‘म राजनीतिमा जाने–नजाने परिस्थितिले तय गर्छ’

१९ असोज, काठमाडौं । विद्युत प्राधिकरणबाट २६ वर्षपछि सेवानिवृत्त भएका कुलमान घिसिङ अहिले अनिच्छित र पट्यारिलो फुर्सदमा छन् । देशका लागि काम गर्ने हुटहुटी मनमा बोकेर घरमा निस्क्रिय बस्नुपर्दा पक्कै पनि उनको व्यग्रता बढीरहेको होला ।

६ वर्षअगाडि चिलिमे हाइड्रोपावरबाट काजमा मन्त्रालय तानिँदाका दिनहरु सम्झिरहेका छन् कुलमान । त्यो बेला पनि यस्तै खालको मनोदशामा उनी थिए । फरक के मात्र भने, त्यो बेला उनीसँग ‘जागिर’ थियो, अहिले छैन । त्यसबेला जागिर भए पनि दुई वर्षसम्म उनी जिम्मेवारीविहीन थिए । उनी दैनिक मन्त्रालय जान्थे, तर बस्नका लागि कुर्सी–टेबलसम्म थिएन ।

‘हाजिर गरेपछि साथीहरुको कोठामा गएर बस्थेँ, कहिले चौरतिर टहलिन्थेँ,’ उनी सम्झिन्छन्, ‘बेलुका हाजिर गरेर भारी मनले घर फर्किन्थेँ ।’

तथापि त्योबेलाको फुर्सदलाई उनले केही न केही सदुपयोग अवश्य गरे । उनको कार्यालय समय मूलतः अध्ययनमा बित्थ्यो । कार्यालय जाँदा सधैं झोलामा ल्यापटप बोकेर जान्थे । त्यसमा ऊर्जासम्वन्धी अनेकन सामग्रीहरु उनले संग्रह गरेका थिए । त्यसैको अध्ययन गरेर दिन बिताउँथे ।

कुलमानले सुनाए, ‘मेरो मोबाइल नम्बर देशभरका जनतासँग छ । म भ्याएसम्म अपरिचित नम्बरबाट आएको कल पनि रिसिभ गर्छु । अहिले पनि फलानो एरियामा बत्ति गयो, के भएको हो भनेर धेरैले फोन गर्नुहुन्छ । कसैले म्यासेज पनि पठाउनु हुन्छ । जनताको गुनासो म प्राधिकरणका सम्वन्धित निकायमा फरवार्ड गरिदिन्छु

‘त्योबेला मैले विश्वका थुप्रै देशको ऊर्जा क्षेत्रसँग सम्वन्धित रिपोर्टहरु अध्ययन गरेँ । मैले ऊर्जा क्षेत्रबारे सबैभन्दा बढी जानकारी हासिल गरेको त्यही अवधिमा हो,’ उनले भने

हुन त त्यसबेला उनलाई जागिरबाटै राजीनामा दिने झ्वाँक पनि नचलेको होइन । तैपनि धैर्यपूर्वक सही समयको प्रतिक्षामा बसे । नभन्दै त्यो समय आयो । प्रचण्डले नेतृत्व गरेको सरकारका ऊर्जामन्त्री जनार्दन शर्माले उनलाई सीधै प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरे । ११ हौं तहका कुलमान फड्को मार्दै कार्यकारी निर्देशक बन्दा प्राधिकरणभित्र असन्तुष्टि थियो, तर सबैलाई उनले कामबाट जवाफ दिए ।

प्राधिकरणमा आएर कुलमानले के गरे भन्ने त दोहोर्याइरहनु नपर्ला । त्यही योगदानका निम्ति देशभरका जनताले उनलाई आफ्नो मनमुटुमा राखेका छन् । उनले जनतालाई विजुलीको उज्यालो दिए, जनताले उनलाई अभूतपूर्व सम्मान दिए, दिइरहेका छन् । जनताको यही माया र सम्मानले त उनलाई अझै देशका लागि योगदान दिन प्रेरणा मिलेको छ ।

