काभ्रे । रोही खोलाको बाढीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्नेगरी काम भइरहेको छ । रोशी खोलाको बहाबलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
विभागले औपचारिक रुपमा बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम सुरु गरेको हो । रोशी खोलादेखि करिब २० देखि पचास मिटरसम्म उचाइमा अवस्थित उक्त स्थानको सडक तलसम्म कटान भएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहाबलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको जानकारी दिए ।
“ बुधबारदेखि औपचारिक रुपमा काम थालिसकेका छौँ, अबको केही दिनभित्र एकतर्फी भएपनि यातायात सञ्चालन गर्नेगरी अस्थायी रुपमा सडक बनाईसक्न लागेका छौँ”, उनले भने ।बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाईभर्ट गर्न हाललाई असम्भव भएको उनको भनाई थियो । अबिरल बर्षाको क्रममा शनिबार उक्त स्थानमा सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र भएपछि आइतबारदेखि हेलिकप्टरमार्फत उद्धार गर्न थालिएको थियो ।
राजधानीसँग मध्यपहाडी क्षेत्रहुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दुरीको उक्त राजमार्ग शनिबार विहानदेखि ठप्प नै अवस्थामा रहेको छ । नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिकाको ७ नं वडाको सीमास्थल उक्त स्थानमा रोशी खोलाले कटान गर्दै सडक बगाएको हो । माथि ठूलो भीर भएको र रोशी खोलाको बहाबका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन ।
विभिन्न स्थानमा बाढीले सडक अवरुद्ध बनाएपछि उक्त राजमार्गमा अड्किएका सवारीसाधन सञ्चालन काभ्रेपलाञ्चोकको भकुण्डेबेंसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मतको कामसमेत थालिएको जनाइएको छ । भक्तपुरले मङ्गलबारदेखि नै रोशी खोलाको बाढीले सबैभन्दा बढी क्षगिग्रस्त सडक १ नम्बर पुलदेखि नेपालथोकसम्मको सडक मर्मतको काम सुरु गरेको थियो ।
यस्तै सोमबार साँझसम्म पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल–भकुण्डेबेंसी सडकखण्ड एकतर्फी सञ्चालन गरिएको छ । सोही क्रममा भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मतको काम अघि बढाइएसँगै चौकीडाँडामा बगाएको दुई सय मिटर सडकलाई अस्थायी रुपमा निर्माण थालिएको योगेशले जानकारी दिए ।
कार्यालयले काभ्रेतर्फबाट चार मेशिन प्रयोग गरेको छ भने सिन्धुलीको नेपालथोकबाट काभ्रेपलाञ्चोकतर्फ पाँच डोजरलगायतका मेशिन प्रयोग गरिएको जनाएको छ । जनकपुरबाट आएका पाँच मेशिनबाट मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरेर बाढीपहिरोमा कारण सडकै अलपत्र सवारीसाधनलाई नेपालथोक हुँदै सिन्धुलीतर्फनै फर्काइने योगेशले बताए ।
योगेशका अनुसार हालसम्म भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने एकीन तथ्याङ्क आइनसकेको भए पनि २९ मिलोमिटरको यस दुरीमा करिब दुई किलोमिटर सडकलाई बाढीले पूर्ण रुपमा क्षति पु¥याएको अनुमान गरिएको छ । यस्तै राजमार्गको कुल एक सय ६० किमीमध्ये केही दिनअघिको अविरल वर्षाले तेस्रोखण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुगेको कार्यालयले जनाएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो राजमार्ग सडक निर्माण गर्दा प्रति किमी रु ३५ करोड लागत थियो । उक्त रकम हालको हिसाबमा रु ५० करोडभन्दा माथि पर्नै छ । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्याङ्कन गर्दा रु दुई अर्बभन्दा माथिको क्षति गराएको प्रारम्भिक अनुमान गरिएको योगेशले बताए ।
