कमरेडहरूकी ‘दिदी’ चुमकला

चुमकला बन्जाडे पहिलो पटक कारागार गएको ४० वर्ष पुग्यो।

यो २०३७ सालको कुरा हो। अहिले ७६ वर्ष पुगेकी चुमकलालाई ती दिन सम्झेर अचम्म लाग्छ।

आफ्नो घरमा राती राती आउने कमरेडहरूले के-के कुरा गर्थे, उनी शब्द-शब्दको अर्थ लगाउन सक्थिनन्। तर उनीहरूले देशको भलाई हुने काम गरिरहेका छन् भन्नेमा उनी ढुक्क थिइन्।

२०२० सालमा अर्घाखाँचीबाट भैरहवाको बसडिलवा भन्ने ठाउँमा उनको परिवार बसाइ सरेको थियो। छोराछोरीको रेखदेख, खुवाइ-पिवाई र खेतीपातीमा चुमकलाका दिन बित्थे।

पहाडबाट आएर किनेको सबै खेत बाढीले काटेर लगिदियो। अर्काको खेतमा दिनभरि काम गर्थिन्। दिनभर काम गरेर कमाएको थोरै खर्चले साँझ परिवार चल्थ्यो।

चुमकलाको परिवारमा एकदिन रात परेपछि नौला मान्छेहरू आए। साँझ आएका पाहुना देउता बराबर।

उनीहरू सरकार (पञ्चायत) विरूद्ध  लागेका मान्छे हुन् भनेर चुमकलालाई पछि मात्र थाहा भयो। ती मानिसहरू चुमकलाकहाँ आइरहन थाले।

उनीहरू जीवराज आश्रित, मोदनाथ प्रश्रित, विष्णु पौडेल, प्रदीप ज्ञवाली, रामचन्द्र भट्टराई, चन्द्रप्रकाश मैनाली, शान्ता मानवी लगायत नेता थिए। पालैपालो आउँथे।

गाउँको बीचमा रहेको आफ्नो कच्ची घरलाई नेताहरूले किन रोजे, थाहा पाइनन्। धेरैपछि बल्ल उनले बुझिन्, यी त ‘गरिबका मान्छे’ रहेछन्।

आश्रय लिन पुगेका नेताहरूलाई चुमकला आफूले सकेको स्वागत-सत्कार गर्थिन्। चुलोमा जे पाकेको छ, बाँडिचुँडी खान दिन्थिन्।

‘भात मात्र रहेको छ भने नुन-खुर्सानी पिसेर पनि खानुहुन्थ्यो,’ उनले भनिन्, ‘विष्णु पौडेल त यसो चुलोमा भात पाकेको नदेखे मैले खाएर आएको छु भन्नुहुन्थ्यो।’

जति ढाँटे पनि नेताको अनुहार हेरेरै कसले खाना खाएको छ, कसले नखाएको उनले थाहा पाइहाल्थिन्। एकदिन त्यसरी नै उनलाई छल्न खोजेका पौडेललाई चुमकलाले पक्रिहालिन्। खाना पकाएर खुवाइन्।

खाएपछि त पौडेलले भनेछन्- तीन दिनपछि भात खाएको, लाग्यो।

‘त्यसपछि लठ्ठ परेर सुत्नुभयो,’ उनले भनिन्।

चुमकलालाई ती दिन हिजोजस्तै लाग्छ रे।

ती कमरेडमध्ये कसैले चुमकलालाई दिदी भन्थे, कसैले बहिनी। मोदनाथ प्रश्रित, विष्णु पौडेल र चुमकलाको सम्बन्ध त दाजुबहिनी र दिदीभाइको जस्तै थियो। अझै पनि उनी प्रश्रितलाई दाइ भन्छिन्, उनका छोराछोरी मामा भन्छन्।

नेताहरूको आउजाउ बढेपछि उनलाई पनि राजनीतिप्रति अलिअलि चासो लाग्न थाल्यो। घरभित्र नेताहरू छलफल गर्थे। तर घरधन्दामै व्यस्त हुने चुमकलालाई छलफलमा बस्ने फुर्सद थिएन। उनी काम गर्दै बाहिरबाटै कुरा सुन्थिन्। बुझ्ने जति बुझ्थिन्। नभए लख काट्थिन्।

