भोलि उठी कहाँ जाने केही थाहा छैन…

२६ कात्तिक, काठमाडौं । समाजवाद उन्मुख हाम्रो देशको एउटा चेहरा पछिल्लो समय खुलामञ्चमा उद्घाटित छ ।

कुनै समय तत्कालीन माओवादीले हजारौं जनता बटुलेर क्रान्ति सफल भएको उद्घोष गरेको यो मञ्चमा अहिले एक गाँस तातो भातका लागि भौतारिँदै गरिबहरु थाल थापेर लामवद्ध छन् ।माओवादी मात्र होइन, नेपालका कुनै राजनीतिक दल छैनन्, जसले खुल्लामञ्चमा जनताको मुक्तिको भाषण नगरेका हुन् । मीठा–मीठा सपना नसुनाएका हुन् । तर, अचेल यहाँ सपना बाँडिदैन । सरकारले खुल्लामञ्चलाई बसपार्क बनाएको छ ।

कोभिड १९ का कारण गरिएको लकडाउनपछि रासन र स्थायी आसन नभएका भोका जनता प्रत्येक दिन सास धान्न खुल्लामञ्चमा उपस्थित हुन्छन् । बिहान नौ बजे, दुई बजे र साँझ पाँच बजे महाभोज हुन्छ यो मञ्चमा ।

सरकारले खुल्लामञ्चमा खाना खुवाउन बर्जित गरे पनि कम्तीमा अभियन्ताहरु अहिलेसम्म थाकेका छैनन् । त्यसैले त कोही नाम्लो बोकेर, कोही स्थायी घररुपी सानो झोला बोकेर, कोही रोगले थिलोथिलो भएको मलीन चेहरा लिएर आउँछन् । कोही बच्चा बोकेर खानाको बाल्टीतिर हेर्दै बसपार्कको चिसो भूँइमा थचक्क बस्छन् ।अभियन्ताहरुले एक/एक गर्दै एक अर्कालाई पानी, भात, तरकारी र दाल बाँड्छन् । उपस्थितहरु यसरी खान्छन् कि योभन्दा मिठो परिकार संसारमा अर्को छैन । बच्चादेखि बुढासम्म एकगाँस भात खेर फाल्दैनन् ।

गुडिरहेको बसबाट तर्किदै लामवद्ध भएका करिव दुई सय भोकाहरुलाई देख्दा लाग्छ, उनीहरुका सबै सपनाहरु खुल्लामञ्चको एक गाँस भातमा गएर ठोक्किएका छन् र त्यहीँ रोकिएका छन् ।

यही भीडमा एकजना बृद्ध भेटिए ।

उनका साथमा झोलासँगै बैशाखी पनि थियो । कुममा झोला र बैशाखीको अर्कोपट्टि प्लास्टिकको पोको राखेका थिए । उनी खुल्लामञ्चको मेसमा खाना खाने दुई दिनदेखिका पाहुना हुन् ।

उनले करिव १० मिनटेमा प्लास्टिकको थालको खाना सिध्याए । अनि बैशाखीको सहाराले जूठो हात लिएर उठे ।

एउटा खुट्टामा नयाँ जुत्ता थियो, अर्को खुट्टाको पैतला थिएन । खोच्याउँदै लाइनको छेउमा पुगे । थाल डस्वीनमा फ्याँके । मुख कुल्ला गरे र पुरानै आसनमा फर्किए ।

केहीबेरपछि, आफ्नो पोको समाएर बैशाखीको सहारामा हिँड्न खोजे । उनलाई थाहा छैन, अब कहाँ जाने हो !

उनले अनलाइनखबरलाई आफ्नो कथा सुनाउँदै भने, ‘बाटोमा बसेको थिएँ, यहाँ खाना पाइन्छ बाजे जानुस् भनेपछि अस्तिको दिनदेखि यहाँ आएर खान थालेको हुँ ।’

उनी हुन् नीलकण्ठ नगरपालिका २, धादिङका चन्द्रबहादुर कार्की ।

कुनै समय भारतको हरियाणामा मजदुरलाई खाना खुवाउने चन्द्रबहादुरलाई समयचक्रले आज खुल्लामञ्चको गाँस पर्खिनुपर्ने अवस्थामा पुर्‍यायो । ‘के गर्नु त हजुर ? काम गर्न नसकेपछि छोरा, श्रीमतीको हेलत्व भइँदो रहेछ । लाचार भइयो’ चन्द्रबहादुरले खुइय्य सास फेरे ।

