रोल्पा । आफुहरुले काम गरेर तिनमहिना देखि तलब नपाएको चिकित्सक र कर्मचारीको गुनासो गरेका छन् । रोल्पा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् । । लुम्बिनी प्रदेश सरकारबाट रकम उपलब्ध नभएपछि कर्मचारीहरुले तलब नपाएका हुन् ।
रोल्पा अस्पतालका निमित्त प्रमुख सुर्यप्रताप रैदासले लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले तलब उपलब्ध नगराएकाले अस्पतालका चिकित्सकसहित २४ जना कर्मचारीले तीन महिनादेखि तलब पाउन नपाएको जानकारी दिए ।‘प्रदेश सरकारले तलब नपठाएकाले माघदेखि चैतसम्मको तीन महिनाको तलब अस्पतालमा कार्यरत कर्मचारीले पाएका छैनन्,’ उनले भने, ‘हामीले तलबको बारेमा अस्पतालको लेखा शाखामार्फत लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयसम्म पत्र र फोनमार्फत जानकारी गराइसकेका छौं ।
अबको केही दिनमा मन्त्रालयले तलब उपलब्ध गराउने भनेको छ ।’करार कर्मचारीहरुलाई भने अस्पताल व्यवस्थापन समितिले आफ्नै आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार यो समस्या रोल्पा जिल्लाको मात्र नभई लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा देखिएको छ ।
कार्यालय प्रमुखले बजेट अनुमान गरेभन्दा बढी खर्च निस्किएको र त्यसलाई प्राविधिक रुपमा मिलाउनुपर्ने भएकाले समय लागेको उनले बताइन् । रकमान्तर गरेर भए पनि बजेट निकासाको प्रक्रिया अघि बढेको जानकारी दिँदै उनले भनिन्, ‘सायद अब सोमबार वा मंगलबारभित्र काम हुन्छ र तलब जान्छ उनले भनिन् ।
