After header

कथा – बिदाइ

  • माधव सयपत्री

बस आइपुग्यो । कविताले हात दिई । बस घ्याच्च रोकियो । सहचालकले ढोका खोल्दियो । सामान बसमा राखिसकेपछि लालप्रसादले मन बाँधेर सोधे, ‘घर कहिले आउँछौ बाबु !’

कविताले छोराको कान नजिक मुख लगेर भनी, ‘दसैँमा भन बाबु ।’

नातिले हात हल्लाउँदै भन्यो, ‘हदुलबा ! हामी दचैँमा आउँचौँ ! बाईबाई !’

नातिले बिदाइका हात हल्लाउँदा लालप्रसादको मन लामो खँडेरीमा धानखेत फुटेझैं चिराचिरा भएर फाट्यो । थामिन सकेनन् । भक्कानिएर सडकछेउमै थुचुक्क बसे । वरिपरि सबै धमिलो मात्रै देखे । आँसु रोक्न सकेनन् । छाती पट्ट फुटेर मुटुनै बाहिर आउलाजस्तो भयो । उनले ‘राम्ररी जाऊ है बाबु !’ पनि भन्न सकेनन् ।

मुन्टो घुमाएर बसतिर हेरे । नाति बसमा उक्लँदै थियो । बुहारी नातिलाई बसमा चढ्न बल दिँदै थिई । नाति फुत्तै बसको भुईंमा पुग्यो । छोराको हात समातेर बुहारीले डोर्याई । त्यसपछि नाति र बुहारी ओझेल परे । एकचोटि बसले लामो सास फेर्यो । पाङग्रा चल्न थाले । बसले गति लियो । लालप्रसाद नाति चढेको बस हेरिरहे । बस टाढा टाढा हुँदै दृश्यबाट हरायो ।

अगि उकालोमा नाति बोकेर हिँड्दा लालप्रसादलाई नातिलाई बिदाइ गर्न हिँडेको जस्तो लागेकै थिएन । नातिहजुरबा हिजोअस्तिझैं गफ गर्दै स्कुल हिँडेको जस्तो लागेको थियो । लालप्रसाद यतिवेला झल्याँस्स भए । नाति बिदा भएको वास्तविकतामा फर्के । उनलाई नातिको म्वाईं खान पुगेकै थिएन । मुसार्न पुगेकै थिएन । बस चढ्नुअघि मिठो गरी नातिको म्वाईं खान चाहन्थे । बुहारीलाई अराईपराई गर्न चाहन्थे । भन्ने कुरा मनमै रह्यो । बोली नै फुटेन लालप्रसादको । ज्वारीकोटको खल्तीबाट रुमाल झिकेर पसिना पुछे ।

लालप्रसाद अझैं उठेनन् । यताउता हेरे । मन ठाउँमा आएकै थिएन । कसैले देख्ने पो हो कि ! ‘बुढो मान्छे के रोएको होला !’ भने भने । उनी आफैसित तर्सिए । यतिवेलासम्म उनको कमिज पसिनाले लथपथ भएर भिजिसकेको थियो ।

बिहानको नौ जति बजेको हुँदो हो । मानिसहरूको सडकमा चहलपहल बढ्दै थियो । मेलापात जानेवेला भएको थियो । लालप्रसादले यताउता हेरे । बाटो लाग्ने सुर कस्दै थिए । भद्रे कान्छो त्यतै आउँदै गरेको देखे । बस्न मन थिएन तर  आफ्नो हितैषी देखेपछि उनलाई हिँडिहाल्न मन लागेन ।  लालप्रसादकोमा गाह्रोसाँघुरो पर्दा भद्रे नै पहिला उपस्थित हुन्थ्यो । भद्रेलाई रिनधन चाहिँदा लालप्रसाद घरमै पुर्याउन जान्थे । घर आधाघण्टा टाढा थियो तर उनीहरूको मन नजिक थियो । एउटै परिवार जस्तो ।

‘ब्यानै के कामले यता आउनु भाथ्यो के रे दाजु !’ परैबाट भद्रेले सोध्यो ।

लालप्रसाद एकछिन बोलेनन् । बोल्न मन लागेको थिएन । मन नलाग्दै बोले, ‘नातिलाई बस चढाउन आको थेँ । तिम्लाई देखेर उभ्भेको ।’

भद्रेले सोध्यो, ‘नातिलाई कता पठाको दाजु ?’

