After header

काभ्रेको पनौतीमा सङ्कटा जात्रा सम्पन्न

काभ्रे । लामो समय देखि लोप भएको पनौतीको श्री संकटा माईको जात्रा हौसलाको साथ सम्पन्न भएको छ ।काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा हरेक वर्ष फागु पूर्णिमाको दिन मनाइने सङ्कटा माईको जात्रा आइतबार सम्पन्न भएको हो । नगरभित्रका स्थानीय बासिन्दाहरुको सहभागिता रहेको जात्रामा रथ यात्रा गर्दै बजार परिक्रमा गरी बेलुका पख मन्दिरमा जम्मा भएर दर्शन गर्ने र सामूहिक भोज गर्ने गरिन्छ ।

यस वर्ष पनि विगतमा झैँ भिन्तुना गु्रप पनौतीको अगुवाईमा जात्रालाई निरन्तरता दिइएको हो । बेलुकीपख पनौतीको सङ्कटा भवानीको मन्दिरमा पुगेर जात्रा समापन गरेपछि पनौती आसपासका ठाउँमा खेलिने गरेको होली पर्व सम्पन्न भयो भन्ने सङ्केतका रूपमा सो जात्रा मनाइँदै आएको भिन्तुना ग्रुप पनौतीका सचिव राजु जंगमले बताए ।

विशेषगरी नेवार समुदायको प्रधानाङ्गहरुको अगुवाईमा मनाइने गरेको सो जात्रा पछिल्लो समयमा पनौतीका नेवार समुदायका सबैले मान्ने गरेको उनको भनाइ छ । “प्रधानाङ्गको अगुवाइमा परम्परागतरूपमा चल्दै आएको जात्रा केही वर्षदेखि रोकिएपछि भिन्तुना गु्रपको अगुवाइमा मनाउँदै आएका छौँ”, उनले भने, “सबै मिलेर पुनः शुरु गरेको यो यो जात्राले होलिमा पनौतीको विषेता बढेको उनले बताए ।

पनौती नगरपालिका अन्तर्गत जात्रा तथा पर्व मूल व्यवस्थापन समितिका सचिव जंगमले सामूहिकतामा जोड दिएर नगरभित्र व्यवस्थित गर्दै मनाइँदै आएको जात्रामध्येको सङ्कटा जात्रा पनि एक भएको बताएका छन् । नगरभित्र मनाइने जात्रा नगरको सांस्कृतिक, धार्मिक र परम्परागत पहिचानको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेकाले नगरपालिकाकै समन्वयमा व्यवस्थापन समिति नै गठन गरी जात्रा मनाउँदै आएको उनको भनाइ छ ।

एक पटक पढ्नुहोस