After header

दुई वर्ष नपुग्दै डिएफओहरु सरुवाको तयारी, माफियाहरुको चलखेलको आरोप

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जिल्ला वन कार्यालयका प्रमुखहरुको सरुवा गर्न लागेको मन्त्री विकास लम्सालले बताएका छन् । दुई वर्षभन्दा कममा प्रमुखहरुको नियम भएपनि मन्त्रालयको आवश्यकताअनुसार डिएफओहरुको सरुवा गर्न लागिएको मन्त्री लम्सालले बताएका हुन् ।

यो सरुवामा चलखेल त छैन भन्ने प्रश्नमा उनले भने, ‘यसमा कसैको केहि पनि चलखेल छैन । यो मन्त्रालयको नियमित गतिविधिमा पर्छ । कुनै कर्मचारीले त्यसो भनेको छ भने उहाँमा समस्या छ । कर्मचारी त मन्त्रालयले आवश्यक ठानेको ठाउँमा जाने हो । मैले रोजेको ठाउँ हुनुपर्छ र म काम गरिरहेको ठाउँमा नै सधैँ बसिरहन पाउनुपर्छ भन्ने कुरा पनि त तर्क संगत भएन ।’

यता दुई वर्ष नपुगी सरुवा हुने कुरा कर्मचारी ऐन विपरित रहेको एक जिल्लाका डिएफओले बताए । ती डिएफओको अनुसार पछिल्लो समय सार्वजानिक वनका जग्गालाई निजीमा दर्ता गर्ने भन्दै केही भूमाफिया लागिरहेको र जिल्ला वन कार्यालयका प्रमुखहरुले माफियाहरुको चाहनाअनुसार कामन गर्दा उनीहरुको सरुवा हुन लागेको हो । उनले आफूलाई बारम्बार माफियाहरुले तेरो सरुवा गरेर देखाउँछु भनेर धम्की दिएको दाबी पनि गरे ।

गण्डकी प्रदेश बनमन्त्रालयका सचिव दीपक खरालले भने तत्काल केहही जिल्लामा डिएफओको पदपुर्ती गर्नुपर्ने भएकाले अहिले सरुवाको कुरा चलेको बताएका छन् । सचिव खरालकाअनुसार अहिले जिल्ला वन कार्यालय नवलपुर प्रमुखविहीन भएको छ । अन्य प्रदेशको अभ्यासलाई हेर्ने हो भने पनि एक वर्षपछि सरुवा नै नभएपनि काज मिलाएर डिएफओहरुको सरुवा गरिएको खरालले बताए ।

कर्मचारी समायोजन पश्चात कर्मचारीको हेरफेर र सरुवा गर्ने अधिकार प्रदेशको मुख्यमन्त्री कार्यालयसँग रहँदै आएको छ ।

एक पटक पढ्नुहोस