नेपालमा संक्रमण दर घटे पनि सरकारसँग पुष्टि गर्ने कुनै आधार छैन

कोरोनाको खोप व्यवहारिक रुपमा ल्याउन गाह्रो, तर आवश्यक तयारी गर्दैछौँ : डा. समीरकुमार अधिकारी

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गर्ने सार्वजनिक तथ्याङ्कमा कोरोना संक्रमणको दर घट्दो क्रममा छ । पिसिआर परीक्षण दर घट्दा संक्रमण दर घटेको हो वा साँच्किै नेपालमा पछिल्लो समय संक्रमण दर घटेकै हो ? विश्व बजारमा कोरोनाविरुद्ध निर्माण भइरहेका खोपहरुले सफलता हात पारिरहँदा नेपालले खोप भित्राउनको लागि के के तयारी गरिरहेको छ ? लगाएतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीसँग माया श्रेष्ठले गरेको कुराकानी ।

नेपालमा कोरोना संक्रमण दर घटेकै हो ?

पछिल्लो समय परीक्षणको संख्या र परीक्षण गरेका मध्ये संक्रमितको दर प्रतिशत कम छ । किन कम भयो भन्ने ठ्याक्कै कारण भन्न सकिने अवस्था छैन । अनुमानित कारणहरु हुन सक्छन् । एक ताका जुनकुनै व्यक्तिलाई पनि एक पटक परीक्षण गर्न पाए हुुन्थ्यो, यो त औषधि नै रहेछ कि भन्ने जस्तो लाग्थ्यो । त्यसले गर्दा परीक्षण गर्नेहरुको संख्या बढेको थियो ।

एउटै व्यक्तिले धेरै पटक परीक्षण गराएका उदाहरणहरु प्रशस्त छन् । त्यसैले परीक्षणको आवश्यकता भएकालाई मात्रै परीक्षण गर्ने नीति पनि सरकारले ल्यायो । पछिल्लो समय पैसा तिरेर वा निःशुल्क परीक्षण अनावश्यक रुपमा नगरौं भन्ने धारणा विकास भएको हो कि ? परीक्षण गरेकाहरुको संक्रमण प्रतिशत एकदमै धेरै बढ्दै गएको भए ठूलो चिन्ताको विषय हुन्थ्यो तर त्यस्तो छैन । मानौं पहिला १ सय जनालाई परीक्षण गर्दा २५/३० जनालाई संक्रमण हुन्थ्यो भने अहिले १ सय जनामै परीक्षण गर्दा १०/१५ जनामा संक्रमण भएको अवस्था पनि छ । यसलाई नराम्रो भन्न पनि मिल्दैन । यो सकारात्मक सन्देश हो ।

सरकारले जोखिम समूह रहेकाहरुलाई परीक्षण गरिरहेको छ । अहिले लक्षण देखिएर परीक्षण गर्ने धेरै छन् । यस अवस्थामा संक्रमित १ सय जनालाई परीक्षण गर्दा ५०/५५ प्रतिशतलाई देखिनुपर्ने हो, त्यस्तो छैन । के कारणले संक्रमण घट्यो ? त्यसबारेमा स्वास्थ्य मन्त्रालयले गहन रुपमा अध्ययन विश्लेषणहरु गरिरहेको छ । यो भनिरहँदा अर्काे पाटो भनेको लक्षणसहितका व्यक्तिहरुले परीक्षण गर्ने दर जुन अनुपातमा हुनुपर्ने हो त्यो नभएको हो कि भन्ने गम्भीर चिन्ताको विषय बनेको छ ।

स्वाट्टै परीक्षण र संक्रमण दर घट्दा मन्त्रालयले यो यो कारणले घट्यो भनेर आधिकारिक धारणा बनाउनुपर्ने होइन र ? इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सिरो प्रिभिलेन्स सर्वेक्षण मन्त्रालयलाई बुझाइसकेको छ । किन मन्त्रालयले सार्वजनिक नगरेको हो ?

