काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री रमेश लेखकले १७ असारमा एमालेसँग भएको सातबुँदे सहमति दुवै पार्टीले अक्षरशः पालना गर्ने बताएका छन् ।गृहमन्त्री रमेश लेखकले कञ्चनपुरका दुई प्रहरी कार्यालयको उद्घाटन गदै उनले अहिलेको सरकारले जनताको मर्म बुझेर नै अगाडि बडेको बताए ।
नागरिकलाई सेवा दिने लक्ष्यका साथ नयाँ समीकरण बनेको बताउँदै मन्त्री लेखकले जनमुखी रूपमा संविधान संशोधन गरिने दाबी गरे । ‘अझ संविधानलाई समावेशी चरित्रको राम्रो बनाउने हाम्रो लक्ष्य हो,’ मन्त्री लेखकले भने, ‘यसमा कुनै राजनीतिक शंका–उपशंका गर्नुपर्दैन, यही विषय अघि सारेर राजनीति पनि गर्नुहुँदैन ।’
भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालय र दोधाराचाँदनी नगरपालिका– ६ दोधारामा रहेको इलाका प्रहरी कार्यालय एक कार्यक्रमको बिच मन्त्री लेखकले उद्घाटन गरेका छन् । नेपाल प्रहरी प्रदेश र इप्रका दोधाराचाँदनी कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लेखकले प्रहरी आधुनिक भवनबाट नागरिकले स्तरीय सेवा पाउनुपर्नेमा जोड दिए ।
उनले आधुनिकता र प्रविधिको विकाससँगै नयाँ–नयाँ प्रकृतिका अपराध बढिरहेका वेला प्रहरीको पनि आधुनिकीकरण भइरहेको बताए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक इन्जिनियर चिरञ्जीवी महतोले प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको कार्यप्रगति प्रस्तुत गरेका थिए ।
प्रदेश प्रहरी कार्यालयको भवन आशिष कन्स्ट्रक्सन कम्पनीले १३ करोड २६ लाख ६५ हजार ३३६ रुपैयाँ र इलाका प्रहरी कार्यालय भवन चार करोड ५२ लाख ८९ हजार चार रुपैयाँमा साउद आलोक जेभीले निर्माण गरेका हुन्।कार्यक्रममा समयमै गुणस्तरीय भवन निर्माण गरेको भन्दै निर्माण व्यवसायी प्रकाशबहादुर सेटी, प्रहरीका इन्जिनियर प्रहरी नायब उपरीक्षक चिरञ्जीवी महतो, प्राविधिक प्रहरी वरिष्ठ नायक निरीक्षक हेमन्तसिंह ठगुन्ना, निर्माण कम्पनीका इन्जिनियर प्रमोद पन्त, भीमदत्त नगरका मेयर पदम बोगटी, दोधाराचाँदनीका मेयर किशोरकुमार लिम्बू, दुरपालसिंह रानामगर र यमबहादुर मगरलाई सम्मान गरिएको थियो ।