अभिभावकको टाउको दुखाई : किन एकोहोरिदैछ बालबालिका ?

काठमाडौं, शान्तिनगरकी अनिता सुवेदीले आफ्नो छोरा एकोहोरो बन्दै गएको गुनासो गर्दै भदौ दोस्रो साता विभिन्न मनोपरामर्शदाताको ढोका ढक्ढक्याउन पुगिन् । बिहान झिसमिसेमै उठेर मोबाइलमा चलाउन थाल्ने उनको छोरालाई बिहान खाना खाने बेलामा समेत धेरै कर गरेपछि एकैछिन मोबाइलबाट छुट्याउन सकिन्छ । १० वर्षीय छोरालाई दुई घण्टामात्रै मोबाइल दिएन भने घरमा उपद्रो मच्चिन थालेपछि आजित भएर शान्ति छोराको उपचारको खोजीमा लागेकी थिइन् ।

त्यस्तै, डल्लुकी शारदा खड्काको अनांैठो किसिमको समस्या छ । उनको छोराले मोबाइल चलाउँदा चलाउँदै आफ्नो गेम पार्टनरलाई मोबाइलको पासवर्ड बताइदिए । त्यसपछि उनका गेम पार्टनरले शारदाको फेसबुकबाट विभिन्न व्यक्तिसँग रिचार्ज कार्ड माग्नेदेखि अनेक बहाना बनाएर ठग्न थाले । पछि प्रहरी रिपोर्ट गरेपछि बल्ल त्यो समस्या त सुल्झियो तर बच्चालाई मोबाइलबाट टाढा राख्न खोज्दा भने उल्टै बच्चा एकोहोरो बन्ने र फरक खालको व्यवहार गर्न थालेको उनको गुनासो थियो ।

ललितपुर सानेपाकी कमला पन्थीको समस्या पनि यस्तै छ । आफ्नो छोरालाई स्कुल पठाउन नपाउँदा लकडाउनकै समयमा धेरै मोबाइल चलाएर आँखा चेक गरेर चस्मा लगाउनु परेको छ । उनमा मानसिक समस्याको बारेमा त कसैले चासो दिएका छैनन् । तर उनको व्यवहार हेर्दा भने झर्किने रिसाउने जस्तो व्यवहार गर्ने गरेको छ ।

यसरी पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण डिप्रेसन र आत्महत्याको घटनाहरू दिन प्रतिदिन बढ्दै गएको तथ्यांकले देखाएको छ । बढीजसो किशोरकिशोरीमा देखिएको यो समस्याका लागि त्योभन्दा सानो उमेरदेखि नै मानसिक समस्याको बिजारोपण हुने गरेको पाइएको छ ।

मनोविज्ञ राजेश झाका अनुसार सोसल लर्निङको कुरामा सीमितता भइरहेको छ । सिकाइको प्रक्रियालाई हेर्ने हो भने बच्चाहरूले देखेर सिक्ने, भोगेर सिक्ने र भने कतिपय कुरा गल्ती गरेर पनि सिक्छन् ।

अहिले आफूहरूसँग आएको विषयलाई विश्लेषण गर्ने हो भने अनुशासनको विषयलाई लिएर धेरै घटना आउने गरेको उनले सुनाए । बच्चाहरूले घरमा अनुशासन पालना गर्न सकेनन्, मोबाइलमा मात्रै झुण्डिए जस्ता समस्या धेरैले गर्ने गरेका छन् । यसलाई मनोविज्ञानले डिसिप्लिनरी एप्रोच भन्ने गरिन्छ । यही समस्या पछिल्लो समय बढ्ने गरेको छ । यसमा विद्युतीय उपकरणमा धेरै झुम्मिनु नै समस्याको जग हुने गरेको झा बताउँछन् ।

यति नै संख्यामा यस्तो घटना आएको छ भन्न सक्ने अवस्था नभए पनि किशोरअवस्थामा डिप्रेसनको जग यही सानो उमेरदेखि नै बस्दै जाने गरेको उनी बताउँछन् । यद्यपि यो उमेरका बच्चाहरूले आत्महत्या नै गरेको भन्ने घटना भने नसुनिएको उनी बताउँछन् ।

