काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को एक कार्यक्रम बिच शिलान्यास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को शिलान्यास गदै विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताए ।
काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गदै उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुुले स्थानीय जनतामा आत्मविश्वास पलाएको छ बताए । केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरुले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकैदिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको उनको भनाई थियो ।
अविकासबाट विकासमा मुलुकलाई लान सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । कुरा काट्नेहरु त गल्ली गल्लीमा भेटिन्छन् । काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो नहुने उनले बताए । तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरुले यो काम अघि बढाए ।

त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे । अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुुट्न दिनुहुँदैन । यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ ।”प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सामुदायिक अस्पतालले उत्कृष्टता हासिल गर्न सरकारसँग सहकार्य गर्नुपर्ने बताए । उनले धुलिखेल अस्पताल परिसरमा निर्माण हुने ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को शिलान्यास कार्यक्रमलाई आज धुलिखेलमा सम्बोधन गर्दै सामुदायिक अस्पताललाई समेट्नेगरी सरकारले नीतिगत विषयमा थुप्रै परिमार्जन गरेकाले सरकारसँग सहकार्यको खाँचो भएको बताए ।
भोलि सार्वजनिक हुने बजेटमासमेत सामुदायिक अस्पतालगायत स्वास्थ्य संस्थालाई सहकार्य गर्नेगरी बजेटमा सहभागिता गराइएको छ, सरकारसँगको सहकार्यले स्वाथ्य क्षेत्रमा उत्कृष्टता हाँसिल गर्न सकिन्छ भन्ने सन्देश पनि दिनुपर्छ”, मन्त्री पौडेलले भने । नेपालको स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकारले थुपै्र विषय ल्याइएकाले कार्यान्वन गर्न स्रोतको खोजी भइरहेको पनि उनले बताए ।
स्रोत जुटाउन नेपालका सामुदायिक क्षेत्र, सुभेच्छुक अन्तराष्ट्रिय सहयोगी तथा निकायसँग जोड्न सक्नुपर्छ”, उनले भने ।
कार्यक्रममा जापान अन्तराष्ट्रिय सहयोग नियाग (जाइका)को नेपाल प्रमुख मिसुजी मासुजाकीले सन् १९७० देखि जापान–नेपालको मित्रता कायम रहेकाले नेपालमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताए । उनले जापान सरकारले विपी राजमार्ग धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडकखण्ड निर्माण गरेको स्मरण गर्दै गतसालको बाढीपहरोले केही खण्ड क्षतिग्रस्त बनाएकोमा दुःखेसो पोखे ।
सो अवसरमा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्ले, अस्पतालका कायृकारी निर्देशक डा रामकण्ठ माकजुलगायतले धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ निर्माण गर्न सहयोग दिएकोमा धन्यवाद व्यक्त गरेका थिए । जापान सरकारबाट प्राप्त तीन अर्ब ६० करोड २६ लाख यानको अनुदान सहयोग भएको उक्त सेन्टरको निर्माणमा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सेन्टरमा पार्किङ, आइसियुु, ३ वटा अप्रेसन थिएटर, एचडियुु, ल्याब, फार्मेसी, फोहोर व्यवस्थापनलगायत आवश्यक सबै सेवाहरु उपलब्ध हुने छ । यस्तै सेन्टर सञ्चालनका लागि ३ तला बेसमेन्टसहित ५ तलाको भवन निर्माण हुने जनाइएको ।