लालप्रसादले वेदनासिक्त स्वरमा भने, ‘नाति पढ्न सहर गो । बुहारी र नातिलाई गाडी चढाउन आको ।’

भद्रेले आश्चर्य प्रकट गर्यो, ‘लौ तपैँले नि नाति पठाउनु भो ! दुई जना मात्रै अब कसरी बस्नुहुन्छ हौ दाइ !’

लालप्रसादले थप वेदना पोखे, ‘जाओस् भन्ने त काँ थ्यो र भाइ । बुहारी मान्दै मानिन । नाति घरै सुन्ने बनाएर गो ।’

भद्रेले भूमिका बाँध्यो, ‘पिर नगर्नुस् दाइ । हिजो हस्तेकी ब्वारीले छोरी लिएर गै । अस्ति इमानेको नाति गो । सबैका गका छन् । तपैँको नाति मात्रै गको हो र ! नातिनी दुई वर्षकी भकी छैन, मेरा नि ब्वारीले खुट्टा उचाली सकी । अझ छोराले यतै बस् भन्या छ र पो त । नत्र कुदिसक्थी । निउँ खोजी भने म त गैहाल् भन्छु ।’

लालप्रसादले आश्चर्य मान्दै सोधे, ‘लौ ती नि गैसके ? अब त गाउँका सरकारी स्कुलमा कोही पनि नपढ्ने भए कान्छा ! यस्तै हो भने गाउँ रित्तिन्छ क्यारे ।’

‘लौ दाइ, म त कोदो रोप्ने मान्छे खोज्न हिँड्या । गाउँका ब्वारी जति सप्पै सहर पसिसके । कोही पाइन्छ कि ! अब खेती लाउन नि गाह्रो भो गाँठे । न लाठे घरमा छन् न रोपार ।’ भद्रेले आफ्नो मेलो बतायो । लालप्रसादका गम्भीर कुराको अन्तर्यमा पसेन ।

भद्रे आफ्नै सुरका कुरा गर्दै उकालो लाग्यो । लालप्रसाद भारी मन पारेर ओरालो लागे । यमुना लोग्नेकै बाटो हेरिरहेकी थिइन् । उनका पनि आँखा ओभाएका थिएनन् । लालप्रसादलाई देख्नासाथ उनको अनुहार झनै अँध्यारियो । उनले सोधिन्, ‘जाने वेलामा नाति रोएन ? के भन्यो उसले ?’

लालप्रसाद विरक्त देखिए । नातिलाई गाडी चढाएर घरसम्म आइपुग्दा पनि उनको मन ठिक ठाउँमा आएको थिएन । गाह्रै गरी उनले भने, ‘रोएन । ‘दसैँमा आउँछु’ भनेर गयो ।’ यो सुनेर यमुनाले आँसु खसालिन् ।

सधैँ आँगनको यो कुना र त्यो कुना दगुर्दै खेल्ने नातिलाई बिदा गरेर आएका थिए लालप्रसादले । उनका लागि घर, आँगन, कोठा, चोटा सबै दिउँसो पनि अँध्यारो भएको थियो ।  खासमा उनले आफ्नै मन बुझाउन सकेका थिएनन्  । तर पनि लालप्रसादले यमुनाको मन बुझाउन खोजे । उनले भने, ‘पिर नगर यमुना । यस्तै हो, बचेरा हुर्केपछि कहाँ गुँडमा बसिरहन्छन् र ! हाम्रो मात्रै सहर गएको हो र ! हस्ते र इमानेका बुहारीले पनि छोराछोरी लिएर गएछन् । सबैका जान्छन्, गका छन् । नाति पढ्न गो त के बिग्य्रो !’

