छिमेकीको उच्चस्तरीय भ्रमण : संयोग कि प्रतिस्पर्धा ?

८ मंसिर, काठमाडौं । कोभिड–१९ का कारण केही महिना स्थगित छिमेकी देशका उच्च अधिकारीहरुको नेपाल भ्रमण सुचारु भएको छ । कोभिड–१९ कारण अन्तर्राष्ट्रिय उडान नियमित भइसकेको छैन । तर, विदेशी पाहुनाहरु चार्टर्ड विमानमा काठमाडौं आउन थालेका छन् ।

विशेषतः पछिल्लो समयमा दक्षिणको छिमेकी मुलुक भारतबाट निरन्तर उच्च तहको भ्रमण भइरहेको छ भने उत्तरको छिमेकी चीनबाट पनि आगामी साता रक्षामन्त्री आउने निश्चित छ ।नेपालमा मात्र होइन, अन्य दक्षिण एसियाली मुलुकमा भारतले आफ्नो ‘परम्परागत प्रभाव’ कायम राख्न चाहिरहेको छ भने यी मुलुकमा चीनले आर्थिक, राजनीतिक र सैन्य प्रभावलाई बढाउँदै लगेको छ ।

कोभिड–१९ शुरु भएपछि भारत र चीनका उच्च अधिकारीहरुले केही समय विदेशी मुलुकहरुको भ्रमण गरेनन् । तर, केही महिनापछि दुबै मुलुक भर्चुअल भेटघाटमा मात्र सीमित रहेनन्, महामारीकै वीचमा विभिन्न मुलुकको भ्रमणमा नै निस्कन लागे । पछिल्लोपटक दुवै मुलुकको भ्रमणको प्राथमिकतामा एसियाली मुलुकहरु छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको माहामारीकै वीचमा गत सेप्टेम्बरको पहिलो साता युरोप भ्रमण गरे । त्यसैगरी अक्टोबर महिनामा उनले दक्षिण पूर्वी एसियाली मुलुकको भ्रमण गरे ।

आगामी साता वाङ जापान र दक्षिण कोरियाको भ्रमणमा जाँदैछन् । चिनियाँ रक्षामन्त्री चाहिँ नेपाललगायत दक्षिण एसियाली मुलुकको भ्रमणमा निस्कँदै छन् ।

त्यसैगरी भारतीय विदेशमन्त्री एस जयशंकरले केही महिनायता रसिया र जापानको भ्रमण गरे । त्यसैगरी भारतीय विदेशसचिव हर्षवर्द्धन श्रीङ्गलाले छिमेकी मुलुक बंगलादेश र माल्दिभ्सको मात्र भ्रमण गरेनन्, अक्टोबर महिनामा उनले फ्रान्स, जर्मनी र बेलायतको भ्रमण गरे । चीनसँग द्वन्द्व बढेपछि भारतले अमेरिका, युरोपेली मुलुक र छिमेकी मुलुकसँगको सहकार्य बाक्लो बनाउँदै लगेको छ ।

यसबाहेक भारत र चीन दुवै भर्चुअल माध्यमले विभिन्न मुलुकहरुसँग छलफल गरिरहेका छन् । नेपालको सन्दर्भमा भन्ने हो भने चिनियाँ पक्षले उच्च राजनीतिक तहदेखि कर्मचारी तहका अन्य निकायहरुसँग निरन्तर भर्जुअल बैठकको आयोजना गरिरहेको छ ।

यस पृष्ठभूमिमा पछिल्लो केही हप्तायता भारतबाट उच्च तहमा निरन्तर भ्रमण भइरहेको र भारतीय विदेश सचिव फर्केको दुई दिनपछि नै काठमाडौँले चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने तयारी गरिरहेको छ ।

यद्यपि नेपाल चीनसँग धेरै नजिक नहोस् भन्ने भारतीय चाहना र नेपालले सन्धि सम्झौता र अन्य क्षेत्रमा भारतसँग जस्तो व्यवहार गरेको छ, आफूलाई पनि त्यहीअनुसारको व्यवहार गरियोस् भन्ने चिनियाँ चाहना ‘ओपन सेक्रेट’ हो ।

भारततर्फको भ्रमण
नेपाल भ्रमणको क्रममा भारतीय प्रधानसेनापति मनोज मुकुन्द नरवणे (फूलमाला लगाएका)

सीमा विवादका कारण भारतसँग झण्डै एक वर्षसम्म संवाद हुन सकेन । नेपालले सिमा विवादका लागि वार्तामा बस्न पटक–पटक प्रस्ताव गर्यो । तर, भारत सहमत भएन । नेपालले भर्चुअल भए पनि बैठक गरौं, नभए आफू प्रत्यक्ष वार्ताका लागि तयार भएको बतायो । तर, भारतले कोभिडपछि भन्ने सन्देश पठायो ।

त्यसपछि भारतका सेनाप्रमुख एमएम नरवणे नेपाल भ्रमणमा आए । उनको भ्रमणको मुख्य उद्देश्य नेपाली सेनाको मानार्थ पदवी लिनु थियो, तर यसपटकको भ्रमण त्यतिमा मात्र सीमित थिएन ।

