काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) बिहान ११ बजे पुनः बस्ने भएको हो । सोमबारबाट सुरू भएको बैठक आज पनि बस्ने जनाईएको छ । बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ ।
सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले चुनावी तालमेल गर्ने अन्तिम तयारी गरेका छन् । सोमबारको बैठकपछि कार्यवाहक सभापति खड्का केन्द्रीय सदस्य रमेश लेखकका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डु पुगेका थिए ।
त्यसअघि आइतबार एमाले महासचिव शंकर पोखरेलले कांग्रेस कार्यवाहक सभापति खड्का र लेखकसँग कुराकानी गरेका थिए । आइतबार नै एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि संवाद भएको थियो ।
