पोखरा । अनेरास्ववियुको दबदबा कायम राख्दै पीएन क्याम्पसमा पोखरेलको प्यानलै विजयी भएको छ । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा विरासत कायमै राख्दै अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको हो । अनेरास्ववियुको विरासत भत्काउने भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा र स्वतन्त्ररुपमासमेत उम्मेदवारी परेको थियो ।
तर, ती सबै सम्भावना र आंकलनलाई परास्त गर्दै पोखरेल नेतृत्वमा अनेरास्ववियुले प्यानलै जितेर छ ।पोखरेल भारी मतान्तरले विजयी हुँदा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ प्रतिस्पर्धाको निकटसम्म पुग्न सकेन भने स्वतन्त्र उम्मेदवारी दिएकी विप्लवी न्यौपाने पनि पोखरेलाई नजिकै पुगेर पछ्याउन सकिनन् । समाजवादी मोर्चा, माओवादी निकटको अनेरास्ववियु क्रान्तिकारी त पृथ्वीनारायण क्याम्पसमा धेरै पछाडि प¥यो ।
अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार पोखरेल दोब्बरभन्दा धेरै मतान्तरले विजयी भएका हुन् । पोखरेलले एक हजार १०५ मत ल्याउँदा नेविसंघका सुशील न्यौपानेले जम्मा ५०३ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाकोसमेत समर्थन लिएर स्वतन्त्र चुनाव लडेकी विप्लवीले ४६९ मत ल्याइन् । माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारीले जम्मा २२३ मत ल्याए । अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य)को संयुक्त प्यानलका सन्तोष पौडेलले मात्र १९६ मत ल्याए ।
माओवादीनिकट क्रान्तिकारीको एउटा समूहसमेत यो मोर्चामा हुँदा पनि यति कमजोर मत आएको हो । अखिल छैटौंका मिलन सुनार २८ र प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरुङ ७६ ले मत ल्याएका थिए ।पोखरेल नेतृत्वमा सचिवमा विराज दुवाडी अझै लोकप्रिय मतका साथ विजयी भएका छन् । उनले १ हजार ४१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पधी नेविसंघका विवेक भट्टराईले जम्मा ६२८ मत ल्याए ।
कोषाध्यक्षमा अनेरास्ववियुकै सन्दिका गुरुङ १ हजार ३०४ मतका साथ विजयी भइन् । ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत गर्ने भनिएको पीएन क्याम्पसमा विद्यार्थी परिचय पत्र भने ७ हजार ४ सय जनाले लगेका थिए । त्यसमा जम्मा २ हजार ८९७ मत खसेको थियो । परिचय पत्र लैजाने विद्यार्थीको संख्यामध्ये जम्मा ३९.१२ प्रतिशत मात्र मतदानमा सहभागी भएका हुन् । स्ववियुमा विजयी पोखरेल यसअघि पनि सभापतिको उम्मेदवार थिए ।
तर, विवादका कारण चुनाव हुन सकेको थिएन ।पोखरेल अनेरास्ववियु आन्दोलनमा अग्रपंक्तिमा रहने विद्यार्थी हुन् । उनले विजयी भएपछि १६ वर्षपछि भएको निर्वाचनले स्ववियुलाई जीवन दिएको र अब सबै विद्यार्थीको साझा संस्था बनाउने प्रतिवद्धता गरे ।