अब लोडसेडिङ हुँदैन

कुलमान प्राधिकरणबाट निस्कनासाथ जनतामा लोडसेडिङ फर्किने हाउगुजी फैलिएको छ । पहिलेको तुलनामा लाइन काटिने क्रम बढेको गुनासोहरु सुन्न थालिएका छन् । यो ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तो संयोग मात्रै हो कि साँच्चै उनको बहिर्गमनपछि लोडसेडिङको खतरा मडारिएको हो ? हाम्रो पहिलो जिज्ञासा यही थियो ।

कुलमानले भने्, ‘यो एउटा संयोग हो । अब नेपालमा लोडसेडिङ गर्नुपर्ने परिस्थिति छैन र आउँदैन । तर, विद्युत आपूर्तिमा विभिन्न कारणले उत्पन्न हुने अवरोधलाई सम्वोधन गर्ने सवालमा अलिकति सुस्तता आएको हुन सक्छ ।’

पछिल्लो समय लगातार वर्षात्ले गर्दा विद्युत पूर्वाधारहरुमा क्षति पुगेर लाइन काटिने क्रम बढेको हुनसक्ने उनी बताउँछन् । यस्ता घटनामा चाँडोभन्दा चाँडो रेस्पोन्स नगरेमा जनगुनासो स्वभाविक हुने उनको भनाइ छ ।

रमाइलो कुरा के भने, अहिले पनि धेरै मानिसहरु आफ्नो एरियामा बत्ति काटियो भने कुलमानलाई फोन दाब्दा रहेछन् । कुलमानमा पदमा नरहे पनि उनको प्रभाव प्राधिकरणमा अझै छ भन्ने विश्वासले हुन सक्छ । अथवा कतिलाई त विजुली भनेकै कुलमान भन्ने छाप पनि परिसक्यो ।

कुलमानले सुनाए, ‘मेरो मोबाइल नम्बर देशभरका जनतासँग छ । म भ्याएसम्म अपरिचित नम्बरबाट आएको कल पनि रिसिभ गर्छु । अहिले पनि फलानो एरियामा बत्ति गयो, के भएको हो भनेर धेरैले फोन गर्नुहुन्छ । कसैले म्यासेज पनि पठाउनु हुन्छ । जनताको गुनासो म प्राधिकरणका सम्वन्धित निकायमा फरवार्ड गरिदिन्छु । म प्राधिकरणमा छैन भनेर पन्छिन मन लाग्दैन ।’

आफू प्राधिकरणमा रहँदा कुनै ठाउँमा विद्यूत अवरोध भएको सूचना पाउनासाथ उनी तत्काल सम्वन्धित निकायहरुलाई घच्घच्याइहाल्थे । राति अबेरसम्म खटेर भए पनि समस्या समाधान गर्ने बानी उनले कर्मचारीमा बसालेका थिए ।

‘प्राधिकरणका कर्मचारीले उपभोक्तालाई आज राति भयो, भोली बिहान आएर बनाउँछु भन्ने खालको जवाफ दिएर टार्नु हुँदैन । राति १२–१ जति बजे पनि काम सकेर मात्रै सुत्न जाने गाइडलाइन थियो । कर्मचारीले यसलाई दवावको रुपमा भन्दा पनि दायित्का रुपमा लिएका थिए । त्यसैले जनगुनासो बढ्न पाएन । अहिले त्यस्तो ‘क्विक रेस्पोन्स’ को कमी भएको हो कि ?’

कहिलेकाहीँ कुलमान बस्ने एरियामा पनि बत्ति जाँदो हो । त्यो बेलाचाहिँ के गर्छन् उनी ?

