तारुकामा ‘नीलो काल’को त्यो त्रासद असार

तपाईंहरुलाई आज फेरि तारुका लैजान्छु है ! हजुर, माघेसंक्रान्तिमा हलकाहल साँढे गोरु जुधाइने त्यही तारुका क्या, मेरो मामाघर !

‘कोरोना महामारी नियन्त्रण निम्ति मुलुक नै ‘लकडाउन’मा छ, त्यसमाथि यो बर्खामासमा कसरी र के घुम्न जानु !’, नभन्नु होला l सशरीर जानु पर्दैन तारुका, आगामी पङ्क्तिहरु पछ्याइ दिनुभए पुग्छ l

यसपटक हामी माघेसंक्रान्तिमा जस्तो रमिता हेर्ने छैनौँ तारुकामा l  माना खाएर मुरी उब्जाउने बेला हो यो l अन्यत्रजस्तै त्यहाँ पनि अहिले रोपाइँको चटारो छ l जुधाइने मत्त साँढे गोरुहरु यतिबेला खेत जोत्न हलो र साउन दांदेमा नारिएका हुन्छन् l रमिता हेर्ने मान्छेहरु पनि असिनपसिन भएका हुन्छन् l उनीहरुलाई बीउ काढ्न, आली लाउँन, बाउसे र रोपाइँ गर्न भ्याइनभ्याइ छ l

तर, हामी तारुकामा रोपाइँ जात्रा हेर्ने छैनौँ l अनि किन जाने त तारुका ? जिज्ञासा जाग्न सक्छ l

रोई आउँछ रे असार महिना आँसू यहाँ पर्छ रे !

राष्ट्रकवि माधवप्रसाद घिमिरेले पत्नी वियोगमा रचना गरेका शोककाव्य गौरीको पङ्क्ति हो यो l कविपत्नीको असारको एउटा अँध्यारो रातमा निधन भएको थियो l तर, कविले यो पङ्क्ति नुवाकोट तारुकाका लागि पनि लेखिदिएका हुन् भन्दा हुन्छ l

माघेसंक्रान्तिमा साँढे गोरु जुधाएको रमितामा रमाउने तारुकेहरुको मन साउनेसंक्रान्ति सन्मुखको असार आउँदा अमिलिन्छ, ५५ बर्षअघिको ‘नीलो काल’को त्रासदी सम्झेर l

भनिछ नि, सुख बाँडे बढ्छ, दु:ख बाँडे घट्छ l हो पनि l जसरीखुशी बाँड्दा मेरो खुशी झन् बढेको थियो l यहाँ भने तारुकाले व्यहोरेको त्यही ‘नीलो काल’को नालीबेली लगाएर मावलीको दु:खमा मलमपट्टी लगाउन खोजेको हुँ l

यो कोरोना महाव्याधिको कहर कालमा त्यो कलेराको कर्तुत केलाउन जाउँ है त तारुका ?

धपेडी हुने छैन, बाटामा दुइ ठाउँमा बस्दै जानेछौँ l

***

चर्चा चालिसेको:

नौबिसेबाट त्रिभुवन राजपथ छोडेर पृथ्वी राजमार्ग हुँदै अघि बढ्दा दुइ किलोमिटर पनि नकट्दै आउँछ धार्केको चालिसे बजार l

चालिसेमा मेरी सानिमा सावित्री आचार्यको घर छ l उहाँ मामाघरको कान्छा हजुरबाकी छोरी l अर्को नाताले हामी दाजु बहिनी पनि हौँ, सहोदर दिदीबहिनीको छोरीको छोरा र छोराको छोरी l चार बर्ष उमेर अन्तर, उहाँ कान्छी l तर, साबि सानी भन्छु म उहाँलाई l

साबि सानीको जीवनमा घाम र छायाँजस्तै सुख र दु:ख सराबरी छ l तारुकाको एउटा प्रतिष्ठित परिवारमा जन्म भयो l दुइबर्षको हुँदा बा भीमसेन अधिकारीलाई ‘निलो काल’ले निल्यो l टुहुरी तर बिहे भने खानदानी परिवारमा नै भयो l

धादिंगको सुदूर दक्षिणपूर्वमा रहेको धार्केका ‘काले अचार्दा’को बखान मैले सानैमा उत्तर धादिंगको दार्खामा नै सुनेको थिएँ l  भनिन्थ्यो, उनी प्रत्येक छाकमा  एक माना त घ्यू नै खान्छन् !

