After header

खोटाङको नुनथलावासीलाई पानी सङ्कलन गर्न ट्याङ्की वितरण

खोटाङ । खोटाङको नुनथलावासीलाई पानी सङ्कलन गर्न ट्याङ्की वितरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १ सय ६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्याङ्की प्रदान गरिएको हो । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका नुनथलावासीलाई पानी सङ्कलन गर्न मझुवागढी–१३ ले निःशुल्क ट्याङ्की वितरण गरेको हो ।
नुनथलामा लामो समयदेखि खानेपानीको समस्या छ ।

नुनथलाका २ सय ४५ घर उपभोक्ताले २०४१ सालमा सञ्चालित लोचाखोला मुहानको खानेपानी योजनाबाट पानी उपभोग गरिरहेका छन, वडाध्यक्ष भगेश्वर राईले भने, “पानीको स्रोत सानो भएकाले हरेक दिन १२ घण्टा जम्मा गरेर तीन घण्टा वितरण गर्ने गरिएको छ । अधिकांशको घरमा उक्त पानी सङ्कलन गरेर राख्ने भाँडो छैन, धारामा आएको समयमा पानी थाप्न नपाउने घरपरिवारले उपभोग गर्न नपाउने भएपछि ट्याङ्की वितरण गरिएको हो ।

यसका लागि वडाले यस वर्ष रु १० लाख रकम विनियोजन गरेको थियो । लोचाखोला खानेपानी योजना मर्मतका लागि तत्कालीन १ नम्बर प्रदेश सरकारले २०७८ सालदेखि क्रमागत योजनाअन्तर्गत बजेट तथा सामग्री उपलब्ध गराउँदै आएको छ ।

एक पटक पढ्नुहोस