आठ दिनमा ३६ जनाको मृत्यु, उपत्यकाको अस्पतालमा १७ जना

२८ साउन, काठमाडौं । साउन २० गतेसम्म नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ थियो । २१ गते एकैदिन ६ जनाको मृत्यु भयो । त्यससता २४ गतेबाहेक हरेक दिन संक्रमितको मृत्यु भइरहेको छ । आज (बुधबार) एकैदिन ११ जनाले ज्यान गुमाएका छन् ।

यससँगै मृतकको सङख्या ९४ पुगेको छ । अर्थात ८ दिनमा ३६ जनाको मृत्यु भएको छ । ३६ मध्ये १७ जनाको मृत्यु उपत्यकाका अस्पतालहरुमा भएको छ ।

गएका ८ दिनमा मृत्यु भएका ३६ मध्ये १७ जना उपत्यकाका अस्पतालमा उपचारत थिए भने ७ जना पर्साका अस्पतालमा । धनुषाका ३, मोरङका २ र काभ्रे, सिन्धुपाल्चोक, सिरहा, सुनसरी, बाँके, सप्तरी, महोत्तरी र कास्कीका क्रमशः १/१ जनाको यस अवधिमा मृत्यु भयो ।

केस हिस्ट्रीले भन्छ : सबै मानिस जोखिममा

कोरोना संक्रमणसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दीर्घरोगी र बृद्धवृद्धालाई संक्रमणको जोखिम बढी हुने बताएको थियो । नेपालमा सरकारले पनि ६० वर्षमाथि र १२ वर्षभन्दा कम उमेरहरुलाई घरमै बस्न आग्रह गरेको छ ।

तर, पछिल्लो ८ दिनको मृत्यु हेर्दा नेपालमा सबै उमेर समूह र रोग भएका मानिसहरुमा जोखिम भएको देखिन्छ ।

८ दिनको तथ्यांक विश्लेषण गर्दा २० देखि ४० वर्ष उमेर समूहका ९ जना संक्रमितको मृत्यु भएको छ । जसमा गम्भीर किसिमको दीर्घरोग नभएर खोकी, श्वास प्रश्वास, झाडा–बान्ता जस्ता लक्षणहरु थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल लगिएको थियो । यस्तै १९ वर्षीय २ जना संक्रमितको मृत्यु भएको छ, जसमा अरु कुनै गम्भीर समस्या थिएन ।

४० देखि ६० वर्ष उमेर समूहका १३ जनाको मृत्यु भयो । यो समूहका अधिकांशलाई निमोनिया, मधुमेह, मुटु रोग, मिर्गौला, उच्च रक्तचापजस्ता दीर्घरोग देखिएको थियो ।

गएका ८ दिनमा ६० देखि ८० वर्ष उमेर समूहका ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भयो । उनीहरुमध्ये अधिकांश दीर्घरोग लिएर उपचार गराउन अस्पताल पुगेका थिए । उपचारका क्रममा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

शुक्रराज ट्रपिकत तथा सरुवा रोग अस्पतालको निर्देशक सागरराज भण्डारी भन्छन्, ‘हाम्रो अस्पतालमा उपचाररत संक्रमितमा युवा, दीर्घरोगी र वृद्धा सबै छन् । बढी लक्षण भएकाहरु र कोभिडले गाह्रो पारेका चाहिँ दीर्घरोगी र वृद्धबृद्धा छन् ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार दीर्घरोगीहरुको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । विभिन्न दीर्घरोगले रोग प्रतिरोधात्मक कोषिकालाई दबाउने र निश्क्रिय बनाउनुका साथै फोक्सोका कोषिकाहरूमा असर पार्छ ।

‘भाइरसले प्रत्यक्ष असर गर्ने भनेको रोग प्रतिरोधात्मक क्षमतामा हो, शरीरमा भाइरसको प्रवेश गरेपछि मानिसको कोषिकाहरु ड्यामेज गर्छ,’ डाक्टर पुनले भने, ‘बढ्दो उमेर र दीर्घरोगले कमजोर बनेको मानिसको रोग प्रतिरोधात्मक क्षमता भाइरसले झन् कमजोर बनाउँछ र ‘मल्टी अर्गान फेल’ (शरीरका विभिन्न अंगले काम नगर्ने) हुन सक्छ ।’

छातीसम्बन्धी डाक्टर सन्तकुमार दासका अनुसार श्वास–प्रश्वासका समस्या भएका संक्रमितहरु अधिकांश धुमपान गर्ने छन् । क्षयरोग र ब्याक्टेरियल निमोनियाको खतरा पनि धमपान गर्नेहरूमै बढी देखिन्छ । ‘श्वास–प्रश्वास र निमोनिया भएकाहरुमा भाइरसले चाँडो संक्रमण गरेर गलाउनु सामान्य हो’ डा. दास भन्छन्, ‘कोरोना भाइरसले विशेष गरी श्वास–प्रश्वासमा आक्रमण गर्ने भएकाले पनि यो भाइरसको संक्रमण छातीको समस्या भएकाहरुलाई काल नै हो ।’