यमुना एकोहोरिएर बारीतिर हेरिरहिन् । उनलाई अरू सोधखोज गर्न मनै लागेन । गाईगोरुले गोठै उचालुँलाझैं गर्दै थिए । लालप्रसादले भने, ‘म वस्तुभाउलाई घाँस हालेर आउँछु । भात पस्किँदै गर ।’

लालप्रसाद गोठतिर गए । यमुना भान्सामा पसिन् ।

+++

लालप्रसाद गाउँका सज्जन मान्छे गनिन्थे । कसैको कुभलो सोच्दैनथे । आपतविपतमा सबैलाई सहयोग गर्थे । सामान्य जजमानी गर्थे । पूजाआजा, तिथिश्राद्धको सामान्य आम्दानी नै लालप्रसादको मुख्य आम्दानी थियो । दुई छोरीको बिहेवारी भएर टाढा पुगेका थिए । छोराबुहारी घरमै थिए ।

लालप्रसादको छोरा विजयले विदेश जाने चाहना गर्यो । उसले देशमा कुनै सम्भावना देखेन । छोरा विदेश पठाउने चाहना लालप्रसादलाई रत्तिभर थिएन । उनले भने, ‘किन जानु विदेश गाउँमै गरिखाए हुँदैन ? कामको के खाँचो ? अन्त काम नमिले गाउँमै बसेर जजमानी गर्नु क्या !’

विजयले जजमानीलाई गतिलो पेसा मानेको थिएन । उसले भन्यो, ‘यो जमानामा पनि कोही जजमानी गरिबस्छ ?’

लालप्रसादले भने, ‘अ‍ैले गर्दिन भन्छस्, पछि चाल पाउलास् !’

विजयले परक्क मुन्टो बटार्यो । ऊ नगै नछाड्ने भो । गाउँमा हावा नै विदेशको चल्न थालेपछि रोक्ने तागत कसको ! विजयले पनि खट्टा उचाल्यो । विदेशको हावाले हानेपछि काखे छोराको माया पनि फिका भयो उसलाई ।

एकदिन बिहानै ऊ गाउँ छाडेर मलेसियाका लागि हिँड्यो । कविता उसलाई बिदा गर्न माथि सडकसम्म आई । उसले हिँड्नेवेलामा भन्यो, ‘राम्ररी बस्नू । बाआमा र छोराको ख्याल राख्नू ।’ कविताको मन भारी भयो । बोल्न सकिन । लोग्नेलाई बस चढाएर ऊ सुँक्कसुँक्क गर्दै घर फर्की ।

+++

छोरा चार वर्ष नटेक्दै कविता छोरालाई स्कुल भर्ना गर्ने समस्याले भुट्भुटिन थाली । विजयले फोनमा भन्यो, ‘कविता, अहिले बाबुलाई गाउँकै स्कुलमा भर्ना गर्दिनु । तिमीलाई एकलै बस्न गाह्रो हुन्छ । म आएपछि सोचौँला ।’

कविताको कन्पारो तात्यो । उसले तातेरै भनी, ‘दुनियाँका श्रीमती सहरमा एक्लै बसेर छोराछारी पढाइराछन् । म पनि बसिहाल्छु नि ! मलाई किन गाह्रो हुनु ! महिला एक्लै बस्न सक्दैनन् र ! कि बस्न हुँदैन !’

कविताले लामो व्याख्यान दिई । विजय सुनिबस्यो । कविताका तर्कले ऊ बिलखबन्धमा यो । उसले अरू केही भन्न सकेन ।

लालप्रसाद पनि दोधारमा परे । नाति पढाउने विषयले उनलाई तनाव भयो । बुहारी अनेक निउँ खोजेर बसी । उसले भनी, ‘केही नहुनेले सहरमा बोर्डिङ्ग पढाइराछन् । हाम्रो त सम्पत्ति छ । उसको बाबा विदेशमा पैसा कमाउनु हुन्छ । इज्जतको पनि ख्याल गर्नु नि बा !’

