After header

जनताको हितमा काम गर्नु सेनाको प्रमुख कर्तव्य : प्रधानसेनापति शर्मा

तेघरी, कैलाली — प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितका मूल मर्मलाई आत्मसात गरी नेपाली जनताको हितमा काम गर्नु नै सेनाको प्रमुख कर्तव्य भएको बताएका छन् ।

 

‘नेपाली सेनाका दुइवटा प्रमुख कर्तव्य र जिम्मेवारी रहेको छ,’ बिहीबार कैलालीको तेघरीस्थित भवानी दल गणमा आयोजित भूतपूर्व सैनिक सम्मेलनका अवसरमा प्रधानसेनापती शर्माले भने, ‘पहिलो, प्रमुख जिम्मेवारी देशको सुरक्षा सार्वभौम अखण्डता र नेपाली जनताको एकता प्रमुख रहेको छ भने दोस्रो, देश निर्माण, शान्ति सेनाको जिम्मेवारी रहेका छन् ।’

उनले संविधानले निर्दिष्ट गरेअनुसार नेपाली सेनाले पर्यावरण तथा वन जंगलको संरक्षण, विपद् व्यवस्थापन र शान्ति स्थापना गर्ने कामसमेत गरिरहेको बताएका छन् । ‘नेपाली सेना, अवकाशप्राप्त र बहालवालाको साझा घर हो,’ प्रधानसेनापति शर्माले भने, ‘एकदिन सबले अवकाश लिनु पर्छ । म कहिल्यै अवकाश हुँदैन भन्ने सोच गलत हो ।’

उनले समाजमा रहेर पनि माला जस्तै एकताबद्ध भएर बस्नु पर्ने बताए । ‘सेनाको राजनीति निरपेक्ष चरित्र हो,’ उनले भने, त्यो चरित्र देखाउनै पर्छ, जथाभावी संघ संगठन खोलेर क्रियाकलाप गर्नु हुँदैन, राजनीतिमा पनि इज्जत साथ रहनु पर्ने र एकताको भावना कायम गर्नु पर्दछ,’ उनले भने

सेनाको कल्याण्कारी कोषको मूल धनको एक पैसा पनि नमासिएको उल्लेख गर्दै प्रधानसेनापति शर्माले कोषको रकम चलाउन नपाइने भन्दै झन् वृद्धि हुँदै गएको बताए । ‘तपाईं हाम्रो असीमित चाहना छ, त्यो पैसा बाँड्न पाएहुन्थ्यो भन्ने पनि छ, १५ लाख प्रतिपरिवार बाँड्नु पर्छ भन्ने पनि छन्,’ उनले भने, ‘त्यो बाँड्न मिल्दैन ।’ उनले २०३४ सालमा १ करोड राखेर स्थापना गरिएको सैनिक कल्याणककारी कोषमा हालसम्म ६४ अर्ब जम्मा भएको जानकारी दिए ।

एक पटक पढ्नुहोस