After header

हिमाली कन्दरामा ‘किरा’ खोज्नेहरूका व्यथा : ‘हामीलाई कहिले पो जोखिम छैन र ?’

साइपाल, बझाङ — वैशाख अन्तिम साता । साइपाल हिमाल बेसक्याम्पको मौसम धुम्म थियो । एकैछिनमा जोडले हावा चल्ने र हिउँ पर्ने । हावासँगैको हिमाली स्याँठले मुटु काम्ने गरी हिर्काउँछ । साइपाल आडैको औंलागाडमा लहरै टाँगिएका पालमा मानिसहरू फाट्टफुट्ट बाहिर निस्कन्थे । जाडो खप्न नसकेर एकैछिनमा फुत्त पालभित्रै छिरिहाल्थे ।

छेवैको चौरमा तीन केटाकेटी बेपर्वाह खेलिरहेका थिए । कठ्यांग्रिने जाडोले उनीहरूका गालामा राताराता डाम बसेको परैबाट देखिन्थ्यो । एकैछिनमा फेरि वेगको हावासँगै हिउँ पर्न थाल्थ्यो । सानी बालिका अत्तालिएर रुन थालिन् । केहीबेरमा दुवै हातमा पानीको बाल्टी बोकेकी एक महिला आइपुगिन् । बच्चाहरूलाई गाली गर्दै पालभित्र लगिन् । अँगेनाछेउ राखेर सानी छोरीको गाला र हात आगोले सेकिदिइन् । ‘एकैछिन छोड्यो कि बाहिर निस्किहाल्छे । कति बेला चिसोले कठ्यांग्रिएर मरेको फेला पर्छे भनेर चिन्ता लाग्छ,’ साइपाल गाउँपालिका–३ कायाकी २५ वर्षीया काजल गुरुङ भन्दै थिइन् ।

माइनस डिग्री चिसोको पर्वाह नगरी खेलिरहेकामध्ये दुई जना उनका छोराछोरी रहेछन् । पति चक्र, तीन वर्षको छोरो कालु र १४ महिनाकी छोरी आयुसा किरा (यार्चा) टिप्न घरमा ताला लगाएर औंलागाड आएका हुन् । उनीहरूको घरबाट औंलागाड पुग्न तीन दिन पैदल हिँड्नुपर्छ । बिहान ३ बजे उठ्नु, खाना पकाउनु, झिसमिसेमै खाएर तीन वर्षको छोरालाई नजिकैको अर्को पालमा (जहाँ उनकै उमेरका दुई अरू बच्चा छन्) छोडेर यार्चा खोज्न निस्किनु उनीहरूको दैनिकी हो ।
बझाङको साइपालका पाटनमा सन्तानसँगै लिएर गएका अभिभावक । तस्बिर : वसन्तप्रताप/कान्तिपुर

एक पटक पढ्नुहोस