‘पाँच–सात मिनेटसम्म पर्खिन्छु,’ उनले भने, ‘अलि लामै समय आएन भनेचाहिँ फोन गरेर बुझ्छु । तर, सबस्टेसनबाट नजिकै भएकाले मेरो एरियातिर बत्ति काटिने समस्या अन्यत्रभन्दा कम नै छ ।’

प्राधिकरणका कर्मचारीले उनलाई भूतपूर्व भइसकेको भनेर उपेक्षा गर्दैनन् । उनलाई पहिलेजस्तै सम्मानपूर्वक रेस्पोन्स गर्छन् । यस्तो समस्या भएको रहेछ भनेर जवाफ दिन्छन् । कुलमानले पनि कर्मचारीहरुलाई पहिल्यैजस्तो स्नेह दर्शाउँछन् । उनी फेरि प्राधिकरणमा फर्किउन् भन्ने चाहना तल्लो तहका धेरै कर्मचारीमा छ । नहोस् पनि किन, लोडसेडिङकालमा जनतासामु मुख लुकाएर हिँड्नुपर्ने अवस्थाका कर्मचारीलाई कुलमानले शिर ठाडो बनाएर हिँड्ने अवस्थामा जो पुर्याए ।

परिवारभित्र कुलमान

२६ वर्षसम्म प्राधिकरणमा कुलमानले व्यस्त जागिरे जीवन बिताए । घर–परिवार भनेनन् । पारिवारिक दायित्व केही पनि आफूले लिएनन् । शनिबार पनि उनी प्रायः कार्यालयकै काममा हुन्थे । आफन्त र साथीभाइका जमघटमा उनी प्राय छुट्थे ।

कुलमानका बुवाको दुई महिना अगाडि मृत्यु भयो । कार्यालयको व्यस्तताले गर्दा उनी अन्तिम क्षणमा आफ्नो बुवाको साथमा हुन पाएनन् । अस्पतालमा पुग्दा बुवाको प्राणान्त भइसकेको थियो ।

कुलमानका ६ जना दाजुभाइ र तीन दिदीबहिनी छन् । ठूलो परिवार भएकाले नातागोता धेरैतिर फैलिएका छन् । ६ वटा जिल्लामा आफ्ना निकटतम आफन्तहरु रहेको उनी बताउँछन् । ती आफन्तकहाँ बिहेबारी लगायत विभिन्न पारिवारिक जमघट हुँदा प्रायः उनी अनुपस्थित रहन्थे ।

‘मलाई समय मिलाउन गाह्रो हुन्थ्यो, त्यसैले निम्तो मान्न परिवारलाई पठाउँथे,’ उनी भन्छन्, ‘परिवार र आफन्त सबैले मेरो जिम्मेवारी र दायित्व राम्ररी बुझ्नुभएकाले कहिल्यै पनि गुनासो गर्नुभएन ।’

त्यसो त सिंगै खानदानलाई कुलमानमा गर्व थियो किनकी उनले कुलकै इज्जत बढाइदिएका थिए । देशभर अनवरत उज्यालो बाँड्ने दायित्वमा रहेका कुलमान आफ्नो छोराको पास्नीमा नआएको भनेर कसैले चित्त दुखाउने कुरा पनि आउँथेन ।

अहिले उनको परिवारमा श्रीमती र दुई छोराहरु छन् । श्रीमतीले घर–व्यवहार धानेकी छन् । उनी थान्काको व्यवसाय पनि गर्छिन् । दुई छोराहरु इन्जिनियरिङ पढ्दैछन् । जेठो छोरा सिभिल इन्जिनियरिङ र कान्छो छोरा इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थी हुन् ।

‘छोराहरुले आफ्नो बिँडो थामेर सरकारी क्षेत्रमै नोकरी गरुन् भन्ने चाहनुहुन्छ ?’ कुलमानलाई धेरैले यो प्रश्न गर्छन् ।

कुलमानले आफ्नो इच्छा–चाहना छोराहरुमा थोपर्न नचाहेको बताए ।

‘हाम्रो समयमा सरकारी जागिर निर्विकल्प जस्तो थियो । तर, अहिले निजी क्षेत्रमा पनि धेरै अवसर छन्,’ उनी भन्छन्, ‘छोराहरुले जुन क्षेत्र रोजे पनि त्यसमा मेरो असहमति हुँदैन ।’

