After header

पशुपालक कृषकलाई २०० केजी उन्नत जातको जै घाँसको बीउ वितरण

काभ्रे । पशुपालन व्यवसायलाई व्यवस्थित, उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यले पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले पशु आहारा विकास कार्यक्रम अन्तर्गत पशुपालक कृषकहरूलाई उन्नत जातको जै घाँसको बीउ वितरण गरेको छ । कार्यालयले कृषकहरूलाई निःशुल्क वितरण गर्न कामधेनु, नेत्र र अमृतधारा जातका २०० केजी जै घाँसको बीउ उपलब्ध गराएको हो ।

बीउ वितरण कार्य सम्पन्न भएसँगै कृषकहरूलाई पशुपालनका लागि आवश्यक हरियो घाँस उत्पादनमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. ब्रजकिशोर ठाकुरका अनुसार पशुपालन व्यवसायको विकासका लागि गुणस्तरीय पशु आहार महत्त्वपूर्ण पक्ष हो ।

पशुलाई आवश्यक पोषणयुक्त आहार उपलब्ध गराउन सके स्वास्थ्य सुधार हुनुका साथै दूध उत्पादनमा समेत वृद्धि गर्न सकिने भएकाले कार्यालयले पशु आहारा विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको उनको भनाई थियो । त्यसैगरी, योजना तथा प्रविधि प्रसार शाखा प्रमुख डा. सुशिला श्रेष्ठले उन्नत जातको घाँस खेती विस्तारले पशुपालक कृषकलाई सहज र गुणस्तरीय पशु आहार उपलब्ध गराउन सहयोग पुग्ने बताइन् ।

घाँस खेतीलाई पशुपालनसँग जोडेर अघि बढाउन सके कृषकले पशु आहार व्यवस्थापनमा सुधार गर्दै उत्पादन वृद्धि गर्न सक्ने उनको भनाई थियो ।कार्यालयको प्रशासन शाखाकी रबिना पोखरेलका अनुसार कार्यक्रम अन्तर्गत प्राप्त भएको घाँसको बीउ कृषकहरूलाई निःशुल्क वितरण गरिएको थियो । यस्ता कार्यक्रमले पशुपालक कृषकलाई घाँस खेतीतर्फ आकर्षित गर्नुका साथै पशुपालन व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने उनले बताईन् ।

बीउ प्राप्त गरेका कृषकहरूले उन्नत जातको घाँसको प्रयोगबाट आफूहरूले पालेका पशुको स्वास्थ्यमा सुधार हुनुका साथै दूध उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । पर्याप्त हरियो घाँस उत्पादन गर्न सके पशु आहार व्यवस्थापन सहज हुने र पशुपालनबाट राम्रो प्रतिफल लिन सकिने उनीहरूको भनाई थियो ।

पशुपालनमा पशु आहारको उपलब्धता र गुणस्तरले प्रत्यक्ष प्रभाव पार्ने भएकाले उन्नत जातको घाँस खेती विस्तारलाई महत्त्वपूर्ण मानिएको छ । कृषकलाई बीउ वितरणसँगै घाँस खेतीसम्बन्धी आवश्यक प्राविधिक ज्ञान र परामर्श उपलब्ध गराउन सके कार्यक्रमको प्रभावकारिता अझ बढ्ने देखिन्छ ।

एक पटक पढ्नुहोस