‘काले अचार्दा’को असली नाम भवनाथ आचार्य हो l तर, ‘काले अचार्दा’ नामबाटै प्रख्यात थिए उनी l मान्छेहरु उनलाई ‘काले अचार्दा’ भनेर नै चिन्थे l

‘काले अचार्दा’को चारवटी श्रीमती, १० छोरा अनि १२ छोरी l उनैको सात नम्बरको छोरा, साहिली पत्नीबाट जन्मेका हरिप्रसाद आचार्यसँग साबि सानीको बिहे भएको हो l

उहाँहरुको एक छोरी सुमित्रा र दुइ छोरा रबिन्द्र तथा ज्ञानेन्द्र जन्मिए l सुखी थियो परिवार l

राज्यद्वारा बेपत्ता पारिएका हरिप्रसाद आचार्य, उहाँकी श्रीमती सावित्री आचार्य र छोरी तथा छोराहरु 

२०६० साल कात्तिक १९ गतेको अँध्यारो रातमा त्यो सुखी परिवारको खुशी लुटियो l तत्कालिन शाही नेपाली सेनाको एउटा टुकुडी नै आएर राती १२ बजे घर घेराउ ग-यो र निहत्था हरिप्रसाद सानुबालाई अपहरण गरेर लग्यो l

हरिप्रसाद सानुबा नेकपा एमालेमा सक्रिय हुनुहन्थ्यो l नेपाल भारतबीच भएको महाकाली सन्धिले नेकपा एमालेमा भंगालो फाट्यो- माले र एमाले पार्टी बने l एउटा पार्टी फुटेर दुइटा पार्टी मात्र बनेनन्, कतिपय कार्यकर्ता दुवै पार्टी ‘संसदीय भासमा जाकिएको’ निष्कर्षसहित तत्कालीन सशस्त्र बिद्रोही नेकपा माओवादीतिर आकर्षित भए l त्यसैमध्येका एक हुनुहुँदो रहेछ हरिप्रसाद सानुबा पनि l

राजतन्त्रात्मक संसदीय व्यवस्था चलिरहेको बेला नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि जनगणतन्त्र स्थापना गर्ने लक्ष्यसहित ‘दीर्घकालीन जनयुद्ध’ चलाइरहेको थियो l

सत्र बर्ष बित्न लाग्यो, हरिप्रसाद सानुबालाई ‘शाही नेपाली सेना’ले लगेको l यसबीचमा मुलुकमा शान्ति सम्झौता भयो l सशस्त्र बिद्रोही माओवादी पनि राजनीतिक मुलधारमा आयो l मुलुकको शासन व्यवस्था नै बदलियो, राजतन्त्र गयो, गणतन्त्र आयो l शाही नेपाली सेनाको नाम बदलियो, नेपाली सेना बन्यो l त्यसैमा माओवादी लडाकु पनि समायोजन भैसके l तर, हरिप्रसाद सानुबाको कुनै अत्तोपत्तो छैन l

राज्यद्वारा ४५ बर्षको उमेरमा अपहृत हरिप्रसाद सानुबा कहींकतै जीवित नै भए अहिले ६२ बर्षको भैसक्नु भएको छ l

महाभारत भित्रको एउटा कथामा कालगतिले मरेका वृध्द पति सत्यवानलाई यमराजकहाँबाट समेत फर्काएर ल्याउन सफल हुन्छिन् सावित्री l सावित्री आचार्यले पनि आफ्ना पति पत्ता लगाउन कहाँ मात्रै हारगुहार गर्नु भएन, कोसँग मात्रै अनुनय विनय गर्नु भएन र ? तर, भगिरथ अधिकारीकी यी नातिनीको ‘भगिरथ प्रयत्न’ व्यर्थ भैरहेको छ l ‘भागीरथी’ धर्तीमा झर्ने त कुरै छोडौँ, असहाय साबि सानीका आँखासमेत भूकम्पपछिको रानीपोखरीसरह सुख्खा भैसकेका छन् l उफ्, कस्तो यमराजभन्दा पनि क्रूर छ है, हाम्रो राज्य सत्ता !

