काभ्रे । हाम्रो अभियान खेलको शान, संस्कृति र सम्बृद्धि बनेपाको पहिचान भन्ने मूलानारा सहित काभ्रेको बनेपामा महोत्सव हुने भएको छ । बनेपा ब्वाइज क्लबद्वारा आयोजना हुन लागेको ‘बनेपा महोत्सव–२०८१ पाँचौँ संस्करण’ आउँदो असोज ९ गतेदेखि २४ गते सम्म आयोजना हुने आज एक कार्यक्रमको बिचमा जानकारी दिएको छ ।
बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले बनेपा नगरपालिका– स्थित उग्रेश्वर महदेव मन्दिर परिसरमा मेलाको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार उक्त मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष रहने उनले जानकारी दिए । महोत्सवले काभ्रे जिल्लामा रहेको बनेपा, पनौती एवं धुलिखेलमा रहेका व्यवसाय समेत राम्रो हुने उनले बताए । करीब १६ दिन सम्म सञ्चालन गरिने महोत्सवमा करीब ४० लाख देखि ५६ लाख सम्म खर्च लाग्ने उनले बताए ।
मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई साँस्कृतिक कार्यक्रम समेत गरिने उनले जानकारी दिए । मेलामा खेल प्रतिस्पर्धा, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपा सम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ ।
मेलाको व्यवस्थापनको तयारी सुरु भइसकेको कर्माचार्यले बताए । मिडिया संयोजकमा बिबिसीका सदस्य एवं सञ्चारकर्मी कौशलराज खड्कालाई जिम्मेवारी दिएको समेत बताए । महोत्सवको प्रमुख सललाहकारमा राम जोशी, मृख्य संयोजकमा पारस मणि कायस्थ र सह–मृख्य संयोजकमा यस कुमार रंजितकारलाई नियूक्ति गरिसकेको उनले जानकारी दिए ।
अब महोत्सव सञ्चालनका लागि विभिन्न उपसमिति तत्काल बनाउने समेत अध्यक्ष कर्माचार्यले जानकारी दिए ।मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गरिने छ ।
