काठमाडौं । आगजनी भएको एक ट्रक चालकको मृत्युपछि ८ जनालाई कर्तव्य ज्यान मुद्दा चलाएको प्रहरीले जनाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
आगजनी भएको एक ट्रक चालकको मृत्यु भएपछि प्रहरीले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का ८ जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको हो । आगजनी गरिएको ट्रक चालक पोदो रायको भारतमा उपचारको क्रममा यही असोज १९ गते मृत्यु भएको छ ।
प्रहरीका अनुसार झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका– ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ ।
यही असोज ६ गते राति साढे १० बजे झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रक र असोज ७ गते बिहान साढे २ बजेतिर बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्ल्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका थिए ।
