After header

आइजीपी रनिङ ट्रफी फुटबलको उपाधि सशस्त्रलाई

काभ्रे । ३० औं अन्तर विद्यालय आई.जी.पी फुटबल रनिङ ट्रफी २०८१ को उपाधि सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिमले जितेको छ । शुक्रबार पुलिस स्कुल साँगामा भएको फाईनल खेलमा आयोजक टिम साँगा स्कुल र सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर बिच भएको खेलमा ३–० गोल पुलिस स्कुल साँगालाई पराजित गरेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने समेत बताए । विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यवहारिक बनाउन सकेमा उपलब्धिमूलक परिणाम दिन सक्ने भएकोले विद्यार्थीहरूको बौद्धिक एवं व्यक्तित्व विकासमा सहयोग पुग्ने गरी समसामायिक शैक्षिक वातावरण निर्माणतर्फ विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्ने उनको भनाई थियो । गुणस्तरीय शिक्षा र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको माध्यमबाट विद्यालयको शैक्षिक र व्यवस्थापकीय सुधार विद्यालयको प्राथमिकता रहने विश्वास लिएको उनले बताए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा र बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए । साथै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र अखिल नेपाल फुटबल संघका उपमहासचिव बद्री भट्टराईले प्रतियोगिताका सेकेण्ड रनरअप टिमलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

शुक्रबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिमले नेपाल पुलिस स्कुल साँगा (रातो) टिमलाई ३–० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिम प्रथम, नेपाल पुलिस स्कुल साँगा (रातो) टिम द्वितीय र नेपाल पुलिस स्कुल धरान टिम तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावक, स्थानीय बासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

मंसिर १८ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६ टिमको सहभागिता रहेको थियो । साथै नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूद्वारा नृत्य तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्यान्ड डिस्प्ले गरिएको थियो ।

एक पटक पढ्नुहोस