नेताहरूको सुरक्षामा उनको चासो बढ्न थाल्यो। घरभित्र बैठक गरिरहेका नेतालाई कसरी जोगाउने भनेर उनका विभिन्न तर्किव हुन्थे। बच्चाबच्चीलाई समेत सिकाएकी थिइन्।

‘नेताहरू घरभित्र बैठक बस्नुहुन्थ्यो। बाहिर कोही आयो भने छोराछोरीले पनि भाँडा बजाएर भाग्न संकेत गर्थे,’ उनले सम्झिन्, ‘नेताहरूको कुरा सुनेर उनीहरूलाई पनि राजनीतिले छोइसकेको थियो। म पनि फुर्सद भयो भने छलफलमा बस्थेँ।’

चुमकलाका श्रीमान रविलाल बन्जाडे भने केही समयमै नेताहरूसँग भूमिगत हुन गए। रविलाल नौ वर्ष भूमिगत भएर व्यवस्था परिवर्तनमै सक्रिय भए।

मोदनाथ प्रश्रित र विष्णु पौडेल मुक्तिमोर्चाका पर्चा र किताब छपाइका लागि बनारस गइरहन्थे। एकदिन किताब र पर्चा छापेर मोदनाथ नौतनहवा हुँदै भैरहवा फर्किँदै थिए। यताबाट विष्णु पौडेल केही कार्यकर्ता र किसानका साथमा किताब लिन गएका थिए। प्रहरीले चाल पायो। किताबसहित सबैलाई पक्रियो।

मोदनाथ र विष्णु पौडेल पक्राउ परेपछि जेलमा धेरै कुटाइ खाए भन्ने खबर आइरहन्थे। चुमकलाको मन खाइरहन्थ्यो।

एकदिन जेल भित्रबाट नेताहरूले चिठी लेखे- ‘भोलि खीर लिएर आउनू, खीरभित्र एउटा ह्याक्सो, केही नटबल्टु र टर्च लाइट ल्याउनू। हामीले जेलको ढोका फोरेर निस्किने तयारी गरेका छौं।’

चिठी त आयो तर जेलभित्र खानासँगै ती सामान पुर्‍याइदिने मान्छे कोही भएन।

‘कसैगरी जेलर र प्रहरीले पत्तो पायो भने खाना लगिदिने मान्छेलाई पनि भित्रै हाल्थ्यो। म लगिदिन्छु भन्ने कोही ननिस्किएपछि ती सबै सामान मै पुर्‍याउँछु भनेर जान तयार भएँ,’ उनले भनिन्।

सकेसम्म लुकाएर लैजाने, कसै गरी प्रहरीले भेटे नेताहरूसँगै जेलमा बस्ने मन उनले बनाइन्।

ह्याक्सो, नटबल्टु र टर्च लाइट अटाउन र ढाक्न अलि ठूलै भाँडो चाहिन्थ्यो। दालभात, खीर धेरै बनाएर लगे पनि बिग्रिन्थ्यो।

बिग्रिने चिज यति धेरै किन ल्याएको भनेर शंका हुन्थ्यो।

उनले चामलको पुवा औषधि राखेर बनाइन्। तामाको ठूलो आरी भाँडोको पिँधमा प्लास्टिकभित्र सामान बेरेर राखेपछि त्यसमाथि पुवा राखिन्।

‘नेताहरूले जेलमा पिटाइ खाएका थिए। औषधि राखेको पुवाले दुखेको शरीर पनि निको होला भन्ने भयो,’ उनले सुनाइन्।

उनी कारागार जाँदा मोदनाथ प्रश्रितकी बहिनी बनेर भित्र गइन्। भर्खर पहाडबाट झरेजस्तै कपाल थाप्लोमा बाटिन्, घाँटीमा ठूलाठूला मुगाको माला लगाइन्, धोतीमाथि पटुका बाँधिन्।

‘साँच्चै भर्खर पहाडबाट आएजस्तो पहिरन बनाएँ,’ उनले हाँस्दै भनिन्।

खाना आएको थाहा पाएपछि विष्णु पौडेल दौडेर लिन आए।

‘खाना भन्दा पनि जेल तोड्ने सामान आएको छ भन्ने उहाँहरूलाई हतार थियो होला,’ उनले भनिन्, ‘छिटोछिटो पुवाको भाँडोभित्र लगेर खन्याएर बाहिर ल्याइदिनुभयो।’

