काठमाडौं/ आफ्नै कलेजका प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा एक विद्यार्थी नेता पक्राउ परेका छन् । लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता कमल जोशी प्रक्राउ परेका छन् ।
क्याम्पस प्रमुख बरालको राजीनामा पत्र आफैंले तयार पारी जबरर्जस्ती हस्ताक्षर गर्न लगाएर ट्याक्सीमा हाली कीर्तिपुरतर्फ लैजाँदै गर्दा जोशी पक्राउ परेका हुन् । उक्त क्याम्पसमा ‘पासआउट’ भइसकेका जोशी पुन भर्ना भएका जोशी नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य समेत हुन । उनलाई प्रहरीको कालीमाटी वृत्तले पक्राउ गरि सोह्रखुट्टै वृत्तलाई अनुसन्धानका लागि हस्तान्तरण गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले राजीनामा दिन धम्क्याएर बन्दक बनाउन कोसिस गरेको भन्ने क्याम्पस प्रमुखको उजुरीपछि आफूहरुले अनुसन्धान थालेको बताए ।
जोशीले यसअघि पनि उक्त क्याम्पसका विद्यार्थी र प्राध्यापकहरुलाई कुटपिट गरेपछि उनलाई जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको थियो । तर, उनी त्यसबाट जोगिदै आएका थिए ।