चन्द्रबहादुरले आधा जिन्दगी भारतको हरियाणामै बिताए । उनी ठेकदारकहाँ काम गर्थे । ती ठेकदारका मजदुरहरुलाई खाना पकाएर खुवाउने उनको जागिर थियो ।

नौ सय भारुबाट काम गर्न थालेका चन्द्रबहादुरको तलब साढे १२ हजारसम्म पुगेको थियो । त्यही तलबले पत्नीले नेपालमा तीन छोरा हुर्काउँदै थिइन् ।

तर, नौ वर्ष पहिले चन्द्रबहादुरले रोजगारी गुमाए ।

‘चिसोको मौसम थियो । तुवाँलो लागेर सडक कुहिरीमण्डल थियो । ‘श्रमिकका लागि खाना बोकेर हिँडिरहेको थिएँ’, उनले भने, ‘पछाडिबाट गाडीले ठक्कर दिएर भाग्यो ।’

राजा हस्पिटल नरेनाबाट १४ महिनापछि निस्कँदा उनको देव्रे खुट्टाको पैतला थिएन । चन्द्रबहादुर भन्छन्, ‘भारी बोक्न सक्दिनँ । हिँड्दा हिँड्दा खुट्टा कागती निचोरेजस्तो भएको छ ।’

यो नौ वर्षको घर बसाइमा समाज मात्र होइन, उनी परिवारकै दुरदुरको पात्र बने । उनी गालाभरि आँशु झार्दै भन्छन्, ‘परिवारले निस्केर जा भने, म निस्किएँ ।’

केही दिनअघिको कुरो हो, कुनै योजनाविना, कुनै सपनाविना र कुनै चाहनाविना उनी दिउँसोको २ बजे काठमाडौंको गाडी चढे । मात्र एउटै उद्देश्य थियो, परिवार आफ्नो बोझबाट मुक्त होस् ।

उनले किन राजधानीकै बाटो तय गरे ? अन्त पनि त जान सक्थे । यो प्रश्नसँगै चन्द्रबहादुरका आँखा बलिन्धारा आँशुले पुरिए’, ‘अन्त जानका लागि त पैसा पनि हुनुपर्‍यो नि !’

खुल्लामञ्चको मेसमा मानिसहरु कोही खाँदैछन् । कोही चुठ्दैछन् । चन्द्रबहादुर मेसछेउको होचो पर्खालमा बसेर आँखाबाट पीडा झार्दैछन् । उनलाई लाग्दैछ कि आफूबाहेक यो संसारामा आफ्नो भन्ने कोही छैन ।

चन्द्रबहादुरले जुन झोला बोकेका छन्, त्यहाँ जिउमा लगाउने कपडा छन् । छेउको कुम्लोमा चाहिँ राति ओढ्नका लागि एउटा च्यादर छ ।

एउटा खुट्टामा नयाँ जुत्ता छ । चन्द्रबहादुरले थोत्रा कपडासँगै पहिरिएको नयाँ जुत्ताको स्रोत बताए, ‘सडकमा पसल गर्नेले जोडी हराएको जुत्ता दिएका हुन् ।’

एउटा चप्पलसँगै काठमाडौं छिरेका चन्द्रबहादुर सुरुमा कसोकसो भृकुटी मण्डपसम्म पुगेका थिए । त्यो रात उनले त्यहीँ बिताए । उनी सम्झन्छन् ‘एकजना होटेलवालाले यहीँ सुत्नुस् बुवा भनेर लामो कुर्सी दिनुभयो, त्यहीँ सुतेँ ।’

चन्द्रबहादुरका आँशु रोकिएका छैनन् । के उनको बुढो शरीरले कठाङ्ग्रिँदो जाडो सजिलै धान्यो होला ? ‘के गर्नु हजुर, जिन्दगी नै चिसो भएपछि’, ढाकाटोपी सच्चाउँदै उनले लाचार जवाफ फर्काए ।

काठमाडौं छिरेको अर्को दिन बिहान उनी खुलामञ्चमा सञ्चालित निशुल्क गाँस भेट्टाउन आइपुगे । अनि राति त्यही खुलामञ्चको एउटा कुनामा पल्टिए । निन्द्रा त राम्रोसँग लागेन तर, जसोतसो रात कटाए ।

अब आज कता जाने त ? ‘खै, भरे कता हुन्छ, थाहा छैन । भगवानले कहाँसम्म लैजान्छन्’, यति भनेपछि उनी उठेर अर्को कुनाको घामतर्फ लागे ।

भूकम्पले भत्काएकै भए पनि धादिङमा बस्नका लागि घर र उत्पादनका लागि केही जमिन भए पनि ६३ वर्षीय चन्द्रबहादुर बेसहारा भएर काठमाडौंका गल्लीमा भांैतारिएका छन् । उनीसँग सम्पर्कका लागि मोवाइल हुने कुरै भएन ।

****

उस्तै उमेरकी कान्छी भट्टराईले चन्द्रबहादुरको कुरा सुनिरहेकी थिइन् । चन्द्रबहादुर घाम ताप्न हिँडेपछि कान्छीले आफ्नो व्यथा सुनाउन थालिन् । उनी डल्लुबाट खान खानाकै लागि हरेक दिन खुल्लामञ्च आइपुग्छिन् ।

कान्छीसँग भने एउटा मोवाइल रहेछ । उनले आङ नै सिरिङ्ग पार्ने गरी बोलिन्, ‘मोवाइल भएपछि त मरेपछि कोही उठाउन आउला भनेर तीन महिनाअघि किनेकी थिएँ । कम्तिमा लास सड्न त पाउँदैन ।’

उनी दमको रोगी छिन् । माउथ फ्लसिङ लिइरहनुपर्छ । कपाल सेतै फुलेका छन् ।

आफन्तका नाउँमा उनकी एउटी छोरी छिन् । तर, ज्वाइँका कारण वर्षौं भैसक्यो छोरीसँग कुरा गर्न नपाएको । लकडाउनअघि उनी स्यम्भुको पूजामा पुगेर आफूलाई पुग्ने पैसाको जोहो गर्थिन् । तर, लकडाउनपछि त्यो लय टुट्यो ।

‘म काठमाडौं बस्न थालेको चालीस र तीन वर्ष भयो । श्रीमानले पनि पहिल्यै छोडेर गए’, उनले भनिन्, ‘पाँच/सात वर्ष पहिलेसम्म त भारी बोकेर, ज्यामी काम गरेर पनि ज्यान पालेकी थिएँ, अब सक्दिनँ ।’

लकडाउनपछि स्वयम्भुमा पनि निशुल्क खाना खुवाइन्थ्यो । कान्छीले त्यहीँ पुगेर खाना खाइन् ।

कान्छी मासिक ४ हजार तिरेर डेरामा बस्दै आएकी छिन् । उनलाई कोरोना बोकेर ल्याउँछे भन्दै घरबेटीले पस्न दिएनन् । ‘झगडा गरेर भए पनि पसें । तर, कोठा सर् भन्यो’, कान्छी सुनाउँछिन्, ‘कोठा सर्दा दुई हजार महंगो, ६ हजारको कोठामा परेँ ।’

त्यसपछिका केही दिन उनले डल्लुमा पुगेर छाक टारिन् । अहिले चाहिँ उनी नियमितरुपमा खानकै लागि टुँडिखेल आइरहेकी छिन् । उनी भन्छिन्, ‘बिहान नौ बजेको खाना भेटाउन पाउँदिनँ, २ बजेको खान्छु । अनि चार बजेको खाना लिएर कोठामा जान्छु ।’

कान्छीसँग सधैं गाडी चढ्ने पैसा हुँदैन । कति दिन त हिँडेरै खाना भेट्टाउन खुलामञ्च आइपुगिन् । कुनै दिन कसैलाई गाडीभाडा मागेर डेरासम्म पुग्छिन् ।

तर, डेरामा पुगे पनि उनलाई सुख छैन । भन्छिन्, ‘दिनदिनै घरबेटी ढोका ढ्याकढ्याक पार्छ । मसँग पैसा छैन, कहाँबाट भाडा दिने ?’ उनले तीन महिना भैसकेको छ घर भाडा नदिएको ।

यता, काठमाडौं महानगर र अभियन्ताबीच तिहारपछि खुलामञ्चमा खाना नखुवाउने सम्झौता भइसकेको छ । त्यसपछि कहाँ खालान् कान्छी र चन्द्रबहादुरहरुले ? कान्छी भन्छिन्, ‘बिहान खाना खुवाउनेले चामल दिन्छु भनेको छ । त्यही खानुपर्ला ।’ चामल पाउनेमा भने उनी ढुक्क छिन् ।

चन्द्रबहादुर र कान्छी खुलामञ्चका प्रतिनिधि पात्र मात्रै हुन् । सरकारलाई लाज लागोस् नलागोस् मानिसहरु पीडाको पहाड बोकेर खुलामञ्चमा दिनुहँ खाना खान आइरहेका छन् ।

उनीहरु भात चिन्छन्, सरकार चिन्दैनन् ।

एक पटक पढ्नुहोस