित्सककोमा लगेर छाला निकाल्छन्।

‘तर महिलाले आफूले स्वेच्छाले छाला दान गरेको, नगद लिएर बिक्री नगरिएको भन्ने कागजमा सहीछाप गर्नुपर्छ,’ मानव अङ्ग तस्करीमा सजाय भोगिरहेका ४० वर्षीय प्रेम बजगाईले भने। उनी मृगौला तस्करी अपराधमा गत वर्षदेखि काभे्रपलाञ्चोक जिल्ला कारागारमा थुनिएका छन्।

मानव अङ्ग बिक्री नेपाली कानुनमा वर्जित छ। तर फर्जी कागजातको आधारमा नेपाल र भारत दुबैतिर मानव अङ्ग बिक्री भइरहेको छ। ‘मलाई विश्वविद्यालयका केही विद्यार्थीहरुले फर्जी कागजात बनाउन सहयोग गरेका थिए,’ कारागारमै बजगाईले भने।

बजगाई मृगौलासँगै छाला पनि बिक्री गर्दथे। ३० हजारदेखि ५० हजार रुपिँयासम्म लिएर उनी छालाको नमूना तस्करी गर्दथे। जुन नमूना दोस्रो तहका दलालसमक्ष पुग्दथ्यो। छाला दाता महिलालाई प्रति नमूना पाँच हजार रुपिँया दिइन्थ्यो। ती नमूना छाला प्रयोगशाला परीक्षण गरिन्थ्यो, उपयुक्त लागे तन्तु प्रशोधन प्रविधिको लागि ठूला प्रयोगशालामा पठाइन्थ्यो।

लिङ्ग र स्तनमा प्रयोग

ती ठूला प्रयोगशालाले संयुक्त राज्य अमेरिकाजस्ता मुलुकमा निर्यातसमेत गर्न पाउने लाइसेन्स लिएका हुन्छन्। अमेरिकामा छाला तन्तुबाट एल्लडर्म तथा अन्य यस्तैखाले वस्तु उत्पादन गरिन्छ। यी उत्पादन पुरुष लिङ्गको साइज बढाउने, महिलाको स्तन साइज बढाउने, ओठ समायोजन गर्ने, आगोले डढेको भाग छोप्नेजस्ता काममा प्रयोग गरिन्छ।

मानव अङ्ग व्यवसाय निकै लोभलाग्दो ढंगमा अघि बढेको बजगाई बताउँछन्। अहिले संगठित रुपमा मानव अङ्ग तस्करी सञ्जाल स्थापित भएको उनको भनाइ छ। दलालहरुको विभिन्न तह बनेका छन्। उनको जिल्ला काभे्रमा मात्रै तीन सयभन्दा बढी मृगौला बेचिएको उनी अनुमान गर्छन्।

मानव छाला बिक्री गैह्रकानुनी भएको काभे्र जिल्ला प्रहरी प्रमुख पूजा सिंह बताउँछिन्। ‘तर अहिलेसम्म छाला बिक्री वा चोरियो भनेर उजुरी गर्न आएका छैनन्,’ उनले जानकारी दिइन्।

‘कसले उजुरी गर्ने? जहाँ मान्छेको जीवनको कुनै मूल्य छैन,’ मृगौला बेचिएकी रेखा भन्छिन्, ‘मेरो आफ्नै आँखाले देखेको छु, यौन सन्तुष्टि दिन नसकेको झोकमा एकजना ग्राहकले एउटी महिला साथीको दुई वर्षीय छोराको जिब्रोमा चुरोट झोसिदिएका थिए। अहिले सात वर्षको भयो, अझै राम्रो बोल्न सक्दैन।’ मुम्बइ र कोलकाताको वेश्यालयबाट उद्धार गरिएकी रेखा वेश्यावृत्तिसँगै मृगौला बेच्न पनि बाध्य भएकी थिइन्। उनको पनि छाला चोरिएको थियो।

उनका अनुसार, छाला निकाल्ने क्रममा महिलालाई औषधि र सिरिञ्ज लगाएर बेहोस बनाइन्छ। कतिपय देहव्यापारका कोठीमारुमा त महिलालाई जबर्जस्ती बेडमा बाँधेर बेहोस बनाइने र छाला निकाल्ने गरिएको छ।

पहिला आफ्नै, पछि अरुको

नुवाकोटकी ४० वर्षीया कुसुम श्रेष्ठले दलालमार्फत् छाला बेचिन्। अहिले उनी नुवाकोटमै बस्छिन्। उनी दलालहरुको निकै बलियो सञ्जाल हुने जानकारी दिँदै भन्छिन्, ‘उनीहरुको विरुद्ध प्रहरीमा उजुरी गरे हाम्रो परिवारलाई नै तारो बनाउँछन्।’ कुसुमजस्ता व्यक्तिहरु वैकल्पिक आम्दानीको लागि पनि अङ्ग बेचबिखनमा उद्यत हुने गरेका छन्। उनीहरु पहिला आफ्नै अङ्ग बेच्छन्, पछि यही कारोबारका दलाल बन्छन्। काभ्रेका बजगाईको हकमा यही लागू भयो। पहिला उनी र उनकी श्रीमतिले मृगौला बेचे। पछि अङ्ग बेच्दा राम्रो कमाइ हुने रहेछ भन्ने महसुस गरेर अरुलाई पनि लोभ्याउन थाले। ‘एउटा मृगौला भए बाँचिहालिन्छ, अर्को बेचे भइहाल्यो नि’ उनीहरु यसै भन्थे। सोझा गाउँले सहजै फकिन्थे।