आफ्नै आँखा अगाडिबाट ‘शाही नेपाली सेना’ले लिएर गएका पति सास फेर्दै छन् कि लाश भैसके भन्ने धरी थाहा पाउन नसकेपछि साबि सानी ‘राज्यद्वारा बेपत्ता योध्दा परिवार समाज, नेपाल’मा संलग्न हुनुभयो l

परिस्थितिले साबि सानीलाई चुलोचौकोबाट निकालेर राजनीतिमा हेल्न ल्याइपु-याएको छ l गत स्थानीय निकायको निर्वाचनमा नगर उपप्रमुखको उम्मेदवार हुनुहुन्थ्यो l अहिले नेकपाको नगर कमिटीमा  सचिवालय सदस्य हुनुहुन्छ l

साबि सानी घरमा हुनुहुँदो रहेनछ l अहिले चैं पति पत्ता लगाउन कतै हारगुहार गर्न हैन, धनगढीमा व्यवसाय गरेर बसेको कान्छो छोरा ज्ञानेन्द्रलाई भेट्न जानु भएको रहेछ, गत फागुनको अन्त्यतिर l

सरकारले चैत १० गतेदेखि लागू गरेको ‘लक्डडाउन’का कारण घर फर्किन नपाउँदा कोरोना महाव्याधिको सन्त्राससँगै धनगढीको उखरमाउलो गर्मी झेल्दै हुनुहुन्छ रे l

***

कोल्पुटारमा कथा:

गल्छीबाट त्रिशुलीको शीरतिर लाग्दा भेटिने पहिलो टार हो कोल्पुटार l मेरो ठुलो मामाको नयाँ थातबास भएको ठाउँ हो यो l टारको डिलमै छ उहाँको घर l घरपछाडि तर अलि तल त्रिशुली नदीमा बर्खे भेल उर्लिरहेको छ यत्तिखेर l

मेरा आमा र मामाहरु जन्मे हुर्केको तारुका आमचौरको बाँकेघर अहिले अस्तित्वमा छैन l मामाहरु केही दशकअघि नै त्यो बेचेर बेशी झर्नु भयो l किन्नेले ‘सेतो हात्ती’ धान्न सकेनन्, भत्काएर आफ्नू अनुकूलको घर बनाए l

अंशबंडापश्चात सानो मामा सूर्यप्रसाद अधिकारी तारुका बेशीमा बस्नु भयो भने ठुलो मामा रत्नप्रसाद त्रिशुली तरेर केउरिनीमा l सानो आंगको फाँट भए पनि केउरिनीको माटो अत्यन्तै उर्वरा l

केही बर्ष यता साह्रै फस्टाएको व्यवसाय बनेको छ क्रसर उद्योग l क्रसर उद्यमीले सडक सुबिधा भएको नदी किनारतिरको जग्गा त देख्नै हुन्न, भाडामा लिएर होस् कि किनेर उद्योग खोलि हाल्छन् l त्यसै हो र, बर्खामा जस्तै हिउँदमा पनि धमिलो बग्ने गरेको त्रिशुली नदी !

उर्वर केउरिनीको लोभलाग्दो बालीलाई पनि क्रसरले जित्यो l मामाले पनि आफ्नो जग्गा क्रसर उद्योगलाई भाडामा दिनु भयो l तर, क्रसरको धुलोले त्यहाँ बसिसाध्य भइरहेको थिएन l त्यसैबीच, २०७२ सालको भूकम्पले घर भत्कायो l त्यसपछि उहाँ नजिकैको कोल्पुटारमा घडेरी किनेर सर्नु भएको हो l

मैले २०२२ सालको तारुकाको त्रासद घटना कोट्याएँ l मामाले बेलिबिस्तार लगाउनु भयो:

