After header

फिल्म साउथ एसियाको एघारौं संस्करण अर्को सातादेखि

बीस वर्षदेखि सन्चालित द्विवार्षिक डकुमेन्ट्री फिल्म महोत्सव ‘फिल्म साउथएसिया’ कात्तिक १६ देखि ललितपुर पाटनस्थित यलमाया केन्द्रमा सुरु हुने भएको छ। ‘वृत्तचित्रस् एक साक्षी’ नाराका साथ हुन लागेको फिल्म साउथ एसिया चार दिनसम्म चल्नेछ।

सन् २०१५ यता बनेका दक्षिण एसियाका समसामयिक विषयमा केन्द्रित ३०० सयभन्दा बढी डकुमेन्ट्रीमध्येबाट छानिएका उत्कृष्ट ६३ डकुमेन्ट्री प्रदर्शन हुनेछन्। फिल्म साउथ एसिया २०१७ ले यस क्षेत्र र विश्वका उत्कृष्ट सिनेकर्मीहरूलाई एकै मञ्चमा ल्याएर डकुमेन्ट्रीका बारेमा छलफल गर्ने र डकुमेन्ट्री निर्माणलाई प्रभावकारी बनाउने उद्देश्य राख्छ।

यो वर्ष प्रदर्शन हुने ६३ मध्ये ४५ वटा डकुमेन्ट्रीले पाँचवटा पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट हुने डकुमेन्ट्रीले २,००० अमेरिकी डलर राशीको रामबहादुर ट्रफी पाउनेछ भने द्वितीय हुनेले १,००० अमेरिकी डलर पुरस्कार जित्नेछ। त्यस्तै निर्देशकको पहिलो डकुमेन्ट्रीमध्येमा उत्कृष्ट हुनेले १,००० अमेरिकी डलरको तारेक मसूद पुरस्कार, बालबालिकाको विषयकेन्द्रित उत्कृष्ट विजेताले १,००० अमेरिकी डलरको युनिसेफ पुरस्कार र विद्यार्थीहरूले निर्माण गरेकामध्येको उत्कृष्टले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्।

पत्रकार कुन्द दीक्षित संयोजक र पाकिस्तानी सिनेकर्मी फरजाद नावी र भारतीय पत्रकार राजश्री दासगुप्ता सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट डकुमेन्ट्री छान्नेछ। सो समितिले छानेका पुरस्कृत र अन्य प्रतिनिधि डकुमेन्ट्रीहरूलाई २०१८ मा ‘ट्राभलिङ फिल्म साउथ एसिया’को नामबाट दक्षिण एसिया र विश्वका अन्य भागहरूमा प्रदर्शन गरिनेछ।

 

‘फिल्म साउथ एसिया २०१७’ मा दुई विशेष खण्डमा प्रदर्शन गरिनेछ। अघिल्लो पटक सुरू भएको ‘विद्यार्थी वृत्तचित्रहरू’मा भावी सिनेकर्मीहरूको ६ वटा डकुमेन्ट्री प्रदर्शन गरिनेछ भने ‘विद्रोहका वृत्तचित्र’ खण्डमा दक्षिण एसियाली देशमा प्रतिबन्धित वा विद्रोहसँग सम्बन्धित १२ वटा डकुमेन्ट्री प्रदर्शन गरिनेछ। ‘विद्रोहका वृत्तचित्र’ खण्ड दक्षिण एसियामा खुम्चँदै गएको आलोचनात्मक सार्वजनिक वहस क्षेत्रभित्रबाट वाक तथा अभिव्यक्ति स्वतन्त्रताको सीमालाई फराकिलो बनाउने प्रयास भएको आयोजक संस्था द साउथ एसिया ट्रस्टले जनाएको छ।

सेतो पाटि बाट साभार

एक पटक पढ्नुहोस