डाक्टर दासले भनेजस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुमा ६० प्रतिशतभन्दा बढी छातीसम्बधी रोगका विरामी छन् । २० प्रतिशत अन्य दीर्घरोगी र बाँकी २० प्रतिशत अन्य किसिमका बिरामीहरु रहेका छन् ।

चीनमा कोरोना संक्रमितमा गरिएको अध्ययनअनुसार गम्भीर असर देखिएकाले आईसीयू र भेन्टिलेटरमा राख्नु परेका धेरै श्वासप्रश्वासका रोगी थिए । अन्य व्यक्तिभन्दा श्वासप्रश्वासको रोग भएको व्यक्ति भाइरसबाट बढी पीडित थिए ।

गएका ८ दिनमा मृत्यु भएका ३५ मध्ये १८ जना आईसीयूमा उपचाररत थिए भने ४ जना भेण्टिलेटरमा । अन्यको आइसोलेसनमा उपचाररत रहँदा मृत्यु भएको थियो ।

‘उत्कर्षमा पुग्न बाँकी नै छ’

सरुवा रोग विशेषज्ञ डाक्टर पुन पछिल्लो समय बढदै गएको संक्रमण र मृत्युले जोखिम बढ्ने संकेत मिलेको बताउँछन् । दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमणको ग्राफ नघटेसम्म नेपालमा जोखिम कम नहुने उनको तर्क छ ।

‘आगामी दिन झन चुनौतीपुर्ण बन्दै जानेछ’ डाक्टर पुन भन्छन्, ‘पछिल्ला मृत्युहरुले संक्रमण अरु देशमा जस्तो खराब अवस्थामा जाने त होइन भन्ने भएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम भने आमनागरिकको लापरवाही नघटेसम्म राज्यले मात्रै गरेर जोखिम कम नहुने बताउँछन् । भन्छन्, ‘जनताले राज्यलाई सहयोग नगरेसम्म जोखिमबाट मुक्त हुन सक्दैनौं ।’

सरुवा रोग विशेषज्ञ डाक्टर पुन भने राज्यले संक्रमणको कुन चरणमा छौं भनेर प्रष्ट पार्नुपर्ने बताउँछन् । राज्यले नै लकडाउन हट्यो भन्ने संन्देश दिँदा पनि जोखिम बढेको भन्दै उनले भने, ‘पछिल्लो समय भारत तथा संक्रमण फैलिएका जिल्लाबाट काठमाडौं उपत्यकामा प्रवेश गरेका मानिसहरुमा पनि संक्रमण पुष्टि भएको छ । यो पनि जोखिम बढेको संकेत हो ।’

डाक्टर पुनले भनेझै पछिल्लो १० दिन (सोमबारसम्म) मा काठमाडौं उपत्यकामा ६२० जनामा संक्रमण देखियो, जसमध्ये ३ सय ७८ जना उपत्यका बाहिरबाट ट्राभल गरेर आएका थिए । त्यसमा पनि २३ जना भारतबाट आएका थिए ।

जनस्वास्थ्यविज्ञ डाक्टर समिरमणि दीक्षित भारत तथा तेस्रो मुुलुकहरुबाट आएकालाई १४ दिन राखेर परीक्षण नगरी पठाउनुको नतिजा पनि अहिले देखिएको बताउँछन् । उनका अनुसार त्यतिबेला सबै संक्रमित र सम्भावित संक्रमितलाई परीक्षण गरेर मात्र घर पठाएको भए अहिले समुदायमा संक्रमण पुग्दैनथ्यो ।

‘पछिल्लो मृत्युहरुले संक्रमण समुदायमा गएको देखाएको छ’ डाक्टर दीक्षित भन्छन्, ‘अधिकांश मृत्यु उमेर बढी भएकामा देखिएको छ, जसले समुदायमा संक्रमण पुगेको देखाउँछ । यो अवस्थामा राज्यले वडा–वडामा गएर परीक्षण बढाउनुपर्छ ।’

साथै समुदायमा भएका दीर्घरोगी र वृद्धवृद्धालाई बचाउनुपर्ने डाक्टर दीक्षित बताउँछन् । तथ्यांकले पनि वृद्धवृद्धा र दीर्घरोगीलाई जोखिम देखिएको भन्दै भन्छन्, ‘संक्रमण हामीबीचमै छ, यसलाई स्वीकार्दै जनस्वास्थ्य मापदण्ड पालना गरौं ।’

एक पटक पढ्नुहोस