पर्वत — नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चुनावमा सहभागी गराए राम्रो हुने बताएका छन् । कार्यकर्ता प्रशिक्षणका लागि सोमबार पर्वत आएका नेता नेपालले सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उक्त कुरा बताएका हुन् । समाजवादी प्रेस संगठन जिल्ला शाखा पर्वतले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
‘चुनावको मिति सार्ने हल्ला छ, गठबन्धन सरकार त्यो स्थीतिमा पुगेको हो ?’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने, ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस् । विप्लवजीको समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ । उहाँलाई स्वागत छ ।’ अध्यक्ष नेपालले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु भनेको समग्र मुलुककै लागि फाइदाजनक भएको पनि बताए ।
संविधान, लोकतन्त्र र संघीयताको रक्षार्थ गठबन्धन सरकार जन्मिएको बताउँदै नेता नेपालले आगामी संसदीय निर्वाचनपछि बन्ने सरकारसमेत गठबन्धनकै हुने जिकिर गरे । ‘ओली सरकारले संविधान खान खोज्यो, लोकतन्त्र सिध्याउन खोज्यो, संघीयता मास्न खोज्यो र शुसासनलाई समाप्त गरेर कुशासनमा देशलाई चुर्लुम्म डुबाउन खोजेका कारणले गठबन्धन आवश्यक परेको हो,’ उनले भने, ‘अहिले अर्थतन्त्र जुन अवस्थामा पुगेको छ । त्यो केपी ओली नेतृत्वको सरकारका कारणले हो ।’
अहिले देश दौडाहामा गठबन्धनको आलोचना गर्दै हिँडेका ओलीबारे बोल्दै उनले भने, ‘जो चोर उसैको ठूलो स्वर भनेको यही हो । जसले संविधान र संघियता मास्न खोज्यो । उही हिहिले ठूल्ठूलो स्वरमा गर्जिरहेको छ । त्यो गर्जनले केही गर्दैन ।’
चुनावी गठबन्धन गर्दा आफूहरुले अघिल्लो निर्वाचनमा एमलेले जितेका ठाउँहरु मागेको उनले बताए । आफूहरु एमालेसँग विद्रोह गरेर आएको सबैमा जगजाहेर रहेको बताउँदै उनले अबको स्थानीय निर्वाचनमा एमालेको हैसियत देखिने बताए । उनले भने, ‘अरु सबैको हैसियत अघिल्लो निर्वाचनमा देखिएकै छ । हामी विल्कुलै नयाँ भएकोले हाम्रो हैसियत यो निर्वाचनमा देखिन्छ ।’
पछिल्लो समय एमाले छोडेर समाजवादीमा प्रवेश गर्ने लहर चलेको बताउँदै उनले आइतबार मात्रै डोल्पामा १३ सय ८८ जना एमाले छोडेर समाजवादीमा प्रवेश गरेको दाबी गरे । नेता नेपालले पर्वतमा निर्मित साहसिक खेलहरु जीपलाइन, स्काई बृज, बन्जी लगायतको समेत अवलोकन गरेका थिए ।