उनी त्यहाँ केहीबेर नेताहरूलाई बाहिरैबाट हेरेर बसेकी थिइन्। भित्रबाट लालसलाम भन्दै मोदनाथ बाहिर निस्किए। उनलाई फसाद पर्‍यो।

‘भित्र जाँदा मोदनाथकी बहिनी बनेर गएकी थिएँ। उहाँ लालसलाम भन्दै चिच्च्याउँदै आउनुभयो,’ उनले सम्झिन्, ‘मैले ढाँटेको पक्रिन्छन् र मलाई पनि भित्र हाल्ने भए भनेर मलाई डर लाग्यो।’

जेलर र प्रहरी कसैले पनि त्यतातिर ध्यान दिएका रहेनछन्। चुमकला जेलबाट फर्किएर घर आइन्। त्यही राती मोदनाथ र विष्णु पौडेल लगायत ६/७ जना कमरेड जेल तोडेर बाहिर निस्किएछन्।

उनीहरूलाई राखेको कोठाको झ्यालको डन्डी बीचमा खिइएको थियो। त्यसैलाई काटेर बाहिर निस्कने योजना बनाएका रहेछन्। कसरी जेल तोडेर निस्किए भन्ने कथा त चुमकलाले धेरै पछि सुनिन्।

मोदनाथहरू जेलभित्र बाजागाजा बजाउँदा रहेछन्। कतिले कविता भन्ने, जागरणका गीत गाएर जेलभित्रै रमाइलो गर्थे रे। त्यस दिन पनि साँझ परेपछि एकथरि डम्फु बजाएर गीत गाउन थालेछन्, अर्काथरि ह्याक्सोले झ्यालको डन्डी काट्न।

डन्डी काटेपछि झ्यालका खापाहरू पनि निकालेर त्यसलाई जोडेर पर्खाल चढ्न मिल्ने बनाए रे। बिहान ४ बजेतिर जेलका सबै सुरक्षाकर्मी निदाएको मौका पारेर नेताहरू भागेछन्।

त्यो घटना अहिले पनि ‘भैरहवा जेल ब्रेक’ का नाममा चर्चित छ। कम्युनिस्ट पार्टीले आफ्ना दस्तावेजहरूमा यो घटना उल्लेख गर्दै आएका छन्। तर चुमकलाको आँटको कथा भने तिनमा छैनन्।

विष्णु पौडेल अहिले नेकपा महासचिव भइसकेका छन्। उनले चुमकलालाई साहसी र आँटिली महिलाका रूपमा स्मरण गरिरहने बताए।

‘उहाँ पार्टी, संगठन र जनताप्रति समर्पित, साहसी र आँटिली महिला हो। उहाँको त्यो साहस र आँट नभइदिएको भए हामी त्यो बेला जेलबाहिर निस्कने सक्ने थिएनौं,’ पौडेलले सेतोपाटीसँग भने, ‘उहाँको योगदानलाई म सधैं सम्मान र स्मरण गरिरहन्छु।’

मोदनाथहरू निस्किएपछि भने चुमकलालाई प्रहरीले निशाना बनायो।

‘उहाँहरू त्यही रात जेल तोडेर निस्किएपछि प्रहरीले मलाई छ्याप्प छ्याप्ती खोज्यो,’ चुमकलाले भनिन्, ‘मोदनाथकी बहिनी हुँ भन्थी, त्यसैले हतियार ल्याएकी रहिछे भनेर मलाई खोज्यो।’

जेलमा जाँदा जस्तो पहिरन र हुलिया उनले फेरिसकेकी थिइन्। गाउँलेले पनि यहाँ त पहाडी कोही बस्दैनन् भनेर लुकाए। प्रहरीले उनलाई भेटाउन सकेन।

त्यसअघि पनि चुमकलाको घरमा भूमिगत बसेका नेताहरू खोजी गर्न प्रहरी गइरहन्थे। ‘रविलाल बन्जाडेको घर कुन हो’ भन्दै प्रहरी आइरहन्थे। गाउँलेले त्यो नाम गरेको मान्छेको घर त यहाँ छैन भनेर फर्काइदिन्थे।

