धुलिखेल/ जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन असार एकमा हुने भएको छ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराइले निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनीक गरि जानकारी दिए अनुसार निर्वाचनको लागि उमेद्वारको मनोनयन पत्र दर्ता गर्ने मिति यहि जेठ २९ गते तोकिएको छ ।
जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख र तीन महिला सहित ९ सदस्यको निर्वाचन हुन्छ । मतदाताको रुपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष रहन्छन । काभ्रेमा १३ स्थानीय तह भएकोले जिल्ला समन्वय समितिको मतदाता २६ जना रहने छन् ।
काभ्रे काग्रेसका सचिव माधव ढकालले जानकारी दिए अनुसार जिल्ला समन्वय समिति निर्वाचनमा काग्रेस एक्लैको १३ मत रहेको छ भने माओवादी केन्द्रको ८ मत रहेको छ । एमालेको ४ र एकिकृत समाजवादीको एक मत रहेको छ । एमालेले धुलिखेल नगरपालिकामा प्रमुख र पनौती, बनेपा र पाचखालमा उपप्रमुख जितेको छ । एकिकृत समाजवादीले भने मण्डनदेउपुर नगरपालिकामा प्रमुख मात्र जितेको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि मध्यबाट उमेद्वार बन्न पाउने भए पनि कार्यकारी पदमा रहेकाहरुले उमेद्वारी दिने गरेको पाइदैन । पालिका प्रमुख उपप्रमुख र वडा अध्यक्ष बाहेक वडा सदस्यहरु अध्यबाट जिल्ला समन्वय समितिमा उमेद्वारी आउने गर्छ । जिल्ला समन्वय समितिको निर्वाचनको रमाइलो कुरा के छ भने पालिका प्रमुख तथा उपप्रमुख उम्मेदवार भएनन भने उम्मेदवार स्वयंले मतदान गर्न पाउदैन ।