स्वास्थ्य मन्त्रालयले संक्रमण किन घट्यो भनेर धेरै तरिकाबाट अध्ययन गरिरहेको छ । हाम्रो उद्देश्य भनेको परीक्षण मात्रै होइन, संक्रमणको चक्र रोक्नु पनि हो । इपिडिमियोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर सिरो प्रिभिलेन्स गरेको छ । सिरो प्रिभिलेन्स मन्त्रालयलाई बुझाएको छ । सातै प्रदेशबाट जम्मा ३ हजार १ सय ५० नमुना लिएर सिरो प्रिभिलेन्स भएको छ । स्वास्थ्य मन्त्रालयले सिरो प्रिभिलेन्सबाट आएको नतिजालाई अध्ययन गरिरहेको छ । संक्रमण दर किन घट्यो भन्ने कुरा विभिन्न कोणबाट अध्ययन भइरहेको छ । सम्भवतः अध्ययन पश्चात मात्र यसमा बारेमा बोल्न सकिन्छ ।

सरकारको उद्देश्य भनेको परीक्षण मात्रै नभए संक्रमणको चक्र रोक्ने हो भनिरहँदा त्यसका लागि नयाँ थप कार्य के भइरहेका छन् ?

अहिलेको उद्देश्य भनेको परीक्षण गर्ने मात्रै होइन । संक्रमण चक्र रोक्नका लागि पहिलो आवश्यक कार्य भनेको संक्रमितको चाँडो पहिचान गर्ने हो । त्यससँगै कोही व्यक्तिलाई संक्रमणको आशंका लागेमा क्वारेन्टिनमा अनिर्वाय रुपमा बस्ने वा बस्न लगाउने हो । स्वस्थ व्यक्ति भएपनि घर बाहिर आवश्यक परेको खण्ड मात्रै निस्कनु पर्छ । बाहिर निस्कनै पर्नेहरुले जनस्वास्थ्यका मापदण्ड अनिर्वाय रुपमा पालना गरेर निस्कनुको विकल्प छैन । कोही व्यक्तिमा संक्रमणको पुष्टि भएमा होमआइसोलेशनमा बस्ने, सम्पर्कमा आएका व्यक्तिलाई पनि जानकारी दिएर जाँच गर्न पठाउने, अलग्गै बस्न लगाउने कुराहरुलाई पनि सँगसँगै लगेमा संक्रमणको चेन ब्रेक गर्न सकिन्छ । त्यसैले संक्रमणको चक्र रोक्न यी सबै प्रयासलाई सँगसगै लैजानुपर्छ ।

पछिल्लो समय जनचेतनाको स्तरमा वृद्धि हुँदा पनि संक्रमण दर घट्नमा सहयोग पुगेको छ । तराई क्षेत्रमा भन्दा शहरी क्षेत्रमा मास्क प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । विगतको तुलनामा शहरी क्षेत्रमा कार्य क्षेत्रमा रहँदा, हिँड्दा सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नेहरु पनि बढेका छन् । त्यसले पनि संक्रमणदरलाई केही हदसम्म कम गर्न मद्दत गरेको हुन सक्छ ।

संक्रमण हुनेको दर परीक्षण गरेको अनुपातमा केही कम हुँदै गएको हो । तर, यसको आधारमा निष्कर्षमा पुगेर भन्न सकिँदैन । हामी पूर्ण रुपमा जोखिममा छौं ।

काममा लागि घरबाहिर निस्कनेहरु १० जनामध्ये कम्तिमा ४/५ जना संक्रमित भएर निको भइसकेको अवस्था पनि छ । यसो भनिरहँदा हामी सुरक्षित अवस्थामा छौँ भन्न मिल्दैन । किनभने अस्पतालका संघन उपचार कक्षमा उपचाररत व्यक्तिको संख्या, लक्षणसहित संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्यालाई केलाएर हेर्दा नाटकीय परिर्वतन आएको छैन । घरमा बस्ने रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु पनि संक्रमित भइरहेको अवस्था छ । त्यसैले अझै पनि हामी जोखिममा छौं ।

विगतमा जस्तो सार्वजनिक स्थलहरु अहिले खुल्ला छैनन् भने सार्वजनिक यातयातमा पनि जोरविजोर प्रणाली कायम छ । विद्यालयहरु पनि पूर्ण रुपमा खुलेका छैनन् । सार्वजनिक स्थान, प्रतिष्ठान र सेवाहरु एकै पटक सबै खुलाउँदा तितो अनुभव बटुल्ने देशहरु धेरै छन् । त्यसैले त्यो बाटोबाट गइयो भने नेपालमा पनि त्यस्तो अवस्था नआउँला भन्न सकिँदैन । स्वास्थ्य मन्त्रालयले संक्रमण दर कम भयो भन्दैमा जोखिम कम भएको छैन् भनेर बारम्बार भन्दै आएको छ ।

