After header

बुडोल सामुदायिक साकोसको २७औँ वार्षिक साधारण सभा सम्पन्न

६ प्रतिशत लाभांश र बचत तथा ऋण योगदानका आधारमा थप लाभ वितरण गर्ने निर्णय

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकै समयतालिकामा चारवटा एकाइ बैठक सञ्चालन गरी सदस्यहरूबाट प्राप्त निर्णयलाई एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणीकरण सभाबाट पारित गरेसँगै साधारण सभा सम्पन्न गरेको थियो ।

सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम असोज २४ गते चारवटै एकाइमा समान कार्यसूचीमाथि छलफल गरिएको थियो । एकाइ बैठकमा संस्थाका कुल सदस्य संख्यामध्ये ५९.४२ प्रतिशतको उपस्थिति रहेको संस्थाले जनाएको छ ।

सभामा प्रस्तुत अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा ३ करोड ३४ लाख ९९ हजार ६९७ रुपैयाँ १७ पैसा सञ्चालन मुनाफा आर्जन गरेको छ । सो अवधिमा संस्थाको कुल सम्पत्ति २ अर्ब २६ करोड ६६ लाख ९४ हजार ७९९ रुपैयाँ १५ पैसा पुगेको छ ।

त्यसैगरी, संस्थामा सदस्यहरूको बचत १ अर्ब ८८ करोड ३५ लाख ९७ हजार ३१० रुपैयाँ ७७ पैसा, शेयर पुँजी १४ करोड ५५ लाख २ हजार ९०० रुपैयाँ, संस्थागत पुँजी १९ करोड ८६ लाख ३७ हजार ८२ रुपैयाँ ७० पैसा र लगानीमा रहेको ऋण १ अर्ब २८ करोड ४७ लाख ८८ हजार ५२० रुपैयाँ ४३ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाले आर्थिक वर्ष २०८२÷०८३ को मुनाफाबाट सदस्यहरूलाई ६ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै, संरक्षित पुँजी फिर्ता कोषमार्फत सदस्यहरूले बचत तथा ऋण कारोबारमा गरेको योगदानका आधारमा २÷२ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णयसमेत गरेको छ ।

सदस्यको आर्थिक सुरक्षालाई प्राथमिकता

संस्थाले सदस्यहरूको आर्थिक सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले अस्पतालमा भर्ना भई उपचार गराइरहेका सदस्यलाई ३ हजार रुपैयाँ स्वास्थ्योपचार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । साधारण सभाबाट पारित आर्थिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि सभा सम्पन्न भएसँगै लागू हुने संस्थाले जनाएको छ ।

संस्थाले यसअघि नै प्रसूति महिला सदस्यलाई ६ हजार ५०० रुपैयाँ बराबरको मातृत्व सुरक्षा सहयोग, १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा, घातक रोग लागेका सदस्यलाई २० हजार रुपैयाँ उपचार सहयोग तथा सदस्यको मृत्यु हुँदा परिवारलाई ३० हजार रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउँदै आएको छ । प्राकृतिक प्रकोपबाट प्रभावित सदस्यलाई २० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने व्यवस्था पनि संस्थाले कार्यान्वयनमा ल्याएको छ ।

सदस्यहरूको शेयरमा समानता कायम गर्दै मुनाफा वितरणमा मात्र सीमित नभई उनीहरूलाई जीवनका विभिन्न अवस्थामा आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्ने योजनालाई संस्थाले प्राथमिकता दिएको छ । लाभांश वितरणसँगै स्वास्थ्योपचार, मातृत्व, दुर्घटना, घातक रोग, मृत्यु संस्कार र प्राकृतिक प्रकोपमा सहयोग गर्ने व्यवस्थाले सदस्यकेन्द्रित सहकारी अभ्यासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

एक पटक पढ्नुहोस