भारत छिर्दै नेपाली: ‘रोगको डरले आए, भोकको चिन्ताले फर्कँदैछन्’

महेन्द्रनगर – साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा हुनुहुन्छ ।

धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतरामको सपना कोरोना कहरसँगै तुहिएको छ । “छोराले विदेशमा कमाएर एउटा ओतबस्ने घरसम्म त बनाउँला भन्ने सोचेको थिएँ” सीतारामले दुखेसो पोख्दै भन्नुभयो– “छोरो केही दिनअघि रित्तो हात घर फर्कियो, अब दैनिक जिवीकाको त कुरै भएन ऋण कसरी तिर्ने भन्ने भएको छ ।” सीताराम पनि पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया काम गरेर केही वर्षअघि फर्किनुभएको थियो

“छोरा कमाउला र म घरको रेखदेख गरौँला भन्ने सोचेर बसिरहेको थिएँ” उहाँले भन्नुभयो– “बरु अब यहीँ केही काम पाइन्छ कि भनेर खोज्नुपर्ने भएको छ, तर हामीलाई रोजगारी पनि कसले देला र ?” उहाँले दैनिकी चलाउन गाउँमा मजदुरी पाउन समेत गाह्रो भइरहेको बताउनुभयो । “आफूसँग भएको जग्गामा केही आयमूलक व्यवसाय गरौँ छाडा गोरुले सखाप पार्छन्” उहाँले भन्नुभयो–“मजदुरी गर्न भारत जाऔँ त्यहाँ कोरोना बढेको समाचार दिनदिनै सुन्दा जानै मन लाग्दैन, मनभरि डर मात्र छ ।” उहाँको पाँच जनाको परिवार छ । उनीहरुलाई खर्च जुटाउन पनि जारी बन्दाबन्दीका कारण निकै नै समस्या भइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिका–३ देखतभुलीका जितसिंह बडायकको परिवार पनि यतिबेला आर्थिक समस्याले ग्रसित छ । रोजगारी गर्ने छोरो घरमा थन्किएर कामविहीन रुपमा बस्नु परेपछि चिन्ता र तनाव बढेको छ ।
“म भारतको गुजरातमा होटलमा मजदुरी गर्न थालेको ८ वर्ष भयो” कोरोनाको डरले दुई महिनाअघि घर फर्किएका बडायकले भन्नुभयो–“ अहिले यहाँ घरमा साबुन किन्ने खर्च समेत छैन, सरकार साबुन पानीले हात धुनु भन्छ त्यही साबुन कसरी जुटाउने भन्नेसम्मको समस्या आएको छ ।”

होटलमा मजदुरी गरेर मासिक रु २५ हजार कमाउने गरेका बडाउकले गाउँ फर्किएपछि बेरोजगारी फारम भरे पनि कुनै कार्यक्रम नआएको बताउनुभयो । “स्थानीय तहले बेरोजगार फारम भर्न त लगायो तर रोजगारी दिने कुनै छाँट देखिएन” उहाँले भन्नुभयो–“अब रोगसँग डराएर मात्र के गर्नु, पेट भर्नैपर्यो, फेरी भारत जानुपर्ने बाध्यता नजिक आउँदै छ ।”

एक पटक पढ्नुहोस