प्युठान / प्युठानको स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा जीप दुर्घटना हुँदा एकजना महिलाको घतनास्थलमै मृत्यु भएको छ, भने १४ जना घाइते भएका छन् । स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा शनिवार मध्यान्ह ब्रेक फेल भएर जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।
स्वर्गद्वारी मन्दिरबाट भिङ्ग्री तर्फ आउंदै गरेको लु३च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका -३ निवासी ३२ वर्षिया गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाईते मध्य ९ जनाको अबस्था गंभीर रहेको छ । भिङ्ग्रीमा प्राथमिक उपचारपछी घाईतेहरुलाई बुट्वल रिफर गरिएको प्रमुख प्रहरी नायव उपरीक्षक थापाले बताए । रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्व गरेर शुक्रवार तिर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए। जीपमा १७ जना सवार थिए। दुर्घटनाको बारेमा थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
