काभ्रे/ इलाका प्रहरी कार्यालय बनेपाले ९ केजी आखेटोपहार (सालकको खपटा) सहित ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सहयोग काभ्रेको बनेपा स्थित २८ किलो बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं सुचना अधिकारी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
बनेपा नगरपालिका वडा नं. ६ अठ्ठाईस किलो स्थित स्वागत क्याफे भित्र संरक्षित वन्यजन्तु आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको उनले बताए । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका–७ का ४९ वर्षीय गोविन्द सेन्चुरी, काभ्रे जिल्लाको रोशी गाउँपालिका–४ का २६ वर्षीय सुरज झेडीमगर र महाभारत गाउँपालिका–७ का २५ वर्षीय विमान स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
सालकको खपटा काभ्रेको विभिन्न स्थानबाट संकलन गरे भनेता पनि कहाँ बिक्रि वितरण गर्ने लागेको बारे थप अनुशन्धान भईरहेको न्यौपानेले जानकारी दिए ।