यसबीचमा सम्बन्ध सुधारका लागि दुई देशका बीचमा विभिन्न अनौपचारिक कुराकानी भए । प्रधानमन्त्री केपी ओलीले आफू सम्बन्ध सुधार चाहेको र त्यसका लागि उच्च तहमा नै कुराकानी गर्न चाहेको सन्देश पठाएपछि भारतले रअ प्रमुख सामन्त कुमार गोयललाई पठायो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा नेपाल आएको स्वयं सरकारका उच्च मन्त्रीहरुले सार्वजनिक रुपमा बताएका छन् ।

वास्तवमा दुई देशका बीचमा लामो समयदेखि अवरुद्ध भएको वार्तालाई सो भ्रमणले सुचारु गरेको थियो । प्रधानमन्त्री ओलीले प्रधानसेनापतिमार्फत नेपाल सबै समस्याको समाधान वार्ताद्वारा नै समाधान गर्न चाहेको सन्देश पठाए ।

त्यसैले प्रधानसेनापतिको भ्रमणले दुई देशका बीचमा संवादको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । भारतीय सेनापतिको भ्रमण एक वर्ष पहिला नै हुनुपर्ने भए पनि कोभिड र अन्य कारणले रोकिएको थियो ।

प्रधानसेनापति भएपछि केही समयमा नै मानार्थको पदवी लिनका लागि एक अर्काको मुलुक भ्रमण गर्ने प्रचलन भए पनि यसपटक लामो समय भारतको तर्फबाट भ्रमण हुन सकेन । त्यसैले भारतीय सेनापतिको भ्रमण एउटा स्थगित भ्रमण थियो ।

अबको केही दिनमा भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउँदैछन् । विदेश सचिव नियुक्त भएपछि हरेक भारतीय विदेश सचिवले विशेष गरी छिमेकी मुलुकमा परिचयात्मक भ्रमण गर्ने प्रचलन छ ।

नयाँ भारतीय विदेश सचिवले सन् २०२० को जनवरी महिनामा जिम्मेवारी सम्हाले । तर, सीमा विवाद र कोभिड–१९ का कारण तत्काल भ्रमण हुन सकेन ।

पछिल्लो समयमा दुई देशका वीचमा सम्बन्ध सुधारको पहल भएपछि भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमण ३/४ हप्ता अगाडि नै तय भएको हो । तर, नेकपाभित्रको विवाद र अन्य कारणले भ्रमण सार्नु पर्ने हुन सक्छ भन्ने उद्देश्यले भ्रमण घोषणामा ढिलाइ गरिएको थियो । तर, भारतीय विदेश सचिवको भ्रमणका बारेमा एक/डेढ महिनादेखि नै तयारी भइरहेको थियो ।

अर्काेतर्फ, चीनसँगको द्वन्द्व बढ्दै गएपछि साउथ ब्लकलाई छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्न दबाव परेको थियो ।

चिनियाँ रक्षामन्त्रीको भ्रमण

एक महिनाको अवधीमा भारतका तर्फबाट तीन उच्च अधिकारीको भ्रमणलाई चीनले निश्चय नै नजिकबाट हेरेको हुनुपर्छ । त्यही कारणले चिनियाँ पक्षले पनि छोटो समयमा भ्रमण तय गरेको हुनुपर्छ । तर, चिनियाँ रक्षामन्त्रीको भ्रमण पनि केही महिनायता रोकिएको थियो ।

विशेष गरी सन् २०१९ मा नेपालका तर्फबाट तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाले चीनको भ्रमण गरेका थिए । थापाले सन् २०१९ को जूनमा चीनका रक्षामन्त्रीसँग भेटघाट गरेका थिए भने सन् २०१९ को अक्टोबर महिनामा उपप्रधानमन्त्री पोखरेलले चीनको भ्रमण गरेका थिए ।

भ्रमणका समयमा पोखरेलले चीनका समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो । विशेषतः सन् २००८ नेपालमा गणतन्त्रको स्थापना भएपछि चीनका रक्षामन्त्री र सेनाप्रमुखले नेपालको निरन्तर भ्रमण गरिरहेका छन् ।

नेपालका तर्फबाट दुईपटक उच्च तहमा भ्रमण भएकाले यसपटक भ्रमणको पालो चीनको नै थियो । अर्काेतर्फ अबको चीनका तर्फबाट उच्चस्तरीय भ्रमण दक्षिण एसियाली मुलुकमा नै हुन्छ भन्ने छनक केही समय अगाडि नै आएको थियो ।

भारत र चीनका उच्च अधिकारीका केही महिनायताका भ्रमणलाई हेर्ने हो भने उनीहरु विभिन्न छिमेकी देश र क्षेत्रको भ्रमणका गएका छन् र अबको उनीहरुको फोकस भनेको दक्षिण एसियाली मुलुक हुन् । यी भ्रमणसँग अब रोकिएका अन्य भ्रमण र दुईपक्षीय संयन्त्रका बैठकहरुसमेत शुरु हुनेछन् । यति मात्र होइन, छिमेकी मुलुकबाट भ्रमणको प्रतिस्पर्धा अझ बढ्ने पक्का छ । भारत र चीनबीचको प्रतिस्पर्धा र द्वन्द्वबाट जोगिएर दुवै मुलुकसँग आर्थिक सहकार्यको हात बढाउनु नेपालको हितमा हुनेछ ।

एक पटक पढ्नुहोस