काभ्रे/ काभ्रेको पनौती नगरले तीन दिनमा १० लाख ३९ हजार रुपैया आन्तरीक राजस्व संकलन गरेको छ । पनौती नगरपालिकाको आन्तरीक आम्दानीको मुख्य स्रोत रहेकोढुंगा, गिट्टी, बालुवा, वेश ग्राभेल माटो आदिको विक्रि स्रोत उपयोग शुल्क सम्बन्धि ठेक्का नपरेपछि अहिले कर्मचारी मार्फत राजस्व संकलन भैरहेको छ ।
पटक पटक सुचना प्रकाशित गर्दापनि ठेक्का नपरेपछि श्रावण १ गते देखि कर्मचारी मार्फत राजस्व संकलन भैरहेको भन्दै आन्तरीक राजस्व शाखाका लक्ष्मण मतंछेले भन्नुभयो–मंगलबार साझ चारवजे सम्म १० लाख ३९ हजार रुपैया संकलन भएको छ । रातीको समयमा बढी टिपर गुड्ने गर्छ ।
पनौती नगरको आम्दानीको मुख्य स्रोत रहेको खानीजन्य वस्तुको निकासी कर उठाउने ठेक्काको पछिल्लो समयसिमा श्रावण १० गते तोकिएको छ । यो समयसिमा भित्रमा पनि ठेक्का पर्ने सम्भावना न्यून रहेको अवस्थामा नगरले व्यवस्थित तरिकाले राजस्व संकलन गर्न तीन सिफ्टमा कर्मचारी खटाएको छ ।
पनौती नगरपालिका क्षेत्र भित्रबाट उतपादन हुने खानीजन्य बस्तुको कर संकलन गर्न वार्षिक ३२ करोड ७६ लाख रुपैयाको ठेक्का आव्हान गरेपनि ठेक्का नपरेपछि कर्मचारी खटाएर अमानतबाट राजस्व संकलन शुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले बताउनु भयो ।
कर्मचारी मार्फत कर संकलन गर्दा अनियमितता हुने गुनासो आइरहेको बेला आइतवार नगरप्रमुख रामशरण भण्डारी प्रमुख प्रशासकिय अधिकृत न्यौपाने, वडा नम्बर ८ का अध्यक्ष वेदप्रसाद वञ्जारा लगाएतको टोलिले नियमित अनुगमन गरिराख्नु भएको छ । कर रकममा हुने अनियमितता हटाउन कर संकलन केन्द्र वरिपरि देखिने गरि सिसि क्यामरा जडान गरिएको भन्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपाने भन्नुहुन्छ– सम्भावित अनियमितता रोक्न हामिले कर संकलनमा खटिएका कर्मचारीलाई कडाइका साथ निर्देशन दिएका छौं ।
क्रस चेकको लागि नगर प्रमुख संग समन्वय गर्ने गरि प्रहरी समेत परिचालन गरेको स्रोतको भनाई छ । खानिजन्य बस्तु बोकेर आउने यातायातको संख्या उल्लेख गर्नेगरि कर संकलन केन्द्र भन्दा केहि तल प्रहरीको चेकपोष्ट समेत राखिने भएको छ । साथै श्रीखण्डपुर नजिक रहेको तौलपुल क्षेत्रमा छड्के चेकजाचको लागि नगरका कर्मचारी र प्रहरी परिचालन गर्ने योजना नगरले बनाएको छ ।
कर संकलन गर्दा विलमा गाडी नम्बर का साथै समय पनि उल्लेख गरिएको छ । व्यवसायी हरुले भने सडकको मर्मत सुधार नभएको बारे नगरमा गुनासो गरिरहेका छन् । सडकको मर्मत सुधार जायज गुनासो भएको भन्दै नगर प्रमुख भण्डारीले आइतवार नै बोटोको मर्मत सुधारको लागि प्राविधिक खटाएर तत्काल मर्मत गर्न निर्देशन दिनु भएको छ । एकसाता भित्र सडक मर्मत भैसक्ने भन्दै उहाले व्यवसायीको गुनासो संवोधन हुने बताउनु भएको थियो । पनौती नगर क्षेत्र भित्र एघारवटा खानी दर्तामा रहेको नगरपालिकाले जनाएको छ ।