जनअधिकार संरक्षण मञ्च, काठमाण्डौका सतिश शर्मा छाला बिक्रीमा वेश्यावृत्तिबाट बाहिर आएका महिलाहरु बढी सहभागी भएको बताउँछन्। धुमपान र मद्यपान नगर्ने महिलाहरुको छालाले अझै बढी भाऊ पाउने उनको अनुभव छ। नेपाली महिलाको छाला सफा र कान्तिमय हुने भएकोले उनीहरुको छालाले अन्तर्राष्ट्रिय भाऊ पाउने गरेको उनको विश्लेषण छ।

उदाउँदो बजार

‘मृगौलाजस्ता ठोस अङ्गको तुलनामा छालाजस्ता तन्तुको व्यापार चम्किएको छ, खासगरी निजी क्लिनिकहरुमा’ क्वीन एस्ट्रिड मिलिटिरी हस्पिटल, ब्रसेल्सका चिकित्सक जिन पल पिर्ने भन्छन् ‘गरिब मुलुकका नागरिक यो धन्दामा बढी लागेका छन्।’मानव अङ्ग कारोबारमा सहभागी एकजना भारतीयका अनुसार, अहिले अमेरिकामा मानव अङ्ग तन्तु प्रशोधकहरुको चर्को प्रतिस्पर्धा छ। उनीहरुले दर्तावाल तन्तु बैंकबाट छाला, रक्तकोषिका आदि खरिद गर्दछन्, तर यस्ता बैंक निकै कम छन्। भारतमा पनि जम्मा तीनवटा मात्र तन्तु बैंक भएको जानकार दिँदै उनले भने, ‘अधिकांश तन्तु भारतबाट जान्छ र अमेरिकामा प्रशोधन भई विश्वभरि फैलिन्छ।’

छाला तन्तु व्यापारमा मनग्गे नाफा छ। केही सीमित उद्योगले मात्र यसको उत्पादन गर्दछ। अहिलेसम्म लाइफसेल नामक अमेरिकी कम्पनीको यो बजारमा एकछत्र राज छ, जसले छाला तन्तु, एल्लडर्म उत्पादन गर्दछ। यसको व्यापार वर्षेनि ४१ प्रतिशतले बढिरहेको छ भने मुनाफा ७२ प्रतिशतभन्दा बढी।

अहिले यसको प्रतिस्पर्धामा अरु १३ वटा कम्पनी आएका छन्। यसले गर्दा मानव तन्तुको कच्चा पदार्थ जुटाउने अस्वस्थ्य प्रतिस्पर्धा नै भएको ती भारतीय कारोबारी बताउँछन्। ‘हाम्रो बजार दिनहुँ बढिरहेको छ’ उनी खुसी हुँदै भन्छन्।

यी कम्पनीको कच्चा पदार्थ नेपाली र भारतीय गरिब नागरिकको अङ्गबाटै प्राप्त हुन्छन्। दलाल र मानव अङ्ग कारोबारको व्यवस्थित सञ्जाल बनाएकाहरुको बारेमा न त नेपाल सरकार न त भारतीय सरकार नै जानकार छ।

बल्ल जानकारी पाएँः समाजकल्याण मन्त्री

भारतीय सामाजिक संस्था भ्वाइस अफ युथले गरेको अनुसन्धानमा नेपाली महिलाको छाला तस्करी भइरहेको उल्लेख छ। प्रति २० वर्ग इन्च (एक सय ३० वर्ग सेन्टिमिटर) छाला तन्तुको एक सय ५० डलरसम्म बिक्री हुन्छ । यो छाला तन्तु महिलाको मेरुदण्ड एवं ढाडपट्टिबाट निकालिएको हुन्छ। प्लाष्टिक सर्जरीमा यो छाला निकै प्रयोग गरिँदै आएको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले नेपाली महिलाको छाला तस्करी हुने गरेको जानकारी आफूसित नभएको बताए। उनले भ्वाइस अफ युथले यही मार्च ६ मा निकालेको प्रतिवेदन पढेर स्तब्ध भएको उल्लेख गरे। ‘हामी सरकारी तवरमा तत्काल यो विषयमा छानबीन गर्नेछौं,’ उनले भने, ‘यस्तो जघन्य अपराध भेटियो भने दोषीमाथि कडा कार्वाही गरिनेछ।’

गरिब नेपाली समुदायबाट चेलिबेटीहरु यौन तथा सस्तो श्रमको लागि भारतीय बजारमा बिक्री हुँदै आएका छन् । पछिल्लो समय गरिब तथा अशिक्षित नेपाली महिला र पुरुषहरु मृगौला पनि बेच्दै आएको खबर सर्वत्र चर्चाको विषय थियो । छालाको तस्करी हुने गरेको सूचनाले नयाँ तथ्य बाहिर आएको छ।

महिला अधिकारकर्मीहरुले मानव छाला तस्करीको विषयमा तत्काल अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। गरिबी र अशिक्षाले जेलिएका नेपाली समुदायमा यस्तो जघन्य अपराधको विषयमा तत्काल चेतनामूलक अभियान चलाउनुपर्ने उनीहरुको माग छ। ‘महिला सुरक्षाको लागि सरकारले तत्काल गम्भीर कदम चाल्नुपर्छ’, शक्ति समुहकी सुनिता दनुवारले भनिन्। शक्ति समूह महिला बेचबिखन नियन्त्रण र बेचबिखनमा परेका महिलाको पुनःस्थापनामा क्रियाशील संस्था हो ।

– भ्वाइस युथ अफ इन्डिया

एक पटक पढ्नुहोस