नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच शुक्रबार बिहान भएको भेटवार्ताबाट वर्तमान संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकालिएको छ । थापा निवास बूढानीलकण्ठमा भएको भेटवार्ताका क्रममा दुवै नेता अहिलेको संसदीय व्यवस्था असफल सिद्ध भएको भन्दै विवादित विषयमा जनमत सङ्ग्रहमा गइनुपर्नेमा सहमत भएका हुन् ।
राप्रपाले सङ्घीयता, धर्मनिरपेक्षता, राजतन्त्रलगायतका विषयमा जनमत सङ्ग्रहको माग गर्दै आएको छ भने विप्लवले पनि वैधानिक समाजवादका लागि जनमत सङ्ग्रहमा जानुपर्ने बताउँदै आएका छन् । पछिल्ला दिनमा उनले यसका लागि निरन्तर लबिङ गर्दै आएका छन् । विप्लव समूहले विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटवार्तामा जनमत सङ्ग्रहको कुरा उठाउने गरेका छन् । यही क्रममा शुक्रबारको भेटमा पनि विप्लवले अहिलेको व्यवस्थाले राजनीतिक निकास नदिने भन्दै जनमत सङ्ग्रहमा जानुपर्ने धारणा थापासँग राखेका थिए ।
भेटमा सहभागी राप्रपा नेता बुद्धिमान तामाङले अहिलेको व्यवस्थाप्रति विप्लवमा गम्भीर चिन्ता पाइएको र त्यसको निकासका लागि जनमत सङ्ग्रह उपयुक्त विकल्प हो भन्ने धारणा राखेको बताए । ‘अहिलेको व्यवस्था दलाल पुँजीपतिको जस्तो भयो, त्यसकारण जनताले नै नेतृत्व गर्ने वैज्ञानिक समाजवादको व्यवस्था हुनुपर्छ भन्ने विप्लवको धारणा रह्यो,’ सो भेटमा राप्रपाको तर्फबाट सहभागी भएका तामाङले रातोपाटीसँग भने, ‘हामीले पनि अहिलेको व्यवस्था फेल भइसकेको निष्कर्ष सुनायौँ । प्रतिनिधिसभा विघटन लगायतका विवादमा अदालतले जुन किसिमको व्याख्या गरेको छ, यसलाई हेर्ने हो भने व्यवस्था फेल भएको सङ्केत हो । ’