कुलमान यतिचाहिँ चाहन्छन् कि आफूजस्तै दुवै छोराहरु पनि स्वदेशमै बसेर काम गरुन् । अहिलेसम्म दुवै छोरामा विदेशिने मोह पलाएको पनि छैन ।

‘कान्छो छोराचाहिँ फोटोग्राफीको सोखिन छ । काइदाका फोटोहरु खिच्छ । कहिलेकाहीँ अफ्रिकाको जंगलमा गएर फोटो खिच्छु भन्छ,’ उनले हाँस्दै सुनाए ।

उनी आफ्ना छोराहरुलाई हम्मेसी गाली गर्दैनन् । एकपटक मात्रै ठूलो छोरालाई गाली गरेको उनलाई सम्झना छ । एसएलसी परीक्षा आउन लागेका बेला छोरो दुई दिनसम्म सम्पर्कविहीन भएका थिए । घर आएपछि उनले छोरालाई हकारे ।

‘त्योबेला छोरासँग मोबाइल पनि थिएन । हामीलाई नभनी साथीको घरमा गएर बसेको रहेछ । हामीले निकै खोज्यौं । तेस्रो दिनमा आफैं टुपुल्कियो । अनि साफसँग झपारेँ,’ उनले सुनाए ।

प्राधिकरणबाट निस्किएपछि कुलमान परिवारसँगै धेरै समय बिताइरहेका छन् । साथीभाइ–आफन्तहरुसँग टुटेको सम्पर्क जोडिरहेका छन् । छोराहरुको पढाइ के–कस्तो भइरहेको छ भनेर चासो लिन्छन् । श्रीमतीको मुखबाट घर–व्यहारका कुराहरु सुन्छन् । आफन्त–साथीभाइसँग फोनमा लामो समय गफिन्छन् ।

कोरोनाको महामारीले गर्दा बाहिरफेर भने त्यति हिँडेका छैनन् । जरुरी अवस्थामा सामाजिक दुरी कायम राख्दै सीमित मानिसहरु भेट्छन् । परिस्थिति अलि सहज भएपछि पुख्र्यौली गाउँतिर गएर केही समय बिताउने उनको योजना छ ।

कहिले आगो, कहिले पानी

अन्तरवार्ता र सार्वजनिक प्रस्तुतिमा प्राय ‘कुल’ देखिने कुलमानको भित्री स्वाभावचाहिँ कस्तो छ ? परिस्थितिअनुसार आफू कठोर र नरम भएको उनी बताउँछन् ।

कुलमान भन्छन्, ‘खासमा म भावुक प्रकृतिकै मान्छे हुँ । तर, परिस्थितिगत कारणले वा जिम्मेवारीको दबावले गर्दा कहिलेकाहीँ कठोर बन्नुपर्छ, कहिले आक्रोशित पनि भइन्छ । तर, मेरो भित्री मन कमलो छ । चाँडै पग्लिन्छु,’ उनले भने ।

एकपटक उनी पत्रकार सम्मेलनमा बोल्दै गर्दा भावुक बनेर आँशु झारेका थिए । अर्को एउटा घटनामा उनले ठेकेदारलाई आक्रोशित मुद्रामा थर्काएको भिडियो भाइरल बनेको थियो । यी दुई सन्दर्भले कुलमानको स्वभावलाई चित्रण गर्छन् ।

प्राधिकरणमा हुँदा उनी कर्मचारीहरुसँग बेलाबखत जंगिने पनि गर्थे । समयमा काम भएन भने उनको पारो तात्थ्यो । तर, आफू त्यसरी जंगिँदा कर्मचारीले कहिल्यै नकारात्मकरुमा नलिएको उनी बताउँछन् ।

‘कर्मचारीको विश्वास आर्जन गरिसकेपछि तपाईंका हरेक कुरालाई उनीहरुले सम्मान गर्छन्,’ कुलमान भन्छन्, ‘राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डित गर्ने परिपाटी विकास गरे कर्मचारीको मन जित्न सकिन्छ ।’

एक पटक पढ्नुहोस