संक्रमण हुनेको दर परीक्षण गरेको अनुपातमा केही कम हुँदै गएको हो । तर, यसको आधारमा निष्कर्षमा पुगेर भन्न सकिँदैन । हामी पूर्ण रुपमा जोखिममा छौं ।

कोरोना महामारीका अन्त्य कहिले हुन्छ भन्ने बारे अन्योल रहेको अवस्थामा जोखिम बढ्छ भन्दै शैक्षिक संस्था, सार्वजनिक यातायात, उद्योग व्यवासायलाई अहिलेकै अवस्था राखेर महामारीलाई पार गर्न सकिन्छ ?

सार्वजनिक यातायात, सार्वजनिक स्थाल, शैक्षिक संस्था धमाधम खुल्दा विदेशमा महामारी पुनः फैलिएको उदाहरण हामै सामु धेरै छन् । संक्रमितको संख्या बढेर फेरि लकडाउन गर्नुपर्ने अवस्था सृजना समेत भएको छ । हामीले पनि धमाधम सबै कुरा संचालन गर्न थालेको खण्डमा हाम्रा अस्पतालहरुले धान्न नसक्ने अवस्था सृजना नहोला भन्न पनि सकिँदैन । त्यसैले हामी चिन्ताका बीचमा छौं । तर, केही आशाका किरणहरु फैलन थालेको छ । चिकित्सा विज्ञानले कोरोनाविरुद्धको खोप विकास गरेको छ । तर, हामी सामान्य जनजीवनमा फर्किसकेको अवस्था छैन ।

कोरानाको उपचारका नाममा शुल्क उठाउने अस्पताललाई स्थानीय, प्रादेशिक तह, स्वास्थ्य मन्त्रालयले निगरानी गरिरहेको छ । कोरोना उपचारको वहानामा शुल्क असुलेको पाइएमा प्रमाणका आधारमा मन्त्रालयमा उजुरी गर्नुहोला । आवश्यक कार्वाही मन्त्रालयले अगाडि बढाउँछ ।

सामान्य रुघाखोकी वा मौसमी फ्लू ठानेर वेवास्ता गरेर बस्नेहरु स्वास्थ्यमा गम्भिर समस्या आएर अस्पताल पुग्दा प्रायलाई कोरोना पुष्टि भएको पाइन्छ । सरकारले अस्पताल जानैपर्ने भए मात्रै जाउ भनिरहँदा गलत सन्देश प्रवाह भएको त छैन ?

कोरोनाका लक्षण देखिएको छ भने परीक्षण तत्काल गर्नुपर्छ । पोजेटिभ रिपोर्ट आएपछि स्वास्थ्यमा बढि समस्या देखिन थाल्यो भने स्वास्थ्य संस्था पुग्नै पर्छ । धेरै मानिसमा कोरोनाको औषधि उपचार छैन भनेर पनि अस्पताल पनि किन जाने भनेर हेल्चेक्-याई गर्न सक्छन् । अहिले जाडो मौसम भएकाले कोरोनासँग मिल्दाजुल्दा लक्षणहरु देखिएको अवस्थामा चिसोको कारण समस्या भएको हो कि भनेर परीक्षण नगरिकन बस्नु हुँदैन । होमआइसोलेशनमा बस्दा स्वास्थ्यमा समस्या आएमा निःशुल्क रुपमा सरकारी अस्पतालमा गएर उपचार गर्न सकिन्छ । कोरोनाको कारण स्वास्थ्यमा समस्या बढ्न थालेमा अस्पताल नपुग्दा अकालमा ज्यान समेत जान सक्छ । अस्पतालमा कोरोना उपचार नभए पनि लक्षणको आधारमा औषधि उपचार गर्न सकिन्छ । तर शरीरमा कुन लक्षणले बढी सताएको छ भन्ने कुरा पत्ता लगाएर सोही अनुसार उपचार गर्न सकिने भएकाले अस्पताल जानुपर्छ ।

कोरानाको उपचारका नाममा शुल्क उठाउने अस्पताललाई स्थानीय, प्रादेशिक तह, स्वास्थ्य मन्त्रालयले निगरानी गरिरहेको छ । कोरोना उपचारको वहानामा शुल्क असुलेको पाइएमा प्रमाणका आधारमा मन्त्रालयमा उजुरी गर्नुहोला । आवश्यक कार्वाही मन्त्रालयले अगाडि बढाउँछ ।

कोरोनाविरुद्धको खोप भित्र्याउनका लागि के के तयारी भइरहेको छ ?

विश्वको लागि कोभिड नयाँ थियो । केही महिना अगाडिसम्म कोरोना संक्रमण भएमा यो यो लक्षण देखिन्छ भन्ने कुरा थाहा थिएन । यसबारेमा जानकारी पाउनै धेरै समय लाग्यो । अझै पनि यस रोगको बारेमा पूर्णरुपमा ठोस धारणाहरु विकास भएका छैन । कोरोनाले कुनकुन अंगलाई नोक्सान पु-याउँछ भन्ने कुरा थाहा पाउन पनि समय लाग्यो । अर्कोतिर यो महामारी फैलिएको १ वर्षको समयावधिभित्रै खोप बनिसकेको अवस्था पनि छ । मानव इतिहासमा यति चाँडै कोरोनाविरुद्धको खोपमा विकास भएको पहिलो होला । अहिलेसम्म कोरानाविरुद्धको उपचारमा बहुप्रतिक्षित उपाय भनेको खोप पनि हो । विश्वमा कोरोनाविरुद्धको खोप धेरै तरिकाबाट विकास भइरहेका छन् । विश्वमा अहिले कोरोनाविरुद्ध विकास भएका खोप कम तापक्रममा राख्ने खोप सफल भएका छन् । अहिले विकास भएका खोपहरु व्यवहारिक रुपमा नेपालमा ल्याउन गाह्रो हुन्छ । तर कम तापक्रममा राख्नुपर्ने खोप राख्नका लागि आवश्यक तयारी पनि सरकार गरिरहेको छ ।

नेपालमा करिब ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप चाहिने विज्ञहरुको टोलीले अनुमान गर्नुभएको छ । नेपालको जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने सुनिश्चतता भएको छ । त्यस बाहेक ५२ प्रतिशत खोप नेपाल आफैँले खरिद गर्नुपर्छ ।

सरकारले खरिद गर्ने खोप नेपालले भण्डारण गर्न सक्ने क्षमताको आधारमा विकास हुने क्रममा रहेका खोपहरु नजर राखिरहेको छ । कोभ्याक्सबाट आउने खोपबाहेक नेपाल आफैले खरिद गर्ने खोप कसरी ल्याउने, खोपका लागि कोल्ड चेन कहाँ कहाँ बनाउने, खोप खरिद गर्न निजीलाई दिने कि नदिने लगायतका बारेमा विज्ञहरुको टोली छलफल तथा अध्ययनमा जुटिरहेको छ । खोप लगाइदिने स्वास्थ्यकर्मीलाई कसरी सुसूचित गराउने, बजेट कसरी व्यवस्थापन गर्ने लगायतका विषयमा योजनाबद्ध तरिकाले छलफल तथा तयारी भइरहेको छ । कोभिड खोपका लागि तयारी गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा सचिवालय बनाइ विभिन्न ७ समिति समेत गठन गरेको छ ।

नेपालमा कति प्रतिशतलाई खोपको आवश्यकता पर्छ ? खोप खरिदका लागि अनुमानित बजेट कति चाहिन्छ । नेपालमा कहिलेसम्ममा खोप आउँछ होला ?

नेपालमा करिब ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप चाहिने विज्ञहरुको टोलीले अनुमान गर्नुभएको छ । नेपालको जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने सुनिश्चतता भएको छ । त्यस बाहेक ५२ प्रतिशत खोप नेपाल आफैँले खरिद गर्नुपर्छ । यसै विषयमा सरकारले विभिन्न ८ देशमा कुटनीतिक नोटहरु पठाएको छ । यस्तै खोप उत्पादन गर्ने कम्पनीसँगबाट पनि नेपालले सिधै खरिद गर्ने गरी आवश्यक प्रक्रियाहरु अगाडि बढाउने काम भइरहेको छ । त्यहाँ अध्ययनका क्रममा रहेका खोपहरु सफल भएको खण्डमा सम्भव भए नेपालको भण्डारण गर्ने क्षमताको आधारमा खोप खरिद गर्न सकेमा राम्रो हुने खोप विज्ञहरुले सल्लाह दिइरहनुभएको छ । नेपाल सरकारले भनेको ७२ प्रतिशतलाई खोप दिनका लागि ४८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

एक पटक पढ्नुहोस