काभ्रे । बाढीपहरोले यहाँ जनधनको ठूलो क्षति पु¥याएपछि स्थानीय तह खोज, उद्धार तथा राहत ब्यवस्थापनमा लागेको डेढ महिना बितिसक्यो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पु¥याई ठूलो सङ्ख्यामा घरबारविहीनको अवस्थामा रहेका छन् ।
बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको छ । डेढ महिना बितिसक्दा पनि स्थानीय तहले वर्षात्का कारण पुगेको क्षतिको पूर्ण विवरण तयार नगर्दा केन्द्रीय सरकारमार्फत पुनर्बासका लागि आउने राहत उपलब्ध हुन नसकेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
कार्यालयका अनुसार जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले पटकपटक विपद् पीडित उद्दार र राहत सम्वन्धी (सातौ संशोधन) मापदण्ड २०७७ बमोजिम विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न–बाली तथा जग्गा जमिन वा पसल ब्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्नसमेत नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रति परिवार ५ जनासम्मको हकमा रु १५ हजार र सोभन्दा बढी सदस्य भएको हकमा रु २० हजारका दरले नगद जिल्ला विपद् ब्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिसकिएको छ । तर, केही गैरसरकारी संस्था तथा अन्य संस्थाले उक्त रकम उपलब्ध गराएकालाई सरकारीस्तरबाट भने नदिइने जनाइएको छ ।
केही स्थानीय तहले प्रारम्भिक बिबरण बुझाएपनि पूर्णक्षतिको विवरण उपलब्ध नगराउँदा राहत एवं पुनर्बासको कार्यक्रम अघि बढाउन नसकिएको हो । स्थानीय तहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमा ‘डाटा इन्ट्री’ गराई सोको जानकारी जिल्लास्थित विपद् ब्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्नेछ ।
कार्यालयले अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको जनाएको छ । “स्थानीय तहलाई क्षतिको पूर्ण विवरण उपलब्ध गराउन पटकपटक अनुरोधसहित पत्राचार गरेका छौँ” प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक उमेशकुमार ढकालले भने ‘बुधबार पनि पुनः स्थानीय तहलाई तत्कालै क्षतिको एकीन विवरण उपलब्ध गराउन पुनःपत्राचार गरेका छौँ ।
” उनका अनुसार सरकारले प्रारम्भिक क्षतिका आधारमा बर्गीकरण गरी पठाएको पालिकास्तरको अनुदान भने कार्यालयले कात्तिक १४ गतेनै पठाइसकेको छ । उनले समितिको आइतबारको बैठकमा उपस्थित जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई जतिसक्दो छिटो प्राधिकारणलाई बिबरण यपलब्ध गराउने निर्देशन दिएका छन् ।
यसअघि राष्ट्रिय विपद जोखीम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको पत्रसहित नेपाल सरकारबाट संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहलाई रकम उपलब्ध गराइएको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये ११ तहमा रु ९ करोड २५ लाख अनुदान उपलब्ध गराइएको पौडेलले बताउनुभयो ।
रोशी, तेमाल र बेथानचोक गाउँपालिका तथा पनौती र नमोबुद्ध नगरले रु १÷१ करोड अनुदान प्रदान गरिएको छ भने मण्डनदेउपुर नगर तथा भुम्लु, चौरीदेउराली र महाभारत गाउँपालिकाले रु ७५ लाखका दरले पाएका हुन् । यस्तै पाँचखाल नगरले रु ५० लाख अनुदान प्राप्त ग¥यो । बनेपा र धुलिखेल नगर भने सङ्कटग्रस्त क्षेत्रमा परेका छैनन् ।
यसैगरि बागमती प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति रु १ लाखका दरले पठाएको राहत रकम स्थानीय तहमा पठाईसकिएको छ । केन्द्रीय सरकारका तर्फबाट ज्यान गुमाएका परिवारलाई यसअघि नै प्राप्त रु २ लाखका दरले रकम उपलब्ध गराइसकिएको कार्यालले जनाएको छ ।
जिल्लामा ७९ जनाको निधन भएको थियो भने छ जना अझै बेपत्ताको अवस्थामा रहेका छन् । यसैबीच विशेषगरी ठूलो क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिका खोज, उद्धार तथा राहत ब्यवस्थापनपछि पुनर्बास एवं आवास निर्माणका लागि एकीन तथ्याङ्क सङ्कलनकार्यमा लागेको जनाएका छन् । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अति प्रभावित क्षेत्रमा पर्दछन् ।
कृषि–पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्तका क्षेत्रमा क्षति पु¥याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ ।जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक बिबरण अनुसार जिल्लामा नीजि आवासतर्फ करिब चार हजार पूर्णक्षति भएको छ भने ७ हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन, तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएका छन् ।
