काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेले गाईगोरु जस्तो जनावर काँट्ने दुई जनालाई पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ५ डाँडागाउँमा फुर्बे तामाङको घरमा गाईगोरु जस्तो देखिने जनावर काँटी मासु भाग लगाई रहेको छ भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं सुचना अधिकारी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चेकजाँचको गरी फुर्बे तामाङ्गको घर भित्र गाई गोरु जस्तो देखिने चौपाय जनावरको शरिर र टाँउको छुट्ट्याई मासु भाग लगाई रहेको अवस्थामा फलामको दाउ समेत फेलापारी उनीहरुलाई पक्राउ गरिएको डिएस्पी न्यौपानेले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ०५ बस्ने मेगराज तामाङको छोरा वर्ष ३० को ज्ञान बहादुर तामाङ र नमोबुद्ध नगरपालिका वडा नं. ०५ बस्ने कामीदाई तामाङको छोरा वर्ष १८ को फुर्वे तामाङ रहेको उनले बताए ।
गाई गोरु काट्ने दुई जनालाई नै कानुन बमोजिम पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२७ पशुपक्षी सम्बन्धी कसूरमा कारवाहीको लागि सम्मानित जिल्ला अदालतबाट म्यादथप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको उनले जानकारी दिए ।