‘नेताहरू कहिले गाईभैंसीको गोठमा गोबर फालेजस्तो गर्नुहुन्थ्यो। कहिले खेतबारीमा काम गर्न जानुहुन्थ्यो। त्यसो गरेपछि गाउँले नै रहेछन् भनेर प्रहरी फर्किएर जान्थ्यो,’ चुमकला बताउँछिन्।

उनको घरमा २५/३० बोरा किताबहरू लुकाइएको थियो। पढ्न नजानेकी चुमकलालाई प्रहरीले किताबहरू फेला पार्ला भन्ने ठूलो डर थियो। उनले कोठामा भुइँ खनेर त्यसभित्र किताब राखेर माथिबाट लिपेर जोगाउँथिन्।

उनलाई घरमा आउने नेताहरू उमेरअनुसार दिदी वा बहिनी भन्थे। त्यही सुनेर होला, अरू कार्यकर्ता र गाउँलेले पनि ‘पार्टीकी दिदी’ भन्थे।

‘पार्टीकी दिदी, आज पर्चा छर्नु पर्ने। हामी गाउँ डुल्दा अरूले देखेर समातिन्छौं कि, के गर्ने होला,’ पार्टीका मान्छेले यसो भन्थे अनि पर्चा छर्न उनी आफैं कस्सिन्थिन्।

‘राती छोराछोरीलाई खाना खुवाएर सुतेपछि कम्मरमा खुकुरी भिरेर माथिबाट कोट लगाउँथे। त्यसपछि गाउँ डुलेर पर्चा छर्थेँ,’ चुमकला अझै पनि सम्झिन्छिन्।

राती एक्लै गाउँ डुल्दा उनलाई डर लाग्दैनथ्यो रे।

‘राजनीति लागेपछि कहीँ डर लाग्छ र,’ उनले आफैं उत्तर दिइन्, ‘राजनीतिले त डर खाइदिने रहेछ।’

रातभर आफूले छर्दै हिँडेका पर्चा/पम्प्लेटमा के लेखिएको हुन्थ्यो, उनलाई थाहा हुन्थेन।

‘पढ्न नजाने पनि साथीहरूले भनेपछि राम्रै होला भनेर छर्न जान्थेँ,’ उनी पुराना दिन सम्झेर मुस्कुराइन्।

उनलाई लागेको थियो, नेताहरू जनताकै भलोका लागि लडिरहेका छन्। यसरी लडेका नेता माथि पुगेपछि जनताको भलो गर्छन् भन्नेमा ढुक्क थिइन्।

अचेल भने त्यति बेलाको उनको विश्वास डगमगाएको छ।

आफूले जोगाउँदै माथि पठाएका नेताहरूलाई अहिले पद, पैसा र शक्तिका लागि लुछाचुँडी गरेको देख्दा उनलाई वाक्कै लाग्छ रे।

‘अहिले त नेताहरूलाई सम्झिन पनि मन लाग्दैन। कहिलेकाहीँ त भोट पनि दिन नजाऊँ जस्तो लाग्छ,’ उनले दिक्दार हुँदै भनिन्, ‘कति गरेर लुकाएर राखियो। आफ्नो घरमा आश्रय लिएका सबैजसो नेता सत्ता र शक्तिमा रहिरहे। तर जब माथि गए तलका सबै बिर्सिए।’

‘आफूहरूलाई संगठित गर्दा पद, शक्ति र पैसाको पछि लाग्नु हुँदैन, जनताको सियो-धागो समेत त्यसै लिनु हुँदैन’ भनेर सिकाउने नेताहरू सत्तामा पुगेपछि सम्पन्न भएको देख्दा अचम्मै लाग्ने उनी बताउँछिन्।

‘हाम्रा नेता सत्तामा जानुभयो भनेर खुसी हुनुपर्ने हो। तर देश र जनताका लागि के गर्नुभयो खोइ? भ्रष्टाचारी, बलात्कारी, हत्यारालाई जोगाउने काम भइरहेको छ। अनि कसरी खुसी हुनु,’ उनको प्रश्न छ।

एक पटक पढ्नुहोस