‘२००६ साल माघ महिना l श्रीपंचमी तिथि l हाम्रो बाँकेघरमा लहरै चारवटा जग्गे लागेको थियो l काका, भतिजा, फुपू र भदैको भनौँ कि दाजु, भाइ, दिदी र बहिनीको भनौँ, विवाहका लागि l सानिमा र ठुलीआमाका छोराछोरी भएकाले हामी भने दाजुभाइ, दिदीबहिनीकै साइनो लगाउथ्यों लगाउँथ्यौँ l

श्री ३ महाराज चन्द्रशमशेरले सती प्रथा र दासप्रथा हटाए पनि बहुबिबाहमा भने बन्देज लगाएका रहेनछन् l चन्द्रशमशेर महाराजकै पालामा मेरा हजुरबा भगिरथले चारवटीसँग विवाह गर्नु भएको रहेछ l

पहिलो पत्नीबाट जायजन्म नै नभएको र दोश्रीबाट पनि एउटा छोरो मात्र जन्मिएकाले उहाँले गोरखा नाम्जुंग सेप्राकको लामिछानेकी छोरी  विवाह गर्नु भएछ l त्यतापट्टिबाट सात छोरी र चार छोरा जन्मिएछन् l मेरा बा यदुकुमार त्यतैपट्टीको माइला छोरा l

दुइवटी पत्नी पहिल्यै बितिसक्या, हाम्री हजुरआमा पनि बित्नु भएपछि हजुरबा साह्रै शोकाकुल हुनुभएछ l ससाना छोरा छोरीको स्याहारसुसार पनि हुन्छ भनेर गोरखा गप्टारको पन्त सम्धीसँग केटी माग्न पुग्नु भएछ l

पहिले अलि आनाकानी गरे पनि अन्तिममा ‘छोरी १३ बर्षकी भैसकी, छिप्पिसकी, टाढा पुगेकी दिदीचैंलाई पनि साथे हुन्छे’ भनेर दिएछन् l यसरी आफ्नै छोराको सालीसँग हजुरबाको चौथो बिहे भएछ l हाम्री आमा नन्दकुमारी अन्तरी, उहाँकी कान्छी बहिनी रुक्मिणी हजुरबाले बिहे गर्नु भएको l

बैस ढल्किसकेको, आफ्नै दिदीको ससुरा, पाँच छोरा र सातवटी छोरीकी बाउसँग बिबाह गर्नु पर्दा मेरी सानिमालाई हुनुसम्म खिन्नता भयो होला l तर, त्यतिबेलाको समयमा महिलाहरुले आफ्ना अभिभावकको कुरो काट्न सक्तैनथे, काट्दैनथे, सानिमाले पनि काट्नु भएन l

सानिमाको अर्को मनमा खुशी पनि लाग्यो होला, आफूभन्दा ठुल्ठूला छोराछोरीहरुले समेत दुलही आमा भन्दै ढोग्दा, सम्मान गर्दा l त्योभन्दा पनि खुशीको कुरा चाहिं उहाँका लागि के भयो भने, कुमार केटोसँग बिहे गरेकी आफ्नी अन्तरी दिदी अर्थात् ‘माइली बुहारी’को जस्तै आफ्ना पनि दुइ छोरा र दुइटी नै छोरी जन्मिए l

हो, ती चारवटा जग्गे सानिमाको कान्छो छोरा भीमसेन र जेठी छोरी ठूलीकान्छीको तथा मेरो र कान्छी बहिनी काशीका लागि लगाइएको थियो l

मेरी दिदी दुर्गादेवी र सानिमाको ठूलो छोरा नानीबाबु दाइको बिहे भैसकेको थियो l मेरो भाइ सूर्य र सानिमाको कान्छी छोरी मिठुको बिहे चैं केही बर्ष पछि मात्र भएको हो l

त्यसरी एउटै आँगन चारवटा जग्गे लगाएर धुमधामले विवाह हुँदा पर्लय रमाइलो भएको थियो l चेलीबेटी, ज्वाईं, भान्जाभान्जी, इष्टमित्रले घर धन्सार खचाखच थियो l दुलाहा दुलही बन्न लागेका हामी सबै भुराभुरी, त्यसै त्यसै फुरुंग थियौँ l