बुहारीको कुराले लालप्रसाद रन्थिनिए । उनले भने, ‘हाम्रो सम्पत्ति के सम्पत्ति कविता ! दश पानी धानको बिउ लाग्ने खेत छ । तीन रोपनी बारी छ । त्यै पनि खेतीपाती भनेको पाखुरामा बल छउन्जेल हो । नसकेपछि खेतबारी हुनु र नहुनुमा केही फरक छैन । जजमान भनेका गोडा लागुन्जेलका हुन् । तिमी हिँडेपछि खेतबारी बाँझै बसिहाल्छ कविता ।’

कविता कड्किई, ‘खेतबारी बँझिन्छ भनेर म छोरालाई बिगारुँ बा ! जे सुकै होस्, म त जान्छु जान्छु ।’

विजयले कवितालाई अनेक बाध्यता देखायो । ससाना केटाकेटीलाई झैं फकायो । एक वर्षका लागि कविता गाउँमा रोकिने भई । लालप्रसादले नातिलाई गाउँकै सरकारी स्कुलमा भर्ना गरिदिए ।

स्कुल जाने बाटो अप्ठेरो थियो, उकालो ओरालो । बाटोमा खोल्साखाल्सी थिए । लालप्रसाद अप्ठेरोमा नातिलाई बुई बोक्थे । सजिलोमा हतेरेर हिँड्थे । दश पाइला पनि नहिँडी नाति भन्थ्यो, ‘हदुलबा कत्तो खुत्ता दुको !’ नाति लालप्रसादलाई दलाइहाल्थो । उनको मन पग्लिन्थ्यिो । नातिलाई पिठिउँमा चढाइहाल्थे ।

लालप्रसाद नाति लिएर बिहान स्कुल जान्थे । बेलुका लिन जान्थे । साठी पुग्न लागेको ज्यान । बिहानबेलुका एक घण्टाको धपेडी । यस्तो कठिनाइमा पनि लालप्रसादलाई नाति बोकेर स्कुल लान ल्याउँदा उनलाई छुट्टै आनन्द आउँथ्यो । यो अभ्यस्तताले लालप्रसादको बुढ्यौलीतिर ओर्लेको जीवनमा लय थपेको थियो ।

लालप्रसादले नातिलाई टन्टलापुर घाममा बोके । मस्त झरीमा बोके । कर्तव्य सम्झेर बोके । दायित्व सम्झेर बोके । मुख्य कुरा त मायाले लछप्पै भिजेर बोके ।

बुहारी ठुस्कि नै रहेकी थिई । घरको काममा उसको मन जान छाडेको थियो । एकोरिएर बस्थी । घोरिएर बस्थी । टोलाएर बस्थी । कहिले खेततिरै हराउँथी । कहिले गाउँतिरै हराउँथी । उसलाई हराउने रोग लागेको थियो । घरव्यवहारमा लत्तो छाड्दा पनि लालप्रसादले बुहारीलाई बिझ्ने गरी केही भनेका थिएनन् ।

कवितालाई धेरैले उचाले । उल्क्याए । गाउँका छिन्द्रान्वेषीहरू लालप्रसादको परिवारका अनेक छिद्र खोज्न थाले । अरूका कुरा सुनेर कविता निकै बाउँठिन थालेकी थिई । एक दिन निर्मलासित घाँस काट्न गएकी थिई । निर्मलाले भनी, ‘तिमी त साह्रै सोझी रैछौ दिदी ।’

कविताले सोधी, ‘किन नि निर्मला बैनी ?’

