काभ्रे । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नचिकिदै गईरहेको छ । दलहरू र स्वतन्त्र उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्नको लागि घरदैलो अभियान गरीरहेका छन् । काभ्रे जिल्लामा प्रतिनिधि सभा दुई वटा र प्रदेश सभा ४ वटा रहेको छ । जसमा प्रतिनिधि सभा क्षेत्र नं. २ मा पूर्व मन्त्री तथा पूर्व सांसद गोकुल बास्कोटा र पूर्व सांसद शिवहुमागाईको भिषण प्रतिष्पर्धा हुँदै छ ।
प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको लागि १६ जना र प्रदेश सभा सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यको लागि ११ जना विभिन्न दलबाट र ५ जना स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जसमा बास्कोटा र हुमागाई मुख्य प्रतिस्पिर्धी हुन् । बास्कोटा नेकपा एमालेबाट र हुमागाई गठबन्धनका उम्मेदवार हुन् । बास्कोटा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा काभ्रे इञ्चार्ज हुन् भने हुमागाई नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस काभ्रेका पूर्व सभापति हुन् । 
२०७४ सालको संसदीय निर्वाचनमा सोही क्षेत्रबाट लोकप्रिय मत ल्याएर निर्वाचित भएका पूर्वमन्त्री बास्कोटा यसपालिको निर्वाचनमा भने पार्टी विभाजन हुँदा केही असहज देखिएको छ । भने कांग्रेस का उम्मेद्वार हुमागाईं लाई पनि माओवादी र समाजवादी को टेको कै मात्र भर पर्नु परेको छ । २०७४ निर्वाचनमा वाम गठबन्धन थियो । त्यस वेला नेकपा एमाले एउटै थियो त्यसमा अझ नेकपा माओवादी केन्द्र लगायतको गठबन्धन थियो । उक्त निर्वाचनमा बास्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यलाई पराजित गरेका थिए । कांग्रेसका उम्मेदवार आचार्यलाई १७ हजार ८ सय ४८ मतले पराजित गरेका बाँस्कोटाले यो पाली कडा मेहनत गर्नु पर्ने देखिएको छ । काभ्रेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी लगायतको पार्टी गठबन्धन भएको छ । उसैपनि बास्कोटा र हुमागाई काभ्रेमा लोकप्रिय नेताका रुपमा परिचत छन् । भने हुमागाईं लाई निर्वाचन क्षेत्र फेरेको टुरिस्ट उम्मेद्वार को ब्लेम लाग्दै आएको छ । २०६४ सालको पहिलो संविधान सभा सदस्य निर्वाचनमा पूर्व एमालेको तर्फबाट तत्कालिन बागमती अञ्चलमा नै एक मात्र निर्वाचित कृष्ण प्रसाद सापकोटा अहिले नेकपा एसमा रहेका छन् । उनी जस्तै टोकबहादुर वाईबा, विदुर सापकोटा, बसुन्धरा हुमागाई लगायत जिल्लाका लोकप्रिय नेताहरू नेकपा एस तथा गठबन्धनमा रहेका छन् । त्यसकारण पनि बास्कोटालाई निर्वाचनमा विजयी हुनु चुनौती रहेको बताइन्छ । 
२०७४ सालको संसदिय निर्वाचनमा निर्वाचित भएपछि चर्चामा आएका बास्कोटा सरकारको सञ्चार मन्त्री र सरकारको प्रवक्ता समेत बनेपछि झन चर्चामा आएका थिए ।
स्थानीय तह निर्वाचन २०७९ लाई आधार मान्ने हो भने पनि आगामी हुने निर्वाचन गठबन्धनकै पक्षमा रहेको देखिन्छ । जिल्लामा १३ वटा स्थानीय तह रहेको छ । जसमा प्रतिनिधि सभा क्षेत्र नं. २ भित्र बनेपा नगरपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाको मात्र पूरै वडा पर्छ । अन्य बेथानचोक गाउँपालिकाको ५ वटा वडा, पनौती नगरपालिकाको ५ वटा वडा र धुलिखेल नगरपालिकाको ७ वटा वडा यस क्षेत्रमा पर्छ । यस क्षेत्रमा पुरै पालिका पर्ने पालिकाको प्रमुख तथा अध्यक्षहरूमा सबै गठबन्धनले जितेका छन् । स्थानीय निर्वाचन २०७९ को मतपरिणमलाई हेर्ने हो भने यी ४ वटा पालिकको प्रमुखहरूको मतान्तर लगभग ९ हजार बढी मत गठबन्धनको रहेको छ । गठबन्धनको मत ४१ हजार ९ सय २७ रहेको छ भने एमालेको ३२ हजार ८ सय ६९ रहेको छ ।
यस क्षेत्रमा ६६ वडामा रहेकोमा लोकतान्त्रिक वाम गठबन्धनले ४० वडा जितेका छन् भने नेकपा एमालेले २५ वडा जितेको छ र एक वडा वडामा राप्रपा र स्वतन्त्रले जितेका छन् । नेकपा एमालेले भन्दा लोकतान्त्रिक वाम गठबन्धनले १४ वटा वडामा वडाध्यक्ष बढी जितेका छन् । गत o७९ को स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका वडाध्यक्षका लागि उम्मेदवारहरूले ६० हजार ५ सय मत प्राप्त गरेका छन् भने एमालेबाट वडाध्यक्षका लागि उम्मेदवारहरूले ४५ हजार ५ सय २० मत प्राप्त गरेका थिए । जसमा गठबन्धन भन्दा एमाले १४ हजार ९ सय २० मतले कम छ ।
बास्कोटाले भने आगामी हुने निर्वाचनमा आफु निर्वाचित हुने बताउदै आएका छन् । आफु मन्त्री हुदा गरेको विकास नै जितको आधार भएको बताउने गरेका छन् । जनताको घर घरमा विकास पुर्याएकोले आफुलाई जनताले मतदान गर्ने बताएका छन् ।
गठबन्धनका उम्मेदवार हुमागाईले विगतमा सांसद हुदा गरेको विकास निर्माणका काम र जिल्लामा गरेको सामाजिक कामले गर्दा आफुलाई जनताले मतदान गर्ने बताएका छन् । हुमागाई केन्द्रबाट टिकट लिएर मनोनयनका लागि जिल्लामा आउने क्रममा भक्तपुर र काभ्रेको सिमाना साँगामा धर्तीलाई ढोग्दै माटोको कासम खाएर निर्वाचनमा होमीएका छन् ।
जिल्लामा ३ लाख १० हजार ६३ मतदाता रहेको छ । जसमा प्रतिनिधि सभा क्षेत्र नं. २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् ।