हाम्रो हजुरबा भने साँच्चै हर्षित हुनुहुन्थ्यो l उहाँको कान्छी श्रीमतीको पनि कान्छो छोराको अनि आफूलाई पालेर बसेको छोराको जेठा छोराको विवाह जो भैरहेको थियो l

दुवै बहिनी सिम्खडालाई  दिइएको थियो l ठुलीकान्छीलाई गुम्दीको इंदुमा र काशीलाई दार्खामा l

भीमसेन र मेरो बिहे चाँही नुवाकोट, कुमरीका न्यौपानेकी छोरीहरु, सहोदर दिदीबहिनीसित l मैले दिदी रेमकुमारी बिहे गरेको, भाइ भीमसेनले चैं बहिनी होमकुमारी l

त्यो बिहेमा मलाई एउटै मनखत के रहेको थियो भने ती दुइटी बहिनीको बिहे हेर्न पाइएन l बहिनीहरुको जन्ती आउनुअघि नै हामी अन्मिसकेका थियौँ l भोलिपल्ट हामी दुलही लिएर फर्कँदा बहिनीहरु अन्मेर गैसकेका थिए l

हुन त मनखत जाबोको के लेखाजोखा गर्नु ? मर्माहत नै पार्ने कुरा त सहनु पर्दो र’छ… l’

बोल्दाबोल्दै मामा टक्क अड्किनु भयो l एकैछिनमा मैले २२ सालको घटना सुनाउन फेरि आग्रह गरें l

‘म त्यही सुनाउन खोज्दै थिएँ, कलेजी काटिएर आयो’, मामाले भन्नुभयो l

***

‘चौरासी लाख जुनीपछि मान्छेको चोला पाइन्छ भन्छन् l यो चोलाको पनि चौरासी बर्ष बिते मेरा l यो उमेरसम्म आइपुग्दा आफ्नु र आफन्तका खुशीका कुरा त कति कति भोग्न, देख्न र सुन्न पाइयो l त्यसको के बखान गर्नु ? यही जिन्दगीमा ठुल्ठुला दु:ख पनि सुन्न र व्यहोर्न परेको छ’, मामाले फेरि बेलिबिस्तार लगाउन थाल्नु भयो:

रत्नप्रसाद अधिकारी कान्छा छोरा, बुहारी र नातिसँग l उहाँकी यी बुहारी २०७२ सालको भूकम्पमा घरले किचिएर बितिन् l

‘हाम्रो हजुरबाका नौवटी छोरीमध्ये सातवटी र बाका दुवै छोरी सिम्खडाहरुलाई दिएको l २०१७ सालको पश्चिम १ नम्बरको आतंकमा सिम्खडाहरुको घरमा पनि लुटपाट भयो l हाम्रा दिदी, भिनाजु, बहिनी, ज्वाईं, भान्जाभान्जी सारा लखेटिए l शरणार्थी बन्दै हामीकहाँ पनि आइपुगे उनीहरु l

आफ्नो गाउँठाउँमा त्यस्तो रजगज गरेर बसेकाहरुको कन्थबिजोग देख्नु पर्दा साह्रै दु:ख लाग्यो l तर, उनीहरुको बिस्कुन मात्रै लुटिएको थियो, मान्द्रो छँदै थियो l स्थिति साम्य भएपछि उनीहरु फेरि जस्ताको तस्तै भैहाले l

आमा बित्नु भयो, बा बित्नु भयो, केही बर्षअघि मेरी जहान पनि बितिन् l दु:ख लाग्ने नै भयो l तर, सबैजना कालगतिले बितेकाले मन बुझाउन सकियो l आखिर यो सन्साराँ जन्मेपछि नमर्ने को नै छ र भनेर l

हाम्रो ठुलो ज्वाईं अनन्त गजुरेल गाडी दुर्घटनामा पर्नु भो, सानो ज्वाईं हरिप्रसाद आचार्यलाई सेनाले बेपत्ता पा-यो l  गजुरेल ज्वाईंको लाश पाइए पनि आचार्य ज्वाईंको के कसो भएको छ भन्ने अझैँ ठेगान लागेको छैन l ठूली बुहारीको भाइ ध्रुब दुंगानालाई पनि ६२ सालमा सेनाले मार्‍यो l हाम्री कान्छी बुहारी सावित्री ७२ सालको भूकम्पमा घरले किचिएर मरी l यस्ता खाउँ खाउँ र लाउँ लाउँ बयका मानिस तलमाथि प-यो भने चैं साह्रै असह्य हुँदो रहेछ l

