काठमाडौं/ ९ किलो सुनसहित विदेशी नागरिक क्यानडाका एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका मोहम्मद कमाल माहगौबलाइ प्रहरीले पक्राउ गरेको छ ।
गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार एएम २६६५४८ नम्बरको पासपोर्ट बोकेका उनी फ्लाई दुबईको एफ जेड–२५७३ मार्फत गएराति पौने १२ बजे काठमाडौं ओर्लिएका थिए ।
उनलाई १२ बजेर १० मिनेटमा भन्सार टोलीले नियन्त्रणमा लिएको थियो ।
