काभ्रे । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूलनाराका साथ काभ्रेको पनौतीमा पनौती नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । पनौती नगरपाकिला नगर शिक्षा समितिको आयोजनामा आज १५ गते देखि सुरु भएको उक्त १७ गते सम्म सञ्चालन हुने भएको छ । काभ्रे जिल्लाको पनौती नगरपालिका–७ स्थित रङ्गशालामा सुरु भएको उक्त प्रतियोगिताको नगर उपप्रमुख गिता बञ्जाराले उद्धाटन गरेकी छिन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । २०८१ सालमा जस्तै यसपटक पनि पनौतीले जिल्लामै पहिलो स्थान कायम राख्दै अब प्रदेश र राष्ट्रमै उत्कृष्ट बन्ने विश्वास व्यक्त गरीन् । उनले खेलकुदलाई नगरपालिकाले प्रतिभा पहिचान र विकासको आधार मान्दै अभिभावकको भूमिकामा रहेर निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत गरेकी छिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले अघिल्लो वर्षजस्तै यस वर्ष पनि नगरले प्राथमिकताका साथ तयारी गरेको भन्दै पनौतीले पुनः उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखाका निर्देशक प्रणराज न्यौपानेले विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताए ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता निर्देशक समितिका सदस्य भरत रावलका अनुसार यस वर्ष प्रतियोगितामा ४ सय ९ खेल, १ हजार १ सय ३९ विद्यार्थी, तथा ३९ विद्यालयको सहभागिता रहेको बताए । उनले तिनदिन सम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कवड्डी लगायतका खेल हुने बताए ।

उद्घाटन कार्यक्रममा एनसीसीको मार्च पास, तेक्वान्दो डेमो सेसन तथा राष्ट्रपति रनिङशिल्ड प्रदर्शनी समेत गरिएको थियो । उद्धटान सत्रमा पनौती नगरपाकिलाका वडा अध्यक्षहरू, नगरका शाखा प्रमुख, शिक्षक संघ–संगठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरूको सहभागिता थियो ।