२२ सालको देसानको घटना त सम्झंदा मात्रै पनि छाती नै भत्भती हुन्छ मेरो l दैवले पनि हाम्रो परिवारलाई र त्यसमा पनि हाम्री सानिमालाई कति अन्याय गर्न सकेका ? झन्डै झन्डै उहाँको कोख नै रित्तियो l चार सन्तानमध्ये त्यहाँ नभएकी कान्छी छोरी मीठुदेखि बाहेक,  लक्का जवान छोराहरु नानीबाबु (३२) र भीमसेन (२७) अनि छोरी ठूलीकान्छी (२५)लाई दैवले चुँडेर लगे l बालखा नाती राम (७) र नातिनी भगवती (११)लाई पनि छोडेनन् दैवले l दैवको निर्दयी बज्रपात सहनुबाहेक अरु उपाय केही रहेन l

भीमसेनका दुइ छोरी मैंया र सावित्री अनि नानीबाबुका चार छोरा गोपी, हरि, केदार र नारायण भने अनिकालमा बिउजस्तै त्यो देसानमा जोगिए l केदारलाई त उँदैउँभैको व्यथाले छोएको पनि थियो तर उसले जित्यो l

‘सावाँकोभन्दा ब्याजको माया’ भन्छन् नि, सानिमाले पनि दुइटा छोराको ठाउँमा चारवटा नाती र एउटी  छोरीको साँटोमा दुइटी नातिनीको मुख हेरेर चित्त बुझाउन प-यो l

हाम्रो बसोबास आमचौर गाउँमै भएपनि धेरैजसो जग्गा जमिन तारुकाबेशी र केउरिनीमा थियो l खेतीपाती र वस्तुभाउको हेरचाहमा सजिलोका लागि हामी कोही कता कोही कता बाँडिएका थियौँ l त्यतिबेला सानिमाहरु केउरिनीमा बस्नु भएको थियो l

दिनभरी तारुकाबेशीमा असारे मेलापातमा सामेल भएर केउरिनी फर्केका भीमसेन भाइलाई बेलुकादेखि उँदैउँभैको व्यथा सुरु भयो l दिसा र बान्ता दुवै चौलानी जस्तो l तारन्तारको उँदैउँभैको व्यथाले ऊ निस्लोठ भयो l आँखा गडेका थिए l हातखुट्टा फर्फराउँथ्यो l चीसो भएको शरीर नीलो न नीलो पनि हुँदै गयो l

भोलिपल्ट अब टिक्दैन भन्ने भएपछि भीमसेनलाई हाम्रो पुर्ख्यौली घाट, तारुकाघाटमा जलाश्रय राख्न लगियो, त्यहीँ उसको परान गयो l दाहसंस्कार त्यहीँ गरियो l मलामी पनि थुपै जम्मा भएका थिए l

त्यसपछि केउरिनीमा त्यस्तै उँदैउँभैको व्यथाले बितेका नानी बाबु दाइ, उहाँका बालखा छोरा र छोरी र घरजम बिग्रेर माइतीमै बसेकी ठूली कान्छीलाई भने जलाइएन l त्यस्तो व्यथाले बितेकालाई जलाउन हुन्न भने मान्छेहरुले l कोही पनि मलामी आएनन् l परिवारका मान्छे मात्र गएर त्रिशुली नदीको बगरमा गाड्यौं l

कुरू क्षेत्रको लडाई बरु १८ दिन चलेको थियो, हामीले जम्माजम्मी नौ दिनको बीचमा कल्पनै नगरेको बिपत्ति व्यहोर्नु प-यो l

हजुरबाले २००६ साल माघमा बाँकेघरमा लगाउनु भएको चारमध्ये दुइटा जग्गे उजाडियो l धन्न, हजुरबाले यो दृश्य देख्न परेन l उहाँ स्वर्गे भएको नौ बर्षपछि मात्र यो घटना भएको हो l’