विश्वमा र नेपालको डरलाग्दो आत्महत्याको तथ्यांक

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक वर्ष विश्वमा ८ लाख जनाले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् । यो तथ्यांकलाई आधार मान्दा प्रत्येक ४ सेकेण्डमा एक जनाले ज्यान गुमाउने गरेको तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ ।

यसरी आत्महत्या गर्नेहरूमा किशोरकिशोरी र वयस्कहरूको संख्या धेरै रहेको मनोवैज्ञानिकहरू बताउँछन् । युवा पिढीको मृत्युको मुख्य तीन कारणमध्ये एकमा आत्महत्या पनि आउने गरेको जानकारहरू बताउँछन् ।

विश्वमा कुल आत्महत्या गर्नेमध्ये ७९ प्रतिशतभन्दा धेरै आत्महत्याका घटनाहरू कम र मध्यम आय भएका मुलुकमा  हुने गरेको पाइन्छ । विशेषगरी किशोरकिशोरीहरूमा सम्बन्धविच्छेद र भविष्यको चिन्ताका कारणले पनि आत्महत्याको घटना धेरै हुने गरेको मनोचिकित्सकहरू बताउने गर्छन् ।

काठमाडौं विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सेसका डा. दीपक कुँवरका अनुसार यो एक वर्षको अवधिमा मात्रै ६ हजार २६९ जनाले आत्महत्या गरेको तथ्यांक छ । जुन अघिल्लो वर्ष ५ हजार ८ सय मात्रै थियो । यसरी हरेक वर्ष आत्महत्याको घटना बढ्दै जाने गरेको बताइएको छ ।

कसरी थाहा पाउने आत्महत्याको प्रयास ?

तथ्यांक अनुसार ९५ प्रतिशत आत्महत्यामा कुनै न कुनै मानसिक रोग देखिएको छ । त्यसमध्ये सबैभन्दा धेरै डिप्रेसनको समस्या छ । जति मान्छेले आत्महत्या गर्छन् त्यसको २० गुणा धेरैले आत्महत्याको तयारी गर्छन् भन्ने मनोवैज्ञानिक मत छ ।

आत्महत्या र डिप्रेसनको पनि भिन्दाभिन्दै कारण हुने गर्छ । डा. कुँवरका अनुसार जसको परिवारमा पहिले कसैले आत्महत्या गरेको छ वा त्यही मान्छेले पनि पहिले आत्महत्या प्रयास गरेको छ भने त्यो परिवारका सदस्यमा सम्भावना बढी हुने गरेको कुँवर बताउँछन् ।

त्यस्तै, एक्ला मान्छेमा पनि यसको समस्या धेरै हुन्छ । आत्महत्या गर्नुभन्दा एक दुई दिन पहिले म मर्दिन्छु, मलाई मर्न मन लागेको छ भन्ने जस्ता लक्षणहरू कसैले देखाएको हुन्छ भने त्यसलाई सामान्य मान्न नहुने उनी बताउँछन् ।

त्यस्तै, अर्काेतर्फ आत्महत्या गर्ने सोच बनाइरहेको व्यक्तिले आत्महत्याको लागि त्यसको व्यवस्थापन गरिरहेको हुन सक्ने कुँवर बताउँछन् । जस्तो, जोकोही पनि आत्महत्या गर्ने सोच बनाएको व्यक्तिले विषादि खाने हो भने त्यसको व्यवस्थापन गरेको हुन सक्छ ।

पहिले राम्रोसँग गर्दै आएको कामलाई बेवास्ता गर्ने, समाजबाट टाढा गएर बस्ने, अरूसँग झर्किने जस्ता व्यवहार डिप्रेसनमा भएका बिरामीले देखाउने गरेको उनी बताउँछन् ।

यदि कसैले पनि यस्तो व्यवहार देखाएको छ भने त्यस्ता व्यक्तिलाई मनोचिकित्सकहरू कहाँ लैजानुपर्ने उनी बताउँछन् ।

एक पटक पढ्नुहोस