After header

चिसोबढे सँगै विकास निर्माणको काम ठप्प

मुस्ताङ । चिसोबढे सँगै विकास निर्माणको काम ठप्प हुन थालेको छ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएको हो । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प भएको हो ।

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । अत्यधिक चिसोका कारण विकास निर्माणमा परिचालित उपकरण पनि थन्किन पुग्छन् । पुसअगावै कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको उनले बताए ।
राष्ट्रिय गौरवको कोरला सडक खण्डअन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सञ्चालनमा आउने प्रमुख शर्माको भनाइ छ । उनका अनुसार कोरला सडकअन्तर्गत चालु आवमा ठेक्का सम्झौता भएको (कागबेनी–छुसाङ) ९ दशमलव ८ किमी कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी–छुसाङ सडक कालोपत्र गर्न आयोजनाले रु २८ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाअन्तर्गत २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले रु ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाए पनि यहाँको घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ ।

भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । यहाँ एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाइ छ । प्राय जसो योजनाहरु चिसो बढे सगै सबैकाम ठप्प नै भएको उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस