After header

अरनिको राजमार्ग अन्र्तगत धुलिखेल–खावा सडक पुनःबिस्तारकार्य सुरु

काभ्रे । अरनिको राजमार्गअन्र्तगत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नतिकार्य पुनः सुरु भएको छ । यसका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौताकार्य गरिएपछि पुनन्स्तरोन्नतिको काम सुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी सी–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ ।

भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्रे सक्ने र बाँकी अन्य बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिने छ । विभिन्न स्थानमा कटिङको कामबाट पुनः बिस्तारको काम सुरु भएको हो ।

निर्माण कार्यमा ढिलासुस्ती गर्दा ३ वर्षदेखी राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । भक्तपुरले चालु आर्थिक बर्षको सुरुआतसँगै पुनःबिस्तारकार्य गर्न बोलपत्र आह्वान गरेको थियो । कार्यलयले पुरानो ठेक्का रद्ध गरेको साडे चार महिनापछि साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । चार किलोमिटर दुरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सम्नेमा आशावादी भएको योगेशको भनाई छ ।

उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण ब्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । उक्त मुद्दा गत असार २५ गते खारेज भई अदालतको आदेशानुसार पुनःठेक्का खोल्ने प्रक्रिया अघि बढाइएको योगेशले बताउनुभयो ।

उहाँका अनुसार त्यतिबेला कम्पनीले लिखित स्पष्टीकरण दिएपनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गतसाल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो ।

अरनिको राजमार्गहुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकको रुपमासमेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन् ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक बिस्तारको काम गौरी–पार्वतीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५ पाँच सय एकमा ठेक्का लिएको थियो ।
हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम मात्रै भएको छ ।

जिपलाइन स्थानदेखि तल खावासम्मको करिव सडकमात्रै भत्काईएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । २०८१ जेठमा धुलिखेलतर्फबाट बेश, सब–बेश हाल्ने काम सुरु गरिएपनि पटकपटकको बर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो । निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन ।

सडक निर्माणको काम समयमा नसकिँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भैसकेको छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।

उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको छ ।

एक पटक पढ्नुहोस