मामाले बेलिबिस्तारको बिट मार्नु भयो l तपाईंहरुलाई प्रष्ट पारिहालुँ, म उहाँको कान्छी बहिनी काशीको छोरा हुँ l

***

तत्त्वबोध तारुका:

तारुकाघाट l घाट भनेको पहिले पहिले डुंगा चल्ने ठाउँ, नदी वारपार गर्न l अहिले भने यहाँ मोटरसाईकलसम्म वारपार गर्न मिल्ने झोलुंगे पुल छ l अहिले झोलुंगे पुल भएको ठीक मुन्तिर त्रिशुली नदी किनारमा हो मेरो ठुलो मामाको भाषामा ‘उँदैउँभैको व्यथा’ले बितेका भीमसेन अधिकारीको चिता जलेको l

तारुकाघाटको झोलुंगे पुल l यसैको मुन्तिर त्रिशुली नदी किनारमा भीमसेन अधिकारीको चिता जलेको थियो 

मेरा मामाले भन्नुभएको ‘उँदैउँभैको व्यथा’ भनेको हैजा (कलेरा) हो l मलाई लाग्छ, उहाँले हैजा भन्न नजानेर ‘उँदैउँभैको व्यथा’ भन्नु भएको हैन l

तारन्तार चौलानीजस्तो पखाला लाग्नु र बान्ता हुनु भनेको हैजा लागेको हो भन्ने मामालाई थाहा थियो l

हैजाको बिरामीको पिसाबको मात्रा घट्दै जान्छ, आँखा गढ्छ, हातगोडा फर्फराउँछ, छाला चिसो हुन्छ, बिरामीको शरीर नीलोसमेत हुँदै जान्छ भन्ने पनि मामालाई थाहा थियो l

हो, तारन्तार दिसा र वमन हुँदा शरीरमा पानीको मात्रा कम भएर बिरामीको शरीर नीलोसमेत हुने हैजालाई ‘नीलो काल’ (ब्लू डेथ) पनि भनिन्छ भन्ने चैं उहाँलाई थाहा थिएन l

त्यस्तो बेला बिरामीलाई पानी प्रशस्त पिउन दिनु पर्छ भन्ने पनि मामालाई थाहा थिएन l [ त्यतिबेलासम्म हैजा र झाडापखालाको प्राथमिक उपचारमा नुन चिनी पानी, जीवनजल आदि खुवाएर दिसा र बान्तामा खेर जाने पानीको सट्टाभर्ना गर्ने पध्दति नै विकास भएको थिएन l मामालाई मात्र के थाहा हुनु ? तारुकामा हैजाको प्रकोप फैलिएको अर्को साल (सन् १९६७ / सम्बत् २०२३ मा ) मात्र बंगलादेश (तत्कालीन पूर्वी पाकिस्तान) आइपुगेका अमेरिकी वैज्ञानिक डा. डेभिड नलीनले यो पध्दति त्यहीं आविस्कार गरेका हुन् l ]

झाडा पखाला र हैजामा पुनर्जलीय पध्दतीको प्रयोक्ता डा. डेभिड नलीन 

हो, हैजा भिब्रियो कलेरा ब्याक्टेरीया (जीवाणु) सङ्क्रमणले हुने रोग हो, राम्रोसँग नपाकेको माछालगायतका जलचरको परिकार (सी फुड) यो ब्याक्टेरियाको मुख्य स्रोत हो र हैजाको जीवाणुले सानो आन्द्रामा आक्रमण गर्छ भन्ने जस्ता कुरा पनि मामालाई थाहा थिएन l

त्यस्तो जीवाणुयुक्त खाना खाएर संक्रमित भएको मानिसको दिसा मिसिन पुगेको पानी तथा यस्तो पानीमा पखालिएको खानेकुराबाट यो रोग अरुमा सर्छ र यो रोग मानिसबाट मानिसमा सिधै चाहिँ सर्दैन भन्ने पनि मामालाई थाहा थिएन।

सरसफाई, स्वस्थकर खाना, सफा खानेपानी, व्यवस्थित ढल र शौचालयको व्यवस्था भयो हैजा लाग्दैन भन्ने कुरा पनि मामालाई थाहा थिएन l

