मनकारी जोडी : जो गरिबको भोक मेट्न समर्पित छ

यतिबेला नोवेल कोरोना महामारीसँग मानव जाति संसारभर लडिरहेको छ । कोरोनाका कारण लाखौं मानिसले ज्यान गुमाई सकेका छन् । करोडौं मानिस संक्रमित छन् ।

मुलुकमा लकडाउन भएको झण्डै चारमहिना पुग्दैछ । यस अवधिमा कयौंको रोजीरोटीका माध्यम ठप्प भएका छन् । दैनिक ज्यालादारी गर्ने श्रमिक कामविहीन भएको छ । हातमुख जोर्नका लागि कयौंलाई समस्या भएको छ ।

अर्कोतिर, अव्यवस्थित क्वारेन्टिनमा खाना तथा उपचारविना मानिस आत्महत्या गर्न विवश छन् । आफ्नो वरपरका क्षेत्रमा यस्तो अवस्था नआओस् भनेर नै संकटको घडिमा गरिबको झुपडीमा पुगेर राहत बाँड्दै हिडेका छन्, समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडी ।

अन्तरजातीय विवाह गरेको यो जोडी अहिले सिरहाको लहान नगरपालिका लगायत आसपासका गरिब दलित बस्तीमा राहत उपलब्ध गराउन केन्द्रित छ । कतैबाट भोकमरीको खबर आउनासाथ दुबैजना राहत बोकेर पुगिहाल्छन् ।

सामाजिक संजालमा पनि त्यतिकै भाइरल बनेका छन् महेश र संगीता ।

लकडाउनको ६५ दिन भएको छ । महेश र संगीताको अभियानले पनि लगभग त्यतिनै दिन पूरा गरेको छ । उनीहरुको अभियान अहिले पनि जारी छ ।

आफ्नो जीवनकालमा यस्तो संकटको घडी कहिल्यै नदेखेको उनीहरुको भनाइ छ । समाजसेवी महेश चौधरी भन्छन्, ‘यसरी मानवसेवा गरेको यो नै मेरो जीवनको पहिलो अनुभव हो ।’

चैत १९ गते उनीहरू लहान नगरपालिका–२४, खप्टे डाँडामा ६० घर गरिब तथा विपन्न दलित परिवारका लागि मास्क, सेनिटाइजर र साबुन वितरण गर्न पुगेका थिए । तर, उनीहरु दुबैजनालाई त्यहाँको गरिबी र भोकमरीले फर्किनै दिएन ।

मास्क, सेनिटाइजर र साबुनमात्र होइन, बस्तीमा पेट भर्नकै लागि समस्या देखेपछि यो जोडिले राहत संकलन र वितरणमा आफूलाई समर्पित ग¥यो ।

महेश थप्छन्, ‘जीवनमा मेरो मन कसैले जित्न सकेको थिएन । एकपटक संगीताले जितिन्, दोस्रोपटक त्यहाँको गरिबीले जित्यो । निकै भावुक भएँ । त्यहाँको भोकमरीले निकै दुःखी बनायो ।’

उनका अनुसार लकडाउनको कारण खप्टे डाँडामा धेरैको घरमा चुलो बलेको थिएन । दाल–चामलको जोहो गरेर सबैको घर चुलो बाल्न आफूहरुले मद्दत गरेको उनको भनाइ छ ।

संगीता भन्छिन्, ‘कुनैबेला आफू खाना खाइरहेकै बेला मोबाइलमा फोन आउँछ । मेरो चुलो बलेको छैन, बच्चाहरू भोकै छन् भनेर ।’

त्यसपछि संगीतालाई खाना नै रुच्दैन । उकुसमुकुस हुन्छिन् । कतिखेर पुग्नु जस्तो हुन्छिन् । उनी थप्छिन्, ‘त्यसपछि खाना थालमै छोडेर राहत बोकी घर खोज्दै पुग्छु ।’

अचेल लकडाउनमा महेश र संगीताको दिनचर्या गरिब दलित तथा सीमान्तकृत विपन्न समुदायको चुलो निभ्न नदिने अभियानमै बितिरहेको छ । गरिबको भोक टार्न उनीहरु साथीभाई, इष्टमित्र र केही बोर्डिङ स्कुल लगायतका निजी संस्थाहरुसँग सहयोग मागेर राहत जुटाईरहेका छन् उनीहरु । कुनैबेला सकी–नसकी आफ्नै निजी सम्पत्तिबाट सहयोग गर्छन् उनीहरु ।

अहिलेसम्म दुई हजार दुई सय पचास घरपरिवारलाई दुई सय पचास क्विन्टल चामल उनीहरुले बाँडिसकेका छन् । एकपटकमा प्रत्येक परिवारलाई १० केजी चामल, २ केजी दाल, १ पोका नुन, १ पोका खाने तेल, आलु, भुजा र तरकारी बाँड्ने गरेका छन् उनीहरुले ।

यही महामारीको समयमा कर्णाली प्रदेशका सभामुखका लागि अढाई करोडको गाडी खरिद गरियो । राष्ट्रपति भवनमा एक करोडको कार्पेट लगाइयो, मन्त्री निवासमा ८३ लाखको जीम खाना निर्माणमा बजेट छुट्याइयो । खोज्दै जाने राज्यका ढुकुटी दुरुपयोग भइरहेका अनेकौं उदाहरण पाइन्छन् । सर्वसाधारण जनता भने खान नपाएर भोकभोकै मरिरहेका छन् ।

२०२९ श्रावण १५ गते सिरहाको लहान नगरपालिका–१ मा जन्मिएका महेश चौधरी र २०३० असोज ५ गते काठमाडौंमा जन्मिएकी संगीता माध्यमिक तह अध्ययन गर्दादेखिकै साथी हुन् । संगीताको जन्म काठमाडौंमा भए पनि उनको मूल घर सिरहा नै हो । महेश र संगीता लहानको पशुपति स्कूलमा पढ्दादेखि कै साथी हुन् । दुवैले आपसमा दोस्रो विवाह गरेका हुन् ।

 

एक पटक पढ्नुहोस