निर्मलाले छड्के कुराले बेस्मारी सेकी, ‘लोग्ने विदेश गएका छन् । राम्रै पैसा कमाउँछन् । तिमीचैँ गाउँमा दुःख गरेर बसेकी छ्यौ । यो त सुहाएन है ! अचेल लोग्ने विदेश गएकाहरू स्वास्नी कहाँ गाउँमा सासूससुराको टोकसो सहेर बस्छन् ! सबै छोराछारी पढाउन सहर गैसके त ! त्यै हुनाले तिमी सोझी रैछौ भनेको ।’

कवितालाई घाँटीमा के के अड्के जस्तो भयो । उसलाई सासूससुराको कुरा काटिहाल्न गाह्रो भयो । कविताले भनी, ‘यो वर्ष मात्रै हो । नयाँ वर्ष लागेपछि बाबुलाई सहरकै स्कुलमा भर्ना गर्ने हो । बाबुको बाबाले त्यै कुरा गर्नु भाछ ।’

निर्मलाले थप उल्क्याएपछि कविताको मन झनै चौचौ भएको थियो । उसले धितधरानले घरको काम गर्न छाडी । सानो सानो कुरामा रिसाउन थाली । झर्केर बोल्न थाली ।

एकदिन लालप्रसादले बुहारीकै सामुन्ने छोरासित कुरा गर्ने विचार गरे । विजयसित उसको फुर्सतको समय मिलाएर बुहारीलाई कोठामा डाके । यमुना पनि कोठामा आइन् । अगाडि मोवाइल राखेर लालप्रसादले छोरासित प्रत्यक्ष कुरा गरे । उनले भने, ‘बुहारी नातिलाई लिएर सहर जाने भन्दै छिन् । तँ के भन्छस् बाबु ?’

विजय एकछिन मौन बस्यो । लालप्रसादले फेरि भने, ‘बुहारीको चित्त दुखाएर नातिलाई यतै पढाऊ भनेर हामी भन्दैनौँ । सहर गएपछि खर्च पनि बढ्ला । खर्च धान्न सकिन्छ भने बुहारीलाई जा भन्दे बाबु ।’

विजयलाई किलकिले लागे जस्तो भयो । उसले भन्यो, ‘सहरमा भाडा तिरेर, सबै कुरा किनेर खर्च पुर्याउँन सकिँदैन बा । एक दुई वर्ष गाउँमै पढाउँदा हुन्छ नि !’

विजयले अनुमति नदिएपछि कविता सारै रिसाई । उसले भनी, ‘पढाउन नसक्नेले किन छोराछोरी जन्माउनु त ? छोरालाई पनि तपाईं जस्तै कुल्ली बनाउने होला नि !’

कविताको यस्तो जवाफले विजयको मर्ममै घाउ लाग्यो । उसले भन्यो, ‘मन लागेको गर्नू ।’

यो संवादपछि घरमा बढ्तै मनमुटाव सुरु भयो । घरको नियमितता बिग्रन थाल्यो । ताल, सुर, लय सबै लिकबाट बाहिर गयो । लालप्रसादले घरको बिग्रेको ताल, सुर, लय मिलाउन सकेनन् ।

+++

उता कविता छोरालाई पढाएर बसी । लालप्रसादले दुःखजिलो खेती चलाए । विजय कमाएको पैसा बाकै खातामा पठाउँथ्यो । लालप्रसाद महिनाभरीलाई पुग्ने गरी खर्च पठाउँथे । एक दिन कविताले चेतावनी दिई, ‘पैसा जति बाउको खातामा पठाउने अनि मैले कसरी यहाँ छोरा पढाउन सक्छु !’

विजयले पुरानो कुरा स्मरण गरायो । भन्यो, ‘के गर्नु त कविता ! म नआउन्जेल गाउँकै स्कुल पठाऊ भनेकै हो । सहरमा त खर्च पुर्याउन गाह्रो हुन्छ ।’

कविताले प्रतिउत्तर दिई, ‘तपाईं पनि मैले विदेश नजानु भनेकै हो किन गएको त ! बाउको खातामा पठाउने पैसा मलाई पठाए जसरी पनि खर्च धानिहाल्छु नि !’

विजयले भन्यो, ‘कमाएको सबै खर्च गरेर छोराको भविष्य के होला कविता ? दुःखबिमार पर्दा के गर्नु ! बासँग भएको पैसा कहाँ जान्छ र !’

