काँग्रेसले गण्डकी प्रदेशमा मन्त्री हुनेको नाम टुंगो लगाएको छ । कांग्रेसबाट कास्कीका बिन्दु कुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ, र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका हुन् ।
काँग्रेसमा व्यक्तिपिच्छेका गूटउपगूटका कारण मन्त्री चयनमा विवाद भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो ।
यसअघि कांग्रेसका तर्फबाट कुमार खड्का सरकारमा सहभागि भएका छन् । काँग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानुन, सञ्चार तथा प्रदेशसभा मामिला, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको छ ।
काँग्रेसले तीन जनाको नाम छनोट गरेपनि कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो भने लगाएको छैन । यसअघि माओवादीले पनि बिहीबार तीन मन्त्रीको टुंगो लगाएको थियो ।
माओवादीले रामजी बराल (जीवन) अर्थमन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापा वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा नाम टुंगो लगाएको हो ।
काँग्रेस र माओवादीका तीन÷तीन जनाले आजै शपथ लिँदै छन् ।
गण्डकी प्रदेशमा रहेका ११ मन्त्रालयमध्ये पाँच मन्त्रालय कांग्रेसले पाएको छ । यस्तै माओवादीको भागमा चार, जसपा र स्वतन्त्र सांसद राजीव गुरुङको भागमा १÷१ मन्त्रालय परेको छ ।
काँग्रेसले यसअघि जनता समाजवादीलाई २ मन्त्रालय दिने सहमति गरेको थियो । तर, जसपासँगको सहमति तोडेर काँग्रेसले उसलाई दिने भनेको मन्त्रालय आफैले राखेको छ ।