मामालाई मात्र हैन, यीमध्ये कतिपय कुरा बिगतमा ‘मै हुँ’ भन्ने मान्छेहरुलाई समेत थाहा थिएन l

भनिन्छ, एक सय १७ बर्षअगाडि राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार एशिया महादेशमै ठुलो दरबार थियो l त्यसमा एक हजार ९९ कोठा थिए l तर, एउटै चर्पी थिएन l

सिंहदरबार बनाएको दुइबर्षपछि सम्बत् १९६५ मा काठमाडौँ उपत्यकामा हैजाको महामारी फैलिएको र त्यसमा चन्द्रशमशेरकै एउटी पत्नीसमेत मरेकी थिइन् रे l सफा खानेपानी, व्यवस्थित ढल र शौचालयको व्यवस्था भयो भने हैजा लाग्दैन भन्ने थाहा भएको भए पक्कै पनि चन्द्रशमशेरले सिंहदरबारमा चर्पी बनाउँथ्ये होलान् !

त्यस्ता शासकबाट शासितहरुको घरमा चर्पी कहाँ हुनु ? संस्कार र पानी माथिबाट तल आउँछ भनिन्छ l र त, केही बर्षअघिसम्म पनि अधिकांश नेपालीको घरमा चर्पी थिएन, खुला शौच सर्वत्र प्रचलित थियो l बन बुट्यान, नदी किनार, बाटाका छेउछाउ, बारीका कुना जतासुकै नेपालीको चर्पी !

खुला शौच प्रचलित नेपाली जनजीवनमा ‘नियमित आकस्मिकता’ बन्दै आएको रोग हो हैजा l नेपाली जनजिब्रोमा झुण्डिएको शब्दसमेत हो हैजा l त्यसैले त गाउँघरतिर कसैले कसैलाई सराप्दा ‘हैजाले लगि हालोस्’ अथवा ‘हैजाले लान भुलेको’ आदि भन्छन् l

शायद, सराप्दा प्रयोग हुने शब्द भएकाले नै मेरो मामाले आफ्ना प्रियजनहरुको काल बनेर आएको हैजाको नाम लिन चाहनु भएन l

मामाले हैजाको नाम नलिए पनि, त्यो असारमा तारुकाकै चौतारा गाउँका पाँच जना न्यौपाने तथा कामी गाउँका १३ जना कामी र सार्कीको एकबारको जुनी पनि हैजाले नै चुँडेको थियो l

कामी गाउँमा त कतिवटा घरको दैलो नै लागेको थियो रे l त्यहाँको कलेरा कर्तुतको कहालीलाग्दो कथा अरु कारुणिक बन्न सक्छ l

त्यसोभए किन आमचौर बाँकेघरको कथामा केन्द्रीत भएँ त म ? जवाफ हो, केवल मेरो सजिलोका लागि, सूचनाको सहजताका लागि l आखिर, ५५ बर्ष पुरानो त्रासदी जो उधिन्नु थियो र वर्तमानमा उन्नु पनि l

केही महिनाअघि मात्र दिवङ्गत पिटर जे कार्थकको स्वादिलो उपन्यास छ नि, प्रत्येक ठाउँ प्रत्येक मान्छे l हो पनि, प्रत्येक ठाउँको कथा हुन्छ, प्रत्येक मान्छेको पनि l

यदि म शिल्पी परिवारको सदस्य हुन्थ्यें भने यो आलेखमा उल्लेख हुने पात्रहरु अरु अरु नै हुन सक्थ्ये l त्यसै होइन नि, मुलुकले ‘समावेशी समानुपातिक र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’ गर्नु परेको l

तारुकाको त्यो त्रासद असारमा जीवन गुमाएका तेइसै जनाप्रति मेरो श्रद्धा सुमन छ !

र, यो आलेखको अन्त्य गर्नुअघि फेरि राष्ट्रकवि घिमिरेकै शोककाव्य गौरीका यी दुइ पङ्क्ति उद्धृत गर्छु:

साँचो जीवन त्यो गुमाइ कसरी झूटो कथा यो भनूँ

वैरीलाई समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !   

एक पटक पढ्नुहोस