कविताले चेतावनीकै बोली बोली, ‘अब खुरुक्क मेरो खातामा पैसा पठाउनु । हैन भने म आफ्नो सुर गर्छु ।’

कविताको कडा चेतावनीपछि विजय धर्मसङ्कटमा पर्यो । बाको चित्त बुझाएर विजयले कविताकै खातामा पैसा पठाउन थाल्यो । खातामा भटाभट पैसा आउन थालेपछि कविता निकै खुसी भई । बिग्रन लागेको जोईपोइको सम्बन्ध गाढा भएर आयो । फुर्सत भएकोवेला विजय अनलाइन आएर कवितासँग कुरा गर्न थाल्यो ।

+++

लालप्रसाद नाति भेट्न दसैँ पर्खिबसे । फूलपातीको दिनसम्म आउँछु भन्दै थिई कविता । बाटो हेर्दाहेर्दै लालप्रसादको दसैँ गयो । अहँ, नाति र बुहारी आएनन् । नाति भेट्न नपाउँदा लालप्रसाद साह्रै न्यास्रिएका थिए । यमुना झनै पिल्सिएकी थिइन् ।

लालप्रसादको मन मान्दै मानेन । एकाबिहानै भद्रेकोमा पुगे । भद्रेले सोध्यो, ‘बिहानै के कामले होला दाजु ?’

लालप्रसादले भने, ‘भाउजु र म काठमाडौँ जाने भयौँ । पाँचै दिनलाई घर हेरिदिन्छौ कि भाइ !’

भद्रेले नाईंनास्ती गरेन । भन्यो, ‘भैहाल्छ नि दाइ । ढिलो चैँ नगर्नु ।’

दसैँ लगत्तै लालप्रसादका दुईजना नाति र बुहारी भेट्न काठमाडौँ जाने भए । भद्रेले घर हेर्दिने भएपछि लालप्रसाद ढुक्कै थिए । नाति भेट्न पाइने आशाले यमुना निकै खुसी भइन् । वस्तुभाउलाई पाँच दिन पुग्ने घाँसपात, खोलेफाँडोको जोहो गरिन् । कोसेलीपात तयार पारिन् ।

एकाबिहानै एकोटा झोला बोकेर दुवै जना सडकमा निस्के । परबाट बस आयो । लालप्रसादले हात दिए । बस रोकियो । दुवै जना बस चढे । उनीहरूलाई कतिखेर नाति भेटेर अँगालो हाल्नुजस्तो भएको थियो ।

लालप्रसाद नाति र बुहारीलाई ‘सरप्राइज’ दिन चाहन्थे । त्यसैले लालप्रसाद बुहारीलाई आउँछु नभनी काठमाडौँ हिँडेका थिए । विजयलाई पनि भनेका थिएनन् । बेलुका चार बजेतिर उनीहरू काठमाडौँ पुगे । भद्रेको छोरो बसपार्कमा लिन आएको रहेछ । लालप्रसादलाई बुहारीको डेरा देखाइदिएर ऊ हिँडिहाल्यो ।

कविताको कोठामा ताल्चा मारिएको रहेछ । लालप्रसादका दुई जना निकैबेर पर्खे । दिनभरिको बसको झ्याङ्गलझुङ्गलले यमुनाको ज्यान हल्लनटाट भएको थियो । उनी आफ्नै झोलामा अडेस लागेर भुईंमै अलासतलास थिइन् ।

लालप्रसादलाई नाति छातीमा टाँसेर बोक्न हतार भएको थियो । ‘दसैँमा किन नआको बाबु ?’ भनेर सोध्न मन लागेको थियो । यमुनालाई नातिको गालामा चुप्प म्वाईं खान हतार भएको थियो ।

घाम जण्डिस लागेको रोगीझैं पहेँलिएर ओरालो लाग्यो । वरिपरिका मानिसहरू कामबाट गुँड फर्किन लागे । लालप्रसाद यता र उता गरिबसे । साँझै पर्यो । अहँ, लालप्रसादका नाति र बुहारी गुँडमा आएनन् । बुहारीलाई फोन गरे । फोनले भन्यो, ‘माफ गर्नुहोला । तपाईंले प्रयास गर्नुभएको नम्बर अफ गरिएको छ ।’

लालप्रसादलाई के गरूँ कसो गरूँ भयो । उनी छटपटिन थाले । तल नौला मान्छे देखेर घरबेटी तल ओर्लियो । लालप्रसादले सोधे, ‘यो कोठामा बस्ने नानीहरू कता गएछन् ?’

घरबेटीले भन्यो, ‘एक हप्ताअघि कविताको लोग्ने विदेशबाट आएको थियो । चार दिनपछि ‘हामी कोठा सर्छौँ भनेर बाँकी भाडा बुझाए । सबै सामान ट्रकमा राखेर लगे । भित्र केही छैन । कोठामा हेर्नुहुन्छ त !’

लालप्रसादले घरबेटीका सबै कुरा सुन्न सकेनन् । उनले कुरा बुझिहाले । घरबेटीले कोठा खोल्दियो । कोठा खाली थियो । भित्तामा नातिको मझौला पोष्टर साइजको फोटो रहेछ । त्यसलाई जतनले झिके । फोटो पट्टयाए । ज्वारीको खल्तीमा हाले ।

लालप्रसादलाई नातिलाई डोर्याएर स्कुल लानेल्याउने गरेको अनुस्मरण भयो । अन्तर्दाहले छाती पोल्न थाल्यो । उनका आँखामा सूर्यग्रहण लाग्यो । सबैतिर धमिलो देखे । त्यहाँ बसिराख्न उचित ठानेनन् । निस्किए ।

सडकमा आइपुग्दा झलमल बत्ती बलेको थियो । तर, लालप्रसादको मनको बत्ती मधुरो हुँदै निभ्न लागेको थियो । दोहोरीलत्त गाडी चलिरहेका थिए । मानिसहरू हतार हतारमा गन्तव्यतिर कुद्दै थिए । तर गन्तव्यविहीन लालप्रसाद चेतनाशून्य जस्तै भएका थिए ।

लालप्रसाद यमुनालाई डोर्याउँदै अलिकति दाहिने लागेर चोकमा आइपुगे । चोक झनै व्यस्त थियो । उनी गाउँ जाने बस लाग्ने चोकमै आइपुगे । उनले कतै हेरेनन्, मात्र बसलाई हेरे । गाउँ जाने नाइट बस आइपुग्यो । श्रीमतीलाई हतेर्दै बस चढे ।

यमुनाले सोधिन्, ‘छोराले बुहारी र नातिलाई कता लगेर राखेछ ? अर्को कोठा सरेछन् हो ?’

लालप्रसादले व्यथा भित्रै लुकाएर भने, ‘छोरा आएर आजै परिवार लिएर गाउँ गएछ । हामी किन यता बस्ने अब ! आजै घर फर्कने ।’

यमुनाले कोसेलीको झोलातिर देखाउँदै भनिन्, ‘यसमा बिग्रिने कुरा पनि थ्यो ।’

लालप्रसादले भने, ‘बिग्रिँदैन । उज्यालो हुँदा त घर पुगिहाल्छौँ नि !’

यमुनाको अनुहार बत्ती बलेझैं उज्ज्यालो देखियो । लालप्रसादले अर्कोपट्टि फर्केर आँसु पुछ्तै सोचे, ‘नातिले दसैँमा आउँछु भनेको थियो । अब नाति कुन दसैँमा घर आउँछ होला !’

बसले एकचोटि घ्यार्र आवाज निकाल्यो । सडकमा बस गुड्न थाल्यो तर लालप्रसादको मन कताकता उड्न थाल्यो ।

  • sayapatrim@gmail.com

(कथाकार माधव सयपत्रीको सत्ताकवच, मखमलीका राजाहरु, बादशाहको अटोग्राफ कथासंग्रहहरु प्रकाशित छन् । कथा, बालसाहित्यमा कलम चलाउने उनको आधा दर्जन बढी बालसाहित्यका पुस्तक प्रकाशित छन् । सीमान्त विचलन उनको एकमात्र उपन्यास हो ।)

 

एक पटक